Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तपाँई त पर्नु भएन नी ? कार्यालय नै खोलेर हुदैछ, ‘बेवकुफ’ बनाउने व्यापार !

‘आफ्नी श्रीमतीसँग अर्कैलाई भेटेपछि…’, ‘दरबार हत्याकाण्डको रहस्य खुल्यो’, ‘चीनको एक घरमा बिरालोले कुकरको छाउरो जन्माएपछि मालिकलाई तनाव’ लगायतका समाचारहरू कहिलेकाहीँ फेसबुकमा देखिनै रहनुभएको होला । कति पटक त तपाईं पनि झुक्किएर त्यस्ता लिङ्क क्लिक गर्नुभएको होला । सनसनीपूर्ण हेडलाइन्स् देखेर क्लिक गरेको लिङ्कमा समाचार नभेटेप

फेसबुक चलाउँदै गर्दा आफ्नो ‘न्युज फिड’मा आउने केही रोचक र निकै नै अपत्यारिलो, आश्चर्य लाग्ने अथवा समाज अनि राजनीतिक घटनाबारे अचम्मलाग्दा समाचारको हेडलाइन्स् देखेपछि उक्त समाचार हेर्न दिइएको लिङ्क क्लिक गर्ने बानी धेरैको हुन्छ । तर पाठकको भावनासँग यस्तै खेलबाड गरेर लाखौँ कमाउनेहरू अहिले सक्रिय छन् । गलत हेडलाइन्सको हवाला दिँदै यसरी दिनानुदिन मानिसलाई झुक्याउने र पैसा कमाउने व्यापार फस्टाउँदा पनि त्यस्ता काम गर्नेलाई कारवाही हुन सकेको छैन ।


किन आउँछन् त्यस्ता समाचार ?

छि तपाईं पनि कतिपटक निरास हुनुभएको होला ।

गुगल लगायतका विज्ञापनदाताहरूले दिने विज्ञापन राख्ने र प्रतिक्लिक बराबर विज्ञापन बापतको पैसा आउने हुनाले यस्तो समाचार राखिने गरेको प्रविधिविज्ञहरू बताउँछन् । ‘तपाईं समाचारको हेडलाइन्स पढेर लिङ्कमा क्लिक गर्नुहुन्छ । तर समाचार होइन अन्य विज्ञापनहरू देखा पर्छन् ब्लग वा साइटमा । त्यस्ता विज्ञापनहरू क्लिक गर्दा ब्लग वा साइट सञ्चालकको एड्सेन्स खातामा पैसा जम्मा हुन्छ ।’ प्रविधिविज्ञ तुलसी दाहालले रातोपाटीसँग भने । उनका अनुसार गुगल एड्सेन्स लगायतका विज्ञापनदाताहरूले दिने विज्ञापन क्लिक गराउने र त्यसबापत पैसा कमाउने धन्दाका कारण गलत समाचारको व्यापार भइरहेको छ ।

दाहाल भन्छन्, कहिलेकाहीँ पत्याउनै नसक्ने कुरा वा मानिसलाई झट्ट सुन्दा निकै मन छुने कुराहरूलाई समाचारको हेडलाइन्स बनाइएको हुन्छ । त्यस्ता समाचार पढ्ने वा भिडियो हेर्ने बहानामा उक्त लिङ्क क्लिक गरिन्छ । हेडलाइन्समा भनिएजस्तो समाचार वा भिडियो हुँदैन । पाठकलाई विज्ञापनमा क्लिक गर्न लगाएर पैसा कमाउने धन्दा हो त्यो । गुगललगायत विभिन्न विज्ञापनदाता कम्पनीहरूले विभिन्न पोर्टल तथा ब्लगहरूमा विज्ञापन राख्ने गरेको छ । तर त्यसको गलत प्रयोग गर्नेहरू सलबलाइरहेका छन् । कतिपय मानिसहरूले यौनसँग सम्बन्धित सामग्री भन्दै लिङ्क राख्ने र त्यसलाई खोल्दा गुगलले प्रदान गरेको विज्ञापनमार्फत कमाउने गरेका छन् ।’

विदेशमा बस्नेहरूको ‘पार्टटाइम जब’ !

