Logo
११ बैशाख २०८१, मंगलबार
(June 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली टोपी लगाएर भारतिय राजदुतले भने ‘कसैले चाहेर सम्बन्ध बिर्गान सक्दैन’


स्याङ्जा । भारतीय राजदूत रणजीत रायले नेपाल र भारतबीचको सम्बन्ध कसैले चाहेर पनि बिगार्न नसक्ने बताएका छन् । उनी आज भदगाउले टोपीमा सजिएको समेत देखिए । 
सोमबार स्याङ्जाको पुतलीबजार र बयरघारीमा बन्न लागेका क्याम्पस र विद्यालय भवनको शिलान्यास गर्दै राजदुत रायले भने,‘सदियौं पुरानो नेपाल–भारतबीचको सम्बन्ध जनस्तरमा पनि उत्तिकै बलियो र प्रगाढ भएकाले कसैले बिच्छेद र खण्डित गर्न सक्दैन।’ नेपालको समग्र विकासका लागि भारत सदैव चिन्तित रहेको उनको भनाई थियो । 
राजदूत रायले शिक्षाको माध्यमबाट नेपाली दाजूभाइ दिदी बहिनीको चेतनास्तर माथि उठाउन आफूहरु चिन्तित रहेको उल्लेख गरे । ‘यहाँको शिक्षामा लगानी गरेर नेपाली दाजुभाइको चेतास्तर उकास्न हामी सघाइरहेका छौं’, उनले भने, ‘उच्च शिक्षा आफ्नै देशमा आर्जन गर्न सक्ने वातावरण बन्यो भने नेपालको दिगो विकासमा मद्दत हुनेछ ।’
५० वर्षअघि भारतले पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्ग निर्माणमा आर्थिक सहयोग गरेर विकासको ढोका खोलीदिएको बताउँदै रायले आगामी दिनमा पनि राजनीतिक मात्र नभइ सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन दुबै देशका जनताबीच हार्दिकता र आत्मीयता बढाउनुपर्नेमा जोड दिए ।
पाँचरपाँच करोडको लागतमा निर्माण गरिने सुबिधासम्पन्न भवनमा लागि भारतीय दूतावासले आर्थिक सहयोग उपलब्ध गराएको छ । बहालवाला र पूर्वगरी झण्डै १ लाखजना भारतीय सेनामा सेवा गर्नेका बालबच्चाका लागि प्रारम्भीक शिक्षादेखि उच्च शिक्षा आर्जन गर्ने वातावरणका लागि पूर्वाधार निर्माण प्रयोजनका लागि भारतीय दूतावासले सहयोग उपलब्ध गराएको हो ।
दूतावासले पुतलीबजार नगरपालिका–१ स्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पस र भीरकोट नगरपालिका बयरघारीस्थित भूतपूर्व सैनिक आवासीय विद्यालयको भवन निर्माणका लागि सो रकम उपलब्ध गराएको हो । दुवै शैक्षिक संस्थाका भवन २ वर्षमा बनाइसक्ने योजना छ ।
कार्यक्रममा सांसदद्धय गोपालमान श्रेष्ठ र राजु थापा, स्थानीय विकास अधिकारी महेश भट्टराई, क्याम्पस प्रमुख अर्जुनबन्धु अर्याल, क्याम्पस संचालन समितिका तुलसी गिरी र लोकराज शर्मा लगायतले दुई देशबीचको सांस्कृतिक र ऐतिहासिक सम्बन्धबारे प्रकाश पारेका थिए ।

प्रकाशित मिति: Jun 13, 2016

प्रतिक्रिया दिनुहोस्