Logo
७ बैशाख २०८१, शुक्रबार
(June 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जीवन भयबाट सञ्चालित छ :सुब्बा

माधव अधिकारी, काठमाडौँ  । विगत १९ वर्षदेखि भयावदको नयाँ सिद्धान्तमा काम गर्दै आएका हङ्कङ्वासी नेपाली साहित्यकार देश सुब्बा शुक्रबार काठमाडौँमा श्रोतामाझ प्रस्तुत भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै चिन्तक सुब्बाले आफ्नो सिद्धान्तले ढिलै भए पनि विश्वभरि मान्यता पाउँदै गएकोमा खुसी व्यक्त गरे । “स्थापित मान्यताहरूभन्दा फरक केही नयाँ आएपछि त्यो स्वीकृत हुन समय त लाग्छ, तर तर्क सटिक छ भने त्यो स्थापित भएरै छोड्छ । 
मानव जीवन सम्पूर्णतामा भयबाट सञ्चालित छ भन्दा शुरुमा आश्चर्य लाग्नु स्वभाविकै हो, तर सोच्दै जाँदा यस कुराको सार्विकता स्थापित हुन्छ ।” सुब्बाले भने ।अमेरिका, क्यानडा र भारतबाट पुरस्कारसमेत पाएकोमा खुसी व्यक्त गर्दै उनको चिन्तनले नेपाली पाठकमाझ पनि लोकप्रियता पाउँदै गरेको सुब्बाले दाबी गरे । उनले आफू भयवादको विश्व यात्रामा रहेको र यसअघि भारत र पूर्वी नेपालका विभिन्न ठाउँमा गोष्ठी सम्पन्न गरेर काठमाडौँ आइपुगेको बताए । चार उपन्यास समेत लेखेका र एक धर्के कविता आन्दोलन शुरु गरेका सुब्बा दुई दशकदेखि यसै चिन्तनमा निरन्तर काम गर्दै आएका छन् । 
विमर्श युथ फाउण्डेशन र चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्टले संयुक्त रुपमा काठमाडौँको नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रमको संयोजन युवा समालोचक महेश पौड्यालले गरेका हुन् । कार्यक्रममा समालोचक राजकुमार बरालले सुब्बाबारे परिचयात्मक टिप्पणी गरेका थिए ।
कार्यक्रममा बोल्दै चैतन्य इन्स्टिच्युटका प्रमुख गणेश जोशीले नेपालका छोराले विश्वलाई यति महत्वपूर्ण सिद्धान्त दिनु गौरवको कुरा भएको बताए । विमर्शका अध्यक्ष किरण भट्टले देश सुब्बासँगको प्रत्यक्ष अन्तरक्रियाले यस सिद्धान्तबारे थप कुरा बुझ्ने मौका भएको बताए । कार्यक्रमको सञ्चालन जनक दुलालले गरेका थिए ।

प्रकाशित मिति: Jun 11, 2016

प्रतिक्रिया दिनुहोस्