Logo
१२ बैशाख २०८१, बुधबार
(June 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मथुरामा टिकापुर जस्तै हिंसा, गोली लागेर एसपीसहित १४ को मृत्यु

काठमाडौं । मधेशी – थारु आन्दोलनको सुरुवातमा कैलालीको टिकापुरमा भउको हिंसा जस्तै फेरी अर्को हिंसाको घटना भएको छ । तर यसपटक नेपाल होइन छिमेकी मुलुक भारतमा भएको हो । भारतस्थित  उत्तर प्रदेशको मथुरामा अतिक्रमित सरकारी जमिन खाली गराउन परिचालित प्रहरीमाथि स्थानीयले आक्रमण गर्दा एक एसपीसहित १४ जनाको मृत्यु भएको हो ।
एबिपि न्यूजका अनुसार बिहीबार राति बस्ती हटाउन प्रहरीको टोली मथुराको जवाहरवाग पुगेको थियो । प्रहरी र स्थानीयबीच झडप भइरहेका बेला एक्कासी गोली चल्यो । गोली लागेर एसपी मुकुल द्विवेदी, सन्तोषकुमार यादवसहित १४ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मुख्यमन्त्री अखिलेश यादवले मृतक प्रहरीलाई सहिद घोषणा गर्दै २० लाख रुपैयाँ राहत दिने बताएका छन् । 
स्थानीय प्रशासनका अनुसार जवाहरबाग क्षेत्रको सरकारी जग्गा अतिक्रमण गरेको बसेको बस्तीमा ‘आजाद भारत विधिक बैचारिक सत्याग्रही’ नामको संगठनको प्रभाव छ । उच्च अदालतको आदेशअनुसार स्थानीय प्रशासन विगत दुई महिनादेखि जमिन खाली गराउने प्रयासमा थियो । सोहि तयारी अनुसार गएराति ११ बजे प्रहरी र सरकारी अधिकारीहरुको टोली जवाहरबाग पुगेको थियो ।
‘तर, प्रहरीले अकल्पनीय घटनाको सामना गर्नुपर्‍यो,’ उत्तरप्रदेशका एडीजी कानुन व्यवस्था दलजीत सिंह चौधरीले भनेका छन्, ‘अवैध कब्जा हटाउन गएका प्रहरीहरुमाथि सुरुगामा ढुंगामुढा भयो र केहि व्यक्तिहरुले गोली प्रहार गरे ।’ उनका अनुसार घटनाको छानबिन सुरु गरिएको छ । प्रहरीले अतिक्रमणमा परेको २ सय एकडा जग्गा खाली गराएको र सर्च अपरेशन गर्दा हतियारको भण्डारसमेत फेला परेको दाबी स्थानीय प्रशासनले गरेको छ ।
जमिन कब्जा गरेको सत्याग्रही संगठनले राष्ट्रपति र प्रधानमन्त्रीको चुनाव रद्द गर्न, एक रुपैयाँमा पेट्रोल ६० लिटर र डिजेल ४० लिटर बिक्री गर्न माग गर्दै आएको छ । सो संगठनले आफ्ना माग सम्बोधन गराउन दबाव दिने उद्देश्यले सन् २०१४ जनवरी ११ तारिखदेखि जवाहरबागमा धर्ना दिइरहेको थियो ।

प्रकाशित मिति: Jun 3, 2016

प्रतिक्रिया दिनुहोस्