Logo
७ बैशाख २०८१, शुक्रबार
(June 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको वार्ता आह्वान पछि सुरु भयो गठबन्धनभित्रै मतभेद

काठमाण्डौ । सरकारले वार्तामा आउन गरेको पटक–पटकको आह्वानलाई लिएर संघीय गठवन्धनभित्रै मतभेद भएको छ । प्रधानमन्त्री केपी ओलीले पछिल्लोपल्ट पठाएको पत्रबारे समेत एक सातादेखि खुलामञ्चमा रिले अनशन बसिरहेको गठबन्धनमा अलगअलग मत देखिएको छ । 
तमलोपा, सद्भावना पार्टीलगायत साना मधेसी दलहरू मधेसी मोर्चाको अस्तित्व मेट्न नहुने अडानमा छन् । गठबन्धनभित्रका समाजवादी फोरमलगायत पहाडी जनजाति पार्टीहरू अब गठबन्धनसित वार्ता हुनुपर्ने बताइरहेका छन् । गठबन्धनभित्रकै मधेसवादी दलले भने यसअघिका वार्ता मधेसी मोर्चासित भएकाले अबको वार्ता पनि मोर्चासितै हुनुपर्ने धारणा राखेका छन् । 
मधेसी मोर्चा आबद्ध दललाई सम्बोधन गर्दै आइतबार ओलीले पठाएको दोस्रो पत्रमा संघीय गठबन्धनलाई सम्बोधन नगरिएको भन्दै संघीय समाजवादी फोरम पक्षका नेताले असन्तुुष्टि जनाएका छन् । मधेसी मोर्चाभित्रका अरू दलले भने जेठ १० मा ओलीबाट आएको पत्रभन्दा सकारात्मक भाषा परेको भन्दै ठोस प्रस्ताव र प्रतिबद्धतासहित सरकारी पक्ष आए संवादमा बस्न सकिने संकेत गरेका छन् ।
मोर्चामा आबद्ध सातवटै दलहरू गठबन्धनमा पनि समावेश भएकाले ती दलका नेताहरूलाई छुट्टाछुट्टै पत्र पठाएको उनले बताए । यसअघिको पत्रमा मोर्चामा आबद्ध दलका नेताहरूलाई छुट्टाछुट्टै सम्बोधनसहित बोधार्थ दिइएको थिएन ।
यस पटक मोर्चाभित्र आबद्ध सबै दलका नेताहरूको नाम राखिएको छ । मोर्चालाई नै अघि बढाउनुपर्छ भन्ने पक्षका गठबन्धनका नेताहरूले पछिल्लो पत्रलाई केही सकारात्मक मानेका छन् । मोर्चासँग यसअघि धेरै चरणका वार्ता भइसकेका छन् । ती वार्तामा कतिपय विषयहरू सहमतिको निकट पनि पुगेका थिए ।
संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले उपलब्धिपूर्ण वार्ताका लागि ओली मानसिक रूपमा तयार नभएसम्म आफूहरू वार्तामा नबस्ने अडान लिए । राईले गठबन्धनले अघि सारेको २६ बुँदे मागबारे ओलीको धारणा माग गरे । 
संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पछिल्लो आन्दोलन मधेसी मोर्चा नभई संघीय गठबन्धनकै स्वामित्वमा चलिरहेकाले चिठी पनि गठबन्धनकै नाममा आउनुपर्ने अडान लिए । ‘सरकार मोर्चा र गठबन्धनलाई फुटाउ अनि शासन गर भन्ने रणनीतिका साथ प्रस्तुत भइरहेको छ,’ श्रेष्ठले भने, ‘मोर्चाको आफ्नै अस्तित्व छ, तर अब संघीय गठबन्धन बनेकाले चिठी पनि यसकै नाममा आउनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’ 
जेठ १ देखि राजधानी केन्द्रित आन्दोलन चलाइरहेको संघीय गठबन्धनले जेठ २५ देखि असार मसान्तसम्म रिले अनशन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री ओलीले मधेसी मोर्चामै आबद्ध रहेका दलहरू नै संघीय गठबन्धनमा समेत संलग्न रहेकाले मोर्चाको नाममा वार्ताको पत्र पठाएका हुन् । यसअघि मोर्चाकै नाममा सरकारसमक्ष माग प्रस्तुत भएकाले मोर्चालाई नै सम्बोधन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।  ‘संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाकै तर्फबाट सरकारसमक्ष माग प्रस्तुत भएकाले प्रधानमन्त्रीले त्यसैलाई फेरि पत्र पठाउनु भएको हो,’ दाहालले भने, ‘संघीय गठबन्धनका तर्फबाट सरकारसमक्ष औपचारिक माग आएको छैन ।’
अनशनलाई वैद्यको ऐक्यबद्धता
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले गठबन्धनको जारी अनशनमा पुगेर ऐक्यबद्धता जनाएका छन् । सोमबार खुलामञ्चमा उपाध्यक्ष सीपी गजुरेलसहित पुगेका वैद्यले दोस्रो संविधानसभा धोका हो भनी आफूले सुरुमै भनेको सम्झाए । ‘त्यसैले मैले चुनावदेखि नै विरोध गरेको हुँ, तपाईंहरूले बल्ल बुझ्नु भएछ,’ वैद्यले भने, ‘यो संविधानमा जनतालाई धोका भएको छ । मिलेर संघर्ष गरौं ।’

प्रकाशित मिति: Jun 14, 2016

प्रतिक्रिया दिनुहोस्