Logo
१२ बैशाख २०८१, बुधबार
(July 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारी सञ्चयकोषलाई डुबाउन गुण्डा र दलालको मिलोमतो,लगानी डुब्ने खतरा !

Kathmandu Mallकाठमाडौं । राजधानीको व्यवसायीक केन्द्र न्यूरोडसँगैको कर्मचारी सञ्चयकोषले निर्माण गरेको व्यवसायीक भवन ‘काठमाडौं मल’ भर्सेस ‘सुनधारा भवन’को भविष्य दलाल र गुण्डाको मिलोमतोका कारण खतरामा परेको छ भने वर्षाैंदेखि लाखौंको लगानी गरेर व्यापार गर्दै आएका तीन सयभन्दा बढी व्यापारीको लगानी पनि डुब्ने अवस्था देखा परेको छ ।

कर्मचारी सञ्चयकोषले २०६२ चैत्र १२ गते खोलेको गोप्य शिलबन्दी बोलपत्रको दोस्रो नम्बरमा स्वीकृत भएका शिवलक्ष्मी कोजूलाई गोरखापत्रमा सूचना जारी गर्दै तीस दिनभित्र ‘सुनधारा भवन’को करार सम्झौताका लागि डाकेको छ । यसअघि २०७३ बैशाख ३१ गते गोरखापत्रमै सूचना जारी गर्दै एक नम्बरमा बोलपत्र स्वीकृत भएको सूर्यदिल गु्रप इन्भेष्टमेन्ट कम्पनी प्रालीलाई आवश्यक जमानतसहित करार सम्झौता गर्न तीस दिनको समय तोकेर सूचना जारी गरेको थियो ।

पहिलो नम्बरमा बोलपत्र स्वीकृत भएको पक्षले समयसिमा भित्र सम्झौता गर्न वास्ता नगरेपछि दोस्रो नम्बरमा बोलपत्र स्वीकृत भएको संस्थालाई सूचना मार्फत करार सम्झौताका लागि डाकिएको हो । यसअघि, २०६२ सालको अन्त्यतिर पन्ध्र वर्षका लागि मासिक साढे ६४ लाखको दरमा टेण्डर पार्दा समेत मासिक किस्ता र बैंक ग्यारेन्टी बुझाउन नसकेपछि प्रविर शम्शेर राणा उर्फ पम्पी राणाको करार सम्झौता रद्द गरी सञ्चय कोषले नयाँ बोलपत्र आह्वान गरेको हो । राणाले कोषलाई ६ करोड बुझाउनै बाँकी छ ।

११ वटा फर्मले टेण्डर बिड गरेको गोप्य शिलबन्दी बोलपत्र अनुसार गुण्डागर्दीमा कहलीएका राजु गोर्खाली समूहको सूर्यदिप फर्मले सबैभन्दा बढी मासिक ३ करोड १७ लाख बुझाउने उल्लेख गरेको थियो तर, तोकिएको समयमै नियोजित रुपमा आवश्यक शर्त पालना नगरेपछि उक्त बिड रद्द गरी दोस्रो समूह शिवलक्ष्मी कोजु फर्म (२ करोड ७१ लाख) लाई आवश्यक शर्त पूरा गर्न कर्मचारी सञ्चय कोषले सूचना प्रकाशित गरेको हो ।

sanchaya kosh suchanaसमाचार स्रोतका अनुसार पहिलो र दोस्रो दुबै फर्मले छाडेर गोर्खाली समुहकै इशारामा एक करोड ५१ लाख कबोल गरिएको तेस्रो फर्म सूर्य बिनायक हाउजिङबाट उक्त टेण्डरको सम्झौता गर्ने भित्री योजना बुनिएको जानकारीमा आएको छ । उक्त फर्म यसअघिका ठेकेदार पम्पी राणा समुहकै भएको बताइन्छ । उनी कोषको कालोसूचीमा पर्नुका साथै कोषले तोकेको नियम बमोजिम दर्ता नभएको तथा टेण्डर बिड गर्ने संस्थाको छाप र हस्ताक्षर समेत नभएकाले उक्त संस्थाको बिड रद्द हुनै पर्ने अवस्थामा पनि कोषका उच्च अधिकारी र गुण्डा–दलालको मिलोमतोमा उक्त टेण्डरलाई पनि स्वीकृत गराउने खेल भइरहेको छ ।

