Logo
१५ बैशाख २०८१, शनिबार
(June 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा राजतन्त्र पुनर्बहाली गर्ने भन्दै यस्तो भइरहेको छ, खेल !


काठमाडौं । भारतीय नेताहरुले हिन्दु अधिराज्य र राजतन्त्र पुनर्बहालीको पक्षमा खुलेरै बोल्ने भएका छन् । नेपालमा राजतन्त्र पुनर्बहाली गर्ने भन्दै भारतीय केहि नेताहरु कस्सिएका छन् । 
नेपाल मुक्ति मोर्चा नामक एउटा संस्थाले आयोजना गर्न लागेको कार्यक्रममा भारतीय नेताहरु भगतसिंह कोस्यारी, आदित्यनाथ र सञ्जयविनायक जोशीले राजतन्त्रको पक्षमा मुख खोल्ने तयारी गरेको समाचार स्रोतले जनाएको छ ।
यी तीनैजना भारतको सत्तारुढ बीजेपीका प्रभावशाली नेता हुन् । कोस्यारी वरिष्ठ उपाध्यक्ष हुन् साथै उनले भारतीय जनता पार्टी (विजेपी) को नेपाल प्रमुखको समेत जिम्मा पाएका छन् ।
भने जोशी पूर्वमहासचिव हुन् । गोरखपुरनाथका पीठाधीश आदित्यनाथ नेता मात्रै नभएर प्रभावशाली साधु पनि हुन् । भारतीय नेता आउने विशेष कार्यक्रमको तयारीका लागि राजावादीहरुको चलखेल बढेको छ ।
असार ८ गते सार्वजनिक रुपमै प्रवचनको कार्यक्रम राख्ने र त्यो कार्यक्रममा सबै पार्टीका राजावादीहरुलाई आमन्त्रण  गर्ने तयारी भएको समाचार स्रोतले जनाएको छ । यसका लागि राष्ट्रियसभा गृह बुकिङसमेत गरिएको छ ।
संस्थाका संयोजक होटल एलो प्यागोडाका मालिक एवं राप्रपा नेपालबाट निष्कासित नेता दिलविकास राजभण्डारी हुन् । 
समाचार स्रोतका अनुसार नेपाली कांग्रेसका तर्फबाट खुमबहादुर खड्कालाई आमन्त्रण गर्ने कि महामन्त्री शशांक कोइरालालाई आमन्त्रण गर्ने भन्ने विषयमा आयोजकहरुबीच नै विभाजित भएका छन् ।
आदित्यनाथको नजिक रहेका कारण खुमबहादुर खड्कालाई आमन्त्रण गर्नुपर्ने एकथरीको लबिङ छ, तर संयोजक राजभण्डारी मानिरहेका छैनन् । 
खुमबहादुर हिन्दुवादी भए पनि राजावादी नभएको  भन्दै ल्याउन नहुने बताएका छन् । राजनीतिक तथा कुटनीतिक तारतम्य यही रुपमा मिल्दै गयो भने  भारतको उद्देश्य फेरिएन भने चाँडै नेपाली राजनीतिमा एउटा अनौठो घटना हुन गइरहेको सङ्केत देखिएको छ ।
त्यो अनौठो सङ्केत हो– पूर्व महाराज ज्ञानेन्द्र शाहको औपचारिक भारत भ्रमण । गद्दीच्यूत भएपछि पूर्व महाराज ज्ञानेन्द्र शाह अनेक अवसर र बहानामा दर्जनौं पटक भारत गइसकेका छन् । 
अबको उनको भ्रमण विगतको जस्तो नहुन सक्छ । पछिल्लो पटक सुरक्षा गार्ड समेत नलिइ भारत गएका  ज्ञानेन्द्र शाह नेपाल फर्किए लगत्तै आफ्नो सक्रियता समेत बढाएका छन् । 
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी या भारत सरकारको औपचारिक निमन्त्रणामा पूर्व महाराज तथा हिन्दू सम्राटको रुपमा ज्ञानेन्द्र शाहको नयाँदिल्ली भ्रमण हुनसक्छ । 
कुनै पद र हैसियतमा नरहेका ज्ञानेन्द्र शाहलाई औपचारिक भ्रमणमा बोलाउन भारतले तयारी गरिरहेको बुझिन्छ । यो खबरले पूर्व महाराजका पक्षधरहरु निकै उत्साहित भएका छन् ।
भारतले साँच्चै नै पूर्व राजालाई औपचारिक भ्रमणमा बोलायो भने त्यसको व्यापक राजनीतिक तथा कूटनीतिक अर्थ लाग्न सक्छ । 
रद्द भएको राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणलाई पुनर्जीवित गर्ने र भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमण गराउने प्रयास भइरहेको बेला ज्ञानेन्द्र शाहको औपचारिक भ्रमणले के कस्तो सन्देश जालाँ जो कोहिले पनि आकंलन गर्न सक्छ ।
स्वतह नेपालमा राजतन्त्र पुनस्थापनाको पक्षमा भारत छ भन्ने सन्देश जानेछ । गणतान्त्रिक मुलुकमा मृत राजतन्त्र फर्काउने भारतीय नीति छताछुल्ल भएपछि नेपाल भारत सम्बन्ध झन अप्ठेरो अवस्थामा फस्न सक्ने लख पनि त्यत्तीकै काटिएको छ ।
पूर्व राजाको पक्षमा भारत सरकारका राज्यमन्त्री भीके सिंह लागि परेका छन् । उनी उत्तर प्रदेशको गाजियावादबाट लोकसभाका सांसद पनि हुन् । 
पूर्व थलसेना अध्यक्ष समेत हुन् उनी । २०७३ वैशाख १६ गते अचानक ज्ञानेन्द्र शाह बिना सुरक्षा भारत भ्रमणमा गएका थिए । त्यसबेला उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय गुप्तचर संस्था रअ का पूर्व प्रमुखहरुसँग पनि भेटेका थिए । 

प्रकाशित मिति: Jun 14, 2016

प्रतिक्रिया दिनुहोस्