Logo
८ बैशाख २०८१, शनिबार
(June 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. बाबुरामको यस्तो छ तयारी, नयाँ शक्तिको हिसाब पनि सार्वजनिक


काठमाण्डौ । नयाँ शक्ति नेपालको पार्टी स्थापना घोषणा सभाको तयारी पुरा भएको छ । यदपी बिभिन्न प्रचारात्मक तामझामपूर्ण विज्ञापनहरु बिभिन्न प्रश्नहरु उठेपछि उस्ले आफ्नो हिसाबकिताब समेत सार्वजनिक गरेको छ।
कार्यक्रम अनुसार आइतबार घोषणा सभाका लागि इभेन्ट म्यानेजमेण्टलाई मञ्च व्यवस्थापनको जिम्मा दिइएको छ भने देशैभरी र प्रवासवाट समेत गरी एक लाख १४ हजार पाँच सय ४६ जनाको सदस्यता फारम प्राप्त भएको उस्को दावी रहेको छ ।
अतिथिका रुपमा देशभित्र क्रियाशील राजनैतिक दलहरुलाई, व्यवस्थापिका–संसदका सदस्यहरुलाई विभिन्न संघ–संस्थाका प्रतिनिधि, नागरिक समाज, पेशागत संगठन तथा मिडिया सम्वद्ध संस्था तथा व्यक्तिहरु र बेलायत, कोसोभो, हंगेरी, श्रीलंका, भुटान, भारत, चीन, पाकिस्तान, बंगलादेशमा क्रियाशील राजनैतिक पार्टीहरुलाई निमन्त्रणा गरिएको पार्टीले जनाएको छ।
तीमध्ये युरोपियन अल्टरनेटिभ, रेड पार्टी नर्वे, द अल्टरनेटिभ डेनमार्कबाट आफ्नै पूर्वनिर्धारित कार्यक्रमका कारण उपस्थित हुन नसकेको जानकारीसहित शुभकामना पत्र आएको छ । त्यस्तै देशभित्र रहेका २५ भन्दा बढी देशका राजदूतहरुलाई आमन्त्रण गरिएको छ ।  
देशभरका एक लाख भन्दा वढी सदस्यहरु स्वयं उपस्थिति भई सामूहिक रुपमा शपथ ग्रहण गर्ने कार्यक्रम रहेकोले सभालाई व्यवस्थापन गर्न उपत्यकाका कालिमाटी, कुपण्डोल, रत्नपार्क, तिनकुने गरी चार स्थानबाट कार्यक्रमस्थल रंगशालामा र्‍याली केन्द्रित हुनेछ।
र्‍याली ठीक १२ बजे रंगशाला पुग्ने र कार्यक्रम आरम्भ हुने पार्टीले जनाएको छ ।  भोलिको कार्यक्रमपछि जेठ ३१ र ३२ गते कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा छलफल सत्र हुनेछ । सत्रमा ‘नयाँ शक्तिका आधारतत्व’ शीर्षकमा राजनैतिक प्रतिवेदन, संगठनात्मक सिद्धान्त र विधान र ‘विकास र समृद्धिको मार्ग–चित्र’ शीर्षकमा अर्को दस्तावेज गरी तिनवटा दस्तावेज प्रस्तुत हुनेछ ।
उक्त दस्तावेजहरुउपर छलफल गर्न प्रतिनिधिहरुलाई दश समूहमा विभाजन गरिने र दस्तावेजलाई सुझाव सहित अन्तरिम रुपमा लागू गर्ने गरी महाधिवेशनसम्मै छलफलमा जाने गरी पठाइने पार्टीले जनाएको छ। यसरी पार्टी घोषणा, सामूहिक शपथ–ग्रहण एवं छलफल सत्र सम्पन्न गरी एक वर्षभित्रै महाधिवेशन सम्पन्न गर्ने घोषणा हुने र त्यसपछि स्थानीय र प्रदेश स्तरका अधिवेशनहरु सम्पन्न गर्ने लक्ष्य पार्टीले राखेको छ।
सार्वजनिक गरिएको ‘अनुमानित आर्थिक अवस्था’ मा आइतबारको घोषणा सभापछि पनि ७१ लाख बचत हुने देखाइएको छ।  
हिसाब अनुसार एक लाखभन्दा बढी सदस्यहरुबाट एक करोड २० लाख, १५०० प्रतिनिधिहरुबाट ५०० को दरले साढे सात लाख, सचिवालय सदस्यहरुबाट १० हजारका दरले ६ लाख ६० हजार, अन्तरिम केन्द्रीय परिषद्का सदस्यहरुबाट १० लाख, समर्थकहरुबाट सहयोगका रुपमा २५ लाख र हाल बैँकमा रहेको सात लाख चानचुन जोडी एक करोड ७६ लाख आम्दानी हुनेछ।
खर्चमा प्रचार–प्रसार, प्रकाशनमा ३७ लाख, पार्टी घोषणा सभा व्यवस्थापनमा २० लाख, छलफल सत्रको खर्च ( दुई दिनको) १२ लाख,  प्रतिनिधिहरुलाई बसोबाससहितको व्यवस्थापनमा १४ लाख, जनपरिचालन खर्च  १० लाख र विविध १२ लाख गरी एक करोड पाँच लाख देखाइएको छ।

प्रकाशित मिति: Jun 11, 2016

प्रतिक्रिया दिनुहोस्