११ जनाले भरेको टेण्डरमा अन्यले निकै कम रकम उल्लेख गरेका छन् । सञ्चय कोषले भने न्यूनतम रकम मासिक ८४ लाख तोकेको थियो । मसिक डेढ करोड फरक पर्ने भएपछि योजनाबद्ध तरिकाले गुण्डा नाइके गोर्खाली समूहले दुई वटा फर्मको ५७ लाख बैंक ग्यारेन्टीको माया मारेरै भए पनि बिड गरेको दोस्रो कम्पनीको पनि अस्वीकृत गराएर तेस्रोलाई नै पार्ने भित्री प्रपञ्च भइरहेको छ । यसो हुँदा सञ्चय कोषलाई मासिक दुई करोड नोक्सान पुग्ने छ ।

नेपाल प्रहरीका एआईजी विज्ञानराज शर्मासँग विशेष एवम् अन्तरंग सम्वन्ध रहेका गुण्डा नाइके राजु गोर्खालीले सञ्चय कोषसँग सम्झौता गर्न तिन महिनाको भाडा नौ करोड ५१ लाख र एक वर्षको बैंक ग्यारेन्टी ३८ करोड गरेर झण्डै ५० करोडको जोहो गर्नु पर्ने भएपछि एकातिर उक्त सम्पत्तिको स्रोत खोजीने भय अर्काेतिर तेस्रो पक्षसँग मिलोमतो गर्न सकेको खण्डमा बार्षिक २५ करोड जोगिने भएपछि मिलोमतोको योजना बनाएर सञ्चय कोषलाई नोक्सानी बेहोर्न बाध्य पारिएको हो ।

मासिक ६४ लाख भाडा बुझाउन नसकेर प्रविरशमशेर जबरा टाट पल्टीएको अवस्थामा ३ करोड १७ लाख मासिक भाडा बुझाउन आँट गर्ने विवादास्पद गुण्डा नाइके गोर्खालीको नियतमाथि यसअघि नै धेरैले आशंका व्यक्त गर्दै आएका थिए । उनीहरुले त्यहाँ दशौं वर्षदेखि पसल थापेर बसेकाहरुलाई हटाएर मोटो रकम असुलेर अरुलाई नै पसल दिने र केही समयपछि मासिक भाडा बुझाउन नसकेको बताएर कोषसँग सम्झौता तोड्ने प्रपञ्च हुन सक्ने समेत अडकल धेरैको थियो ।

सञ्चय कोषले पूराना व्यापारीलाई नै राख्ने वा नयाँलाई नै पसल राख्न दिने भन्ने बारेमा निर्णय गर्ने अधिकार नयाँ व्यवस्थापनसँग रहेको जानकारी दिएको छ । यता, नयाँ टेण्डरसँग २०७७ सालसम्मको सम्झौतालाई आधार मान्दै ऋण लिएर लगानी गरेका झण्डै तीन सय व्यापारीको लगानी नै डुब्ने अवस्था देखापरेको छ । पम्पी राणासँग कोषले सम्झौता भंग गरेपछि गत वर्षदेखि नै त्यहाँका व्यापारीले व्यापार संघ मार्फत् सम्झौता बमोजिमको रकम तिर्दै आएका थिए । कयौं व्यापारीसँग यसअघि नै राणाले २०७७ सालसम्मकै भाडा असुल गरीसकेका छन् ।

प्रकाशित मिति: Jul 1, 2016

प्रतिक्रिया दिनुहोस्