कोरिया बस्ने सुमन डङ्गोल (नाम परिवर्तन) ले समाचार पोर्टलजस्तै एक वेबसाइट खोलेका छन्, त्यसमा उनले केही अपत्यारिला समाचार शीर्षकहरू राख्दै त्यसलाई फेसबुक मार्फत सेयर गर्छन् । उनको वेब साइटमा ‘विमलकी बहिनीको हत्या गर्नेलाई नेपालमा मृत्युदण्डको सजाय’, ‘भर्खर नेपालमा भूकम्प गयो, ४० जनाको मृत्यु, ‘नेपालमा महिलालाई एसिड छ्याप्ने ५ जनालाई जिउँदै जलाइयो, अर्चना पनेरुको नयाँ अश्लील भिडियो सार्वजनिक’, ‘दरबार हत्याकाण्डको रहस्य १५ वर्षपछि खुल्यो’, ‘चीनको एक घरमा बिरालोले कुकरका छाउरो जन्माएपछि मालिकलाई तनाव’ लगायतका शीर्षकसहितका समाचार भेटिन्छन् । लिङ्कभित्र केही मनगढन्ते समाचारहरू राखिएका हुन्छन् र अन्त्यमा भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् भन्दै गुगल एड राखिएको हुन्छ ।

प्रयोगकर्ताले त्यसलाई क्लिक ग¥यो भने ऊ बेवकुफ त बन्यो नै अकोतिर साइट सञ्चालकको खातामा पैसा थपिँदै जान्छ । सुमन मात्र होइनन् यस्तो काममा थुप्रै नेपालीहरू समेत लागिरहेका छन् । स्रोतका अनुसार विदेशमा बस्ने कतिपयको यस्तो गलत काम पार्टटाइम जागिर नै हुन्छ । ‘बेलुका एउटा हावा समाचार राखेर सुत्यो, बिहान उठ्दा झुक्किएका पाठकहरूले विज्ञापन क्लिक गरेबापतको पैसा खातामा जम्मा भएको हुन्छ । यसकारण यस्तो गलत धन्दा गर्नेहरूको सङ्ख्या बढेको छ ।’ हाल दुबईमा रहेका अर्जुन घिमिरेले रातोपाटीसँग भने । उनी भन्छन्, ‘यस्ता समाचारका खास पाठक पनि विदेशमा बस्ने नेपाली नै हुन् । देश छोडेर रोजगारीको सिलसिलामा विदेश आएकाहरू यस्ता गलत समाचारको सिकार हुने गरेका छन् ।’

नेपालमा कार्यालय नै खोलेर यस्तो गलत धन्दा

यस्ता गलत समाचारका हेडलाइन्स बनाउने र पाठकलाई झुक्काएर मोटो रकम कमाउने गिरोह काठमाडौँमा पनि सक्रिय छ । यस्तो काम गर्नेहरूले सुरुमा केही रकम खर्च गरेर फेसबुकमा लाइक बढाउने र बढी लाइक भएको फेसबुक पेजमा हावादारी समाचार राखेर पाठक झुक्याउने गरेका छन् । काठमाडौँमा बागबजार, अनामनगर, गोंगबु, ललितपुरमा ग्वार्को, भक्तपुरमा सल्लाघारी लगायतका स्थानहरूमा प्राविधिक ज्ञान भएकाहरूले कार्यालय नै खोलेर यस्तो गलत धन्दा गर्ने गरेका छन् । यस्तो व्यापार गर्नेहरूमा कतिपय त प्रविधिमा अब्बलहरू नै छन् । ‘आइटी कम्पनीमा काम ग¥यो महिनाको त्यही १५ देखि २० हजार कमाइ हुन्छ । एड्सेन्सको काम ग¥यो लाखौँ कमाइ हुन्छ । नेपालमा पाठक झुक्याउन पनि सजिलो छ ।’ आफ्नो नाम नबताउने सर्तमा अनामनगरमा कार्यालय नै खोलेर यस्तो गलत काम गरिरहेका एक कम्प्युटर इन्जिनियरले रातोपाटीलाई बताए ।

अचम्मलाग्दो कमाइ !

