Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारीको हर्कत : सिचाइ विभागमा हाकिम माग्ने, ड्राइभर मिलाउने


काठमाडौं । सिंचाई मन्त्रालय अन्तर्गतको जल उत्पन्न प्रकोप व्यवस्थापन विभाग, पुल्चोकमा आजकाल अचम्मको हर्कत हुन थालेको छ । विभागमा ड्राइभरदेखि महानिर्देशकसम्मका कर्मचारीले विभिन्न हर्कत देखाउन थालेपछि पुल्चोकस्थित विभागको कार्यालय बद्नाम बन्न पुगेको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । 
स्रोतका अनुसार विभागमा सबैभन्दा बढी चर्चा त्यहाँ कार्यरत ड्राइभर सुन्दर शर्माको हुने गरेको छ । ६–७ वर्ष अगाडि राजनीतिक पहुँचका आधारमा करारमा नियुक्त भएका ड्राइभर शर्माले पत्नी हुँदाहुँदै विभागकै महिला कर्मचारीहरूलाई गिद्धे नजरले हेर्न थालेपछि विभाग नै बद्नाम हुन पुगेको हो । यतिसम्मकी उनीमाथि ज्यालादारीमा काम गर्ने महिला कर्मचारीहरूलाई विभिन्न प्रलोभनमा पारेर शारीरिक सम्पर्कका लागि दबाब दिने गरेको आरोप छ । ‘ड्राइभर सुन्दर शर्माले हाकिमहरूसम्मलाई खै कसरी हो प्रलोभनमा पारेका छन्’, विभागका एक कर्मचारीले भने–‘ठूला हाकिमहरूको प्यारो छन् । खै के–के गर्छ । 
युवतीदेखि घुससम्म सेटिङ मिलाउँछ भन्ने सुनिएको छ ।’ उनले जागिर लगाइदिने भन्दै नयाँ–नयाँ युवती विभागमा ल्याएर इञ्जिनियर र आफ्ना हाकिमहरूसँग चिनजाने गराउने गरेको स्रोतले जनायो । विभागका ठूला हाकिम र इञ्जिनियरहरूले बेलुका–बेलुका ड्राइभर शर्मालाई खोज्ने गर्दछन् । हुन त यो विभाग आफ्नै केही कर्मचारीहरूको यौनकाण्डका कारण ठूलै बद्नामीमा परिसकेको छ । 
ड्राइभर शर्माको मुल घर विराटनगरमा पर्छ । पत्नी र एक छोरा रहेका शर्मा बेलाबेला विदेश भ्रमणमा पनि जाने गरेका छन् । स्थायी ड्राइभरलाई समेत उछिनेर शर्मा कसरी विदेश भ्रमण जाने गरेका हुन् भनेर विभागका स्थायी ड्राइभर र कर्मचारीहरूका बीच चर्चा हुने गरेको छ । उनकी पत्नीले व्यूटिर्पालर चलाउँदै आएकी छिन् । तर, सिधासादा पत्नीको आँखा छलेर शर्माले महिला कर्मचारी र नयाँ–नयाँ युवतीहरू खेलाउने कार्यबाट विभागका कर्मचारी भने हैरान छन् । उता, साउनमा अनिर्वाय अवकास पाउँदै गरेका विभागका महानिर्देशक निरञ्जनदेव पाण्डे हाकिमहरूसँग पैसा उठाउन व्यस्त छन् । 
उनले विभाग मातहतका करिव ३० वटा कार्यालयहरूका हाकिमहरूको सूची तयार पारेर पैसा मागेर आतंक मच्चाएको चर्चा छ । महानिर्देशक पाण्डेले ‘सिचाईमन्त्री उमेश यादवले पैसा माग गरेका छन्’ भनेर इञ्जिनियर र विभाग मातहतका कार्यालय प्रमुखहरूसँग कुल बजेटको २ प्रतिशतका दरले रकम माग गर्ने गरेको स्रोतले जनायो । पाँच करोड बजेट हुने कार्यालयले दुई प्रतिशतका दरले अर्थात ५० लाख रुपियाँ बुझाउनु पर्ने विभागको नियम छ । पूर्वराजसंस्थासँग निकट मानिने पाण्डेसँग कांग्रेसका मन्त्री एनपी साउदले मोटो रकम लिएर विभागको महानिर्देशक बनाएका हुन् । 
त्यस बेला महानिर्देशक पाण्डेले एनपी साउदलाई ५० लाख बुझाएको अहिले पनि विभागमा चर्चा हुने गरेको छ । विभागले जनताको तटबन्ध, डिभिजन कार्यालयहरू र सव–डिभिजन कार्यालयहरूलाई हेर्ने गर्छ । ती सबै कार्यालयबाट पाण्डेले भ्रष्टाचारको पैसा उठाएर घर जाने योजना बनाएका छन् । महानिर्देशक पाण्डे साउनमा अनिवार्य अवकासमा जाने भएपछि विभागका लेखा शाखा हेर्न उपसचिव लेखजंग केसी र लेखा अधिकृत लोक बोहोराले टेर्न छाडेका छन् । 
केसी र बोहोराले महानिर्देशक पाण्डेले भनेका कुनै पनि कुरा नमान्ने गरेको स्रोतले जनाएको छ । लेखा शाखाबाट हुने पैसाको कुरालाई केसी र बोहोराको मिलेमतोमा भित्रभित्रै मिलाउने गरिएको छ । यता, यूनाइटेड पोष्टसँग कुरा गर्दै महानिर्देशक पाण्डेले आफूमाथि लागेका आरोपहरुको खण्डन गर्दै निराधार रहेको दावी गरेका छन् ।
 हुन त सिचाइँमन्त्री यादवले पनि इञ्जिनियरहरूको सरुवामा पैसा लिएर बद्नाम भएको विभागका कर्मचारीहरूले नै आरोप लगाउने गरेका छन् । माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका यादवले कार्य सम्पादन गर्न नसकेको भनेर नारायणकाजी श्रेष्ठ समूहले असन्तोष जनाउँदै आएको छ ।

प्रकाशित मिति: Jun 23, 2016

प्रतिक्रिया दिनुहोस्