Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरवारबाट बिजुलीबजार पत्र पुग्न लाग्यो एक हप्ता ! तर मोर्चाले वार्ता नगर्ने

काठमाडौं । सिंहदरवारबाट बिजुलीबजार स्थित तमलोपा कार्यलय पुग्न मुस्किलले ५ मिनेट लाग्छ तर त्यही सिंहदरवार स्थित प्रधानमन्त्री कार्यलयबाट एउटा पत्र पुग्न १ हप्ता लागेको छ । यसअघि सञ्चारमाध्य ममार्फत केही दिनअघि सार्वजनिक भएको प्रधानमन्त्री केपी शर्मा ओलीको पत्र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई बिहिबार मात्र बुझाइएको छ । 
मोर्चाका घटक दल तराई मधेश लोकतान्त्रिक पार्टीको विजुलीबजारस्थित कार्यालयमा मोर्चाको बैठक भइरहेका बेला प्रधानमन्त्री कार्यालयका एकजना अधिकारीले सीलबन्दी खाममा ल्याएर सो पत्र बुझाएका हुन् । यसअघि मोर्चाले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रको प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले मोर्चालाई पत्र पठाएर वार्ताका लागि आग्रह गरेको पत्र सार्वजनिक भएको थियो । 
सो पत्र मोर्चाका कुनै पनि घटक दलको कार्यालयसम्म नपुगेको मोर्चाका नेताहरुले बताउँदै आएका थिए । प्रधानमन्त्रीको पत्र प्राप्त हुनुअघि नै मिडियामार्फत सार्वजनिक भएको देशका कार्यकारी प्रमुखको भनाइ र आग्रहप्रति धारणा तथा दृष्टिकोण तय गर्न आज मोर्चाको बैठक बोलाइएको थियो ।
बैठकले प्रधानमन्त्रीको पत्रमा लेखिएका कुराहरु बुँदागत, वस्तुपरक र ठोस नभएको भन्दै वार्ता नगर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीले पूर्वाग्रहरहित ढङ्गले ठोस धारणासहित वार्ता गर्न खोजे विचार गर्न सकिने सहमति बैठकमा भएको छ । बैठकले सङ्घीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीचको सम्बन्धलाई पुनपरिर्भाषित समेत गरेको छ । 
बैठकपछि सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बैठकमा आन्दोलनको बारेमा समीक्षा, गठबन्धनको आन्दोलनमा मोर्चाका घटक दलहरुको समीक्षा, गठबन्धन र मोर्चाबीचको सम्बन्ध र भावी कार्यक्रमका बारेमा समीक्षा गरिएको बताए । उनले आजको बैठक निश्चित निष्कर्षमा पुग्न नसकेको जानकारी दिँदै मोर्चाले सरकारसँग तत्काल वार्ता नगर्ने स्पष्ट गरे ।

प्रकाशित मिति: Jun 2, 2016

प्रतिक्रिया दिनुहोस्