यसरी गलत समाचार बनाउने र त्यसलाई सामाजिक सञ्जालमा राखेर पैसा कमाउ धन्दामा लाग्नेहरूको कमाइ पनि अपत्यारिलो छ । यस्तो काम गर्नेहरूले महिनाको ३० हजार देखि १ लाख नेपाली रुपियाँसम्म कमाउँछन् । ‘जति धेरै फेसबुक लाइक हुन्छ, त्यति धेरै पाठकसम्म समाचारको लिङ्क पुग्छ, जति उक्त लिङ्क क्लिक हुन्छ, त्यति नै बढी आम्दानी हुन्छ ।’ काठमाडौँ अनामनगरमा कार्यालय नै खोलेर यस्तो काम गरिरहेका एक कम्प्युटर इन्जिनियरले रातोपाटीसँग भने । उनका अनुसार औसतमा महिनाको ८० हजारदेखि ९० हजारसम्म एडसेन्सबाट पैसा आउँछ । प्रतिव्यक्ति १० हजार तलब दिएर ३ जना राखेको छु । उनीहरूलाई दिने ३० हजार, कोठा भाडा १५ हजार र अन्य केही सानातिना खर्च कटाएर पनि ५० हजारभन्दा बढी जोगिन्छ । यस्तै आश्चर्यलाग्दो कमाइ हुने भएकाले नै यस्तो काममा नयाँ पिढीहरूले पनि लाग्ने गरेका छन् ।

अवैध बाटोबाट भित्रिन्छ पैसा
यसरी एड्सेन्सबाट कमाएको पैसा नेपालमा धेरैजसोले अवैध बाटो प्रयोग गरी भिœयाउने गरेका छन् । एडसेन्समा आएको पैसा हुण्डी लगायतका अवैध माध्यम प्रयोग गरेर आउनेगरेको स्रोतको भनाइ छ । ‘नेपालमा पेपल अवैध छ । अन्तराष्ट्रिय कारोबार गर्न सजिलो छैन । त्यही भएर हुण्डी लगायतका गलत माध्यम प्रयोग भएका छन् । यसले गर्दा राज्यलाई नेपाल भित्रिने मोटो रकमबाट पनि राजस्व हात परेको छैन भने अर्कोतर्फ हुण्डीको काम गर्नेहरूलाई पनि यस्ता कार्यले बढावा दिएको छ ।’ अनामनगरमै एक सफ्टवेर कम्पनीका सञ्चालक सुदन मेहेताले रातोपाटीसँग भने ।

प्रेस काउन्सिलमा पनि दर्जनौं उजुरी

यसरी विज्ञापनमा क्लिक गराउने नियतका साथमा छापिएका गलत समाचारले आफ्नो चरित्र हत्या भएको भन्दै प्रेस काउन्सिलमा पनि दर्जनौं उजुरी परिसकेका छन् । ‘यस्ता दर्जनौं उजुरी परेका छन् । हामीले बेलाबेलामा सम्बन्धित ब्लग वा साइट चलाउनेहरूलाई स्पष्टीकरण पनि माग्ने गरेका छौं । तर धेरैजसो सम्पर्कमै आउँदैनन् ।’ प्रेस काउन्सिल नेपालका सूचना अधिकृत रामशरण बोहोराले रातोपाटीसँग भने । उनका अनुसार काउन्सिलले यस्ता गलत समाचारलाई कसरी रोक्ने भन्ने विषयमा पनि आन्तरिक काम भइरहेको बताएका छन् । उनी अगाडि भन्छन्, ‘पत्रकार आचारसंहिताको उल्लङ्घन त्यस्ता गलत ब्लग वा साइटमा बढी देखिने गरेका छन् । कतिपयले निकै बीभत्स दृश्यहरू पनि राख्ने गरेका छन् । यस्ता कामविरुद्ध पनि काउन्सिलले विभिन्न काम गरिरहेको छ ।’

मुद्दा चलाउन सकिन्छ : प्रहरी

यसबारे अपराध अनुसन्धान महाशाखाका प्रतिनिधिले त्यस्ता गलत समाचारबाट आफ्नो चरित्र हत्या भएको उजुरी परेमा साइबर अपराध अन्तर्गत मुद्दा चलाउन सकिने बताए । ‘यस्ता केही उजुरीहरू आउने गरेको र त्यसलाई साइबर अपराध अन्तर्गत मुद्दा चलाउने गरेका छौं । कतिपयले आफ्नो फोटो दुरुपयोग भएको भन्दै उजुरी गर्नुभएको छ भने कतिपयले यथार्थलाई बङ्ग्याएर गलत समाचार बनाइएको भन्दै उजुरी गर्ने गर्नुभएको छ । समाचारको विषयमा भने यस्ता कार्यहरूलाई निरुत्साहित गर्न प्रेस काउन्सिल नेपालसँग पनि सहकार्य भइरहेको छ ।’ उनले भने । # साभार रातोपाटी

प्रकाशित मिति: Jun 9, 2016

प्रतिक्रिया दिनुहोस्