Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीद्धारा सार्वजनिक: ​यस्तो छ, केडिया अपहरणको नालीबेली !


वीरगञ्ज । बारा प्रहरीले वीरगञ्जका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको आरोपमा आज नेपाल विद्यार्थी संघका वर्तमान केन्द्रीय सदस्यसहित ५ जनालाई सार्वजनिक गरेको छ । 
जिल्ला प्रहरी कार्यालय बारामा गरिएको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका पाँच जना हुन् ।  प्रहरीले नेविसंघका केन्द्रीय सदस्य महागढीमाई नगरपालिका–२ घर भएका ४२ वर्षीय वीरेन्द्र यादव, सोही स्थानका २८ वर्षीय जियालाल यादव, सोही नगरपालिका – १ बस्ने ४० वर्षीय पुष्कर कुमार चौधुर, कबहीजब्दी गाविस –३ का २३ वर्षीय चञ्चल पाण्डे र कबहीजब्दी– ९ कै ३६ वर्षीय जियालाल यादव रहेका छन । 
प्रहरीका अनुसार चन्चल पाण्डे अपहरण योजनाका मास्टरमाइन्ड हुन् भने उनले घटनाको एक महिना पहिलेदेखि योजना बनाई नेविसंघका केन्द्रीय सदस्य यादवलाई योजनामा सामेल गराएको डिआइजी पशुपति उपाध्यायले दावी गरे । 
पाण्डे र केन्द्रीय सदस्य यादवले भारतको मोतिहारी जेलमा रहेका कुख्यात भारतीय अपराधी बब्लु दुवेसँग भेटघाट गरी घटनाको योजना बनाएको डिआईजी उपाध्यायले जानकारी दिए । उनका अनुसार दुवेले भारतीय अपराधीलाई परिचालन गरी पक्राउ परेकाहरुको सहयोगमा अपहरण गरेका हुन्।
      
घटनाको एक दिन पहिला नेपाल र भारतका अपहरणकारीहरु पक्राउ परेका अर्का अभियुक्त जियालाल यादवको भारतमा रहेको मामाघरमा पुगी कसले के गर्ने जिम्मेवारी बाँडी भारतीय मोटरसाइकल र स्करपियो गाडी लिएर नेपाल प्रवेश गरेको बाराका प्रहरी नायब उपरीक्षक तथा केडिया अपहरण कान्ड छानबिन समिति संयोजक विनोद शर्माले बताए।
पक्राउ परेकाहरु माथि ज्यान मार्ने उद्योग, अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको डिएसपी शर्माले पत्रकार सम्मेलनमा बताए। 
घटनापछि नेपाल प्रहरी मातहत रहेको इलाका प्रहरी कार्यालय कबहीगोठका प्रहरी नायब निरीक्षक राजेन्द्र कुमार चौधरी, प्रहरी हवल्दार तेजप्रसाद ढकाल, प्रहरी जवानहरु बुनिल महतो, सुरेन्द्र साह र प्रमोद यादवलाई निलम्बन गरी कारबाही अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यसअघि, अपहरण कान्डमै सशस्त्र प्रहरीले सशक्त तवरले कारबाही नगरेकोले सशस्त्र हेड क्वार्टर काठमाडौंले बारामा कार्यरत दुई जना सशस्त्र प्रहरीका अधिकृतसहित चारजनालाई निलम्बन गरिसकेको छ। 
वीरगंजका उद्योगी सुरेश केडियाको बाराबाट जेठ १३ गते बिहीबार भएको अपहरण काण्डमा सशस्त्र प्रहरी असावधान रहेको आरोपमा सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट तेलकुवाँका सशस्त्र प्रहरी निरीक्षक हेमराज न्यौपाने, सशस्त्र प्रहरी सीमा सुरक्षा बेस क्याम्प बिओपी कबही गोठका सशस्त्र प्रहरी नायब निरीक्षक चन्द्रशमशेर कुँवरसहित अन्य दुई जना सशस्त्र प्रहरी जवान गरी ४ जनालाई निलम्बन गरिएको थियो। 
सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र खनालका अनुसार नेपाली भूमिमा ४५ मिनेटसम्म रहे पनि प्रहरीले अपराधी समात्न असफल भएको भन्दै निलम्बन गर्दै कारवाही गर्न हेडक्वार्टर तानिएको बताए। 
साथै, बाराका सशस्त्र प्रहरी उपरीक्षक मोहन केसीले घटना क्षेत्रका प्रहरीलाई कारवाही गर्न अटेर गरेपछि हेडक्वार्टरले उनीमाथि छानबिन गरी अनुसन्धान गरिरहेको सशस्त्र प्रहरीका एक उच्च अधिकारीले भने।
यसैबीच, भारतको प्रहरीले यस घटनासंग संलग्न रहेको आरोपमा प्रयोग गरिएको गाडी चालक रक्सौल निवासी रन्जन झा, रक्सौल निवासी बब्लु पासवानलगायत ४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको रक्सौल प्रहरीले जनाएको छ।
भारतीय प्रहरीले केडियालाई अपहरण भएको तीन दिनपछि विहारको मोतिहारीबाट रेस्क्यु गरी नेपाल प्रहरीलाई बुझाएको थियो। उद्योगी सुरेश नेपाल सद्भावना पार्टीका सांसद विमल केडियाका भाइ हुन् । 
पत्रकार राधेश्याम पटेलको सहयोगमा  

प्रकाशित मिति: Jun 8, 2016

प्रतिक्रिया दिनुहोस्