Logo
१३ बैशाख २०८१, बिहीबार
(June 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लवको खुल्ला चुनौति : ‘तिम्रा जस्तोसुकै टावर ध्वस्त पार्न सक्छौ’


काठमाण्डौ । आइतबार गृहमन्त्री शक्ति बस्नेतले सबै सुरक्षा निकायका प्रमुखलाई मन्त्रालयमा बोलाएर एनसेलको टावरमा आक्रमण गर्नेहरुलाई नछाड्न, विप्लपका नेता तथा कार्यकर्तामाथि निगरानी बढाउन र कारबाही थाल्न निर्देशन दिएलगत्तै कुनै बेलाका गृहमन्त्रीका वरिष्ठ सहकर्मी विप्लवले सरकारलाई नै सामाजिक सञ्जालमार्फत खुलेआम चुनौति दिएका छन् । 
उनले फेसबुकमा पोस्ट गरेको स्टाटसले देशव्यापी रुपमा भइरहेको एनसेलमाथिको आक्रमणमा नेकपा माओवादीकै संलग्नता रहेको पुष्टि गरिदिएको छ । 
उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्’‘हामी तिम्रा जस्तोसुकै र जुनसुकै टावरहरु ध्वस्त पार्ने क्षमता राख्छौ । 
किनकि त्यो तिम्रो  बेइमानी, गद्धारी, चाकडी, कालाबजारी र लुटको जगमा उभिएको छ । अनि टावरका रक्षक बनेका विश्वासघातीहरु, हामीले तिमीलाई पनि राम्रैसँग चिनेका छौ, याद गर दमन भए प्रतिरोध हुन्छ ।’ 
विप्लव माओवादी निकट स्रोतका अनुसार एनसेलकै अन्य ठूला टावरहरुमाथि पनि सो पार्टीका कार्यकर्ताले आक्रमणको योजना बनाइरहेका छन् । 
गृहमन्त्रीले आफूहरुमाथि दमन गर्न खोजेको बुझाईले विप्लवमा प्रतिशोध जन्मिएको र ठूलै धक्का दिने तयारी भइरहेको ती नेताले बताए । 
‘हामीले राज्यलाई कर नतिर्ने संस्थालाई तह लगाउन यसो गरेका थियौं, तर सरकारले यो संवेदनशीलता बुझेन ।’  एनसेलका टावरहरुमाथि आक्रमण र आगजनी बढेसँगै गृहमन्त्रालयको निर्देशनमा प्रहरीले ठाउँ ठाउँबाट विप्लव माओवादीका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिन थालेको छ । 
प्रहरीे म्याग्दीबाट दुई स्थानीय नेतालाई नियन्त्रणमा लिएको छ । बेनीको जिल्ला प्रशासन कार्यालय अगाडि व्यापार गर्दै आएका जिल्लास्तरीय माओवादी नेता लालु किसान (आकाश) र पदम पुन (फिल्टर)लाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो । 
पसलमा काम गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको सो पार्टीका अर्का नेता गोपाल शर्माले बताए । 
शर्मालाई पनि आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएर केही समयको सोधपुछपछि छोडेको थियो । बेनी नगरपालिका–४ बन्चरेडिलस्थित एनसेलको टावरमा शनिबार साँझ आगजनी भएको थियो । आगजनीबाट जेनेरेटरमा क्षति पुगेको थियो । 
यसैगरी, एनसेलको टावरमा आगजनी गरेको आरोपमा नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा माओबादीका उदयपुरका दुई कार्यकर्ता पक्राउ परेका छन् । 
पक्राउ पर्नेहरुमा जिल्लास्तरीय कार्यकर्ता पूर्णबहादुर तामाङ र राजन आचार्य रहेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । 
उनीहरुलाई जिल्लाको रामपुर ठोक्शीला ७ को टावरमा आगजनी गरेको आरोपमा सोमबार बिहान पक्राउ गरिएको प्रहरी उपरिक्षक नरबहादुर केसीले बताए । 
तामाङ्ग विप्लव समूहको उदयपुर क्षेत्र नं. १ का अध्यक्ष हुन भने आचार्य सचिव रहेको माओवादीका जिल्ला सेक्रेटरी केदार कुमार राईले बताए ।
ठोक्शीला ७ को गुरुङचौरीमा रहेको एनसेल टावर र जिल्लाकै रौता गाविसको वडा नं. ९ मुर्कुचीस्थित टावरमा अज्ञात समूहले आईतबार विहान एकैचोटी आगजनी गरेको थियो । 
उता, देशका विभिन्न क्षेत्रमा दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावरमाथि आक्रमण तथा आगजनी हुन थालेपछि सचेत हुँदै कञ्चनपुर प्रहरीले यहाँका ६० वटा टावरमा पहरा दिन सुरु गरेको छ । 
देशका अन्य भागमा विप्लप माओवादीले टावरहरुमा आक्रमण थालेपछि कञ्चनपुरमा सुरक्षा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए । 
नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीले पनि टावरहरुको सुरक्षा सतर्कता बढाएको जनाएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पन्तले यहाँका सबै एनसेल टावरमा निगरानी राखेको बताए । 
गृहमन्त्रालयले देशका अन्य ठाउँमा रहेका एनसेलको टावरमा निगरानी बढाउन निर्देशन दिइसकेको छ । कञ्चपुर प्रहरीले झै देशभरका प्रहरी युनिटहरुले एनसेलको टावरमा पहरा दिन सुरु गरेका बताइएको छ । 
एनसेलका अनुसार देशका २५ भन्दा बढी ठाउँका टावरहरुमा आक्रमण भएको र टावर ध्वस्त भएको छ । ती ठाउँका टावर ध्वस्त हुँदा ६ लाख बढी सर्वसाधारण संचार सम्पर्कविहीन बन्न पुगेका एनसेलले दाबी गरेको छ । उसले कानूनी रुपमा संचालन गरिएको व्यवसायमा सरकारले सुरक्षा दिनुपर्ने माग गरेको छ । 
पछिल्लो पटक आइतबार राति १०ः३० बजे चितवनको भरतपुर, उपमहानगरपालिका ६, शान्तिचौकमा रहेको एनसेलको टावरमा एक समूहले आगजनी गरेको थियो । 

प्रकाशित मिति: Jun 13, 2016

प्रतिक्रिया दिनुहोस्