Logo
१५ चैत्र २०८०, बिहीबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति रनिङमा विपनाको अर्को कीर्तिमान

काठमाडौं ।  आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदको दोश्रो दिन बिहीबार पश्चिमाञ्चलकी विपना परियारले अर्को विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान बिहीबार कायम गरेकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विपनाले छात्रा लङजम्पमा ५.०९ मिटर जम्प लगाउदै पश्चिमाञ्चलकै कृष्णा चौधरीले २०६९ सालमा बनाएको ४.७७ मिटरको कीर्तिमान भंग गरिन् ।
बुधबार विपनाले ट्रिपलजम्पमा १०.५२ मिटर हामफाल्दै विद्यालयस्तरको कीर्तिमान बनाएकी थिइन् । मध्यपश्चिमाञ्चल प्रमिला चौधरी दोश्रो र पश्चिमाञ्चलकी शशी चौधरी तेश्रो भए ।
दोश्रो भएकी प्रमिलाले कृष्णाकै कीर्तिमानलाई उछिन्ने क्रममा ४.९२ मिटरको प्रदर्शन गरिन् । उक्त स्पर्धाको छात्रमा मध्यमाञ्चलका भुवन महतो पहिलो भए । उनले ६.१३ मिटर जम्प लगाए । छात्र १ सय मिटर दौडमा पश्चिमाञ्चलका विकासकुमार शाहले ११.२८ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो भए । सो स्पर्धाको छात्रामा मध्यमाञ्चलकी लुजला अमात्य पहिलो भइन् । लुजलाको टाइमिङ १३.०८ सेकेन्ड रह्यो ।
छात्रा ४ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलकी रुपा थारु पहिलो भइन् । रुपाले निर्धारित दूरी तय गर्न १ मिनेट ०५.५६ सेकेन्ड समय लगाइन् । ५२.४ सेकेन्ड समय खर्चेका मध्यमाञ्चलका चन्देश्वर पटेल छात्र ४ सय मिटर दौडमा पहिलो बने । छात्रा ३ हजार मिटर दौडमा पूर्वाञ्चलकी दीपा बस्नेत पहिलो भइन् । दीपाले ११ मिनेट ४२ सेकेन्ड समय लगाइन् । त्यसै स्पर्धाको छात्रमा ९ मिनेट ४२.६ सेकेन्ड समयसाथ मध्यमाञ्चलका अजितकुमार यादव शीर्ष स्थानमा रहे ।
छात्रा ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमाञ्चलकी धनशोभा रावत पहिलो भइन् । धनशोभाले २४.४० मिटर टाढा फ्याकिन् । त्यो स्पर्धाको छात्रमा ४६ मिटर थ्रो गर्दै मध्यमाञ्चलका वीरेन्द्र चौधरीले शीर्ष स्थान कब्जा गरे । छात्रा ४ गुणा १०० मिटर रिलेमा पश्चिमाञ्चल पहिलो, मध्यपश्चिमाञ्चल दोश्रो र मध्यमाञ्चल तेश्रो भए । सो स्पर्धाको छात्रमा मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल र पूर्वाञ्चलले क्रमशः शीर्ष तीन स्थान ओगटे ।
कराते : 
छात्रा ४० केजीमा पूर्वाञ्चलकी नन्दु राई पहिलो भइन् । फाइनलमा नन्दुले सुदूरपश्चिमाञ्चलकी उर्मिला विकलाई पराजित गरिन् । ४५ केजीको फाइनलमा मध्यमाञ्चलकी करुणा श्रेष्ठले मध्यपश्चिमाञ्चलकी दिब्या चन्दलाई हराउदै पहिलो स्थान हात पारिन् । ५० केजीमा पूर्वाञ्चलकी विद्याकला राईले शीर्ष स्थान हात पारिन् । फाइनलमा विद्याले मध्यमाञ्चलकी रितु भट्टराईलाई पाखा लगाइन् । पुरुष ४७ केजीमा मध्यमाञ्चलका सुविन खत्री पहिलो भए । उनले उपाधि भिडन्तमा पूर्वाञ्चलका रोशन गुरुङलाई निराश पारे । मध्यमाञ्चलका अनिश लामाले आफ्नै क्षेत्रका प्रवीण लामालाई हराउदै ५२ केजीको उपाधि जिते ।
तेक्वान्दो: 
तेक्वान्दोमा २ स्वर्ण, ३ रजत र १ कांस्य हात पार्दै मध्यमाञ्चल टिम च्याम्पियन बनेको छ । दोश्रोमा रहेको सुदूरपश्चिमाञ्चलले २ स्वर्ण र उत्तिनै कांस्य प्राप्त ग¥यो । १ स्वर्ण, ३ रजत र ३ कांस्यसाथ पूर्वाञ्चलले तेश्रो स्थानमा चित्त बुझायो ।
६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बाँकी १ स्वर्ण पश्चिमाञ्चलको पोल्टामा गयो । मध्यमाञ्चलका लागि छात्रा ४६ केजीमुनि आयशा लामा र छात्र ५१ केजीमुनि वर्षान्त मोक्तानले स्वर्ण जिते । छात्र ४५ केजीमुनि सुरज चौधरी र ४८ केजीमुनि भोजराज भट्टले सुदूरपश्चिमाञ्चलाई स्वर्ण दिलाए । पूर्वाञ्चलकी विनिता घिमिरेले छात्रा ४२ केजीमुनि तथा पश्चिमाञ्चलकी पूजा तुहाराले छात्रा ४४ केजीमुनि स्वर्ण हात पारे ।
फुटबल : 
छात्रतर्फ सुदूरपश्चिमाञ्चल फाइनलमा प्रवेश ग¥यो । दशरथ रंगशालामा भएको दोश्रो सेमिफाइनलमा सुदूरपश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई ३–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि निखिल अवस्थीले ह्याट्रिक गरे । मध्यपश्चिमाञ्चलको गोल आत्माघाती थियो । फाइनलमा सुदूरश्चिमाञ्चलको भेट पश्चिमाञ्चलसंग हुने छ ।
छात्रातर्फ मध्यपश्चिमाञ्चल र मध्यमाञ्चल उपाधिका लागि भिड्ने छन् । मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई १–० गोलले हरायो । निर्मला उपाध्यायले निर्णायक गोल गरिन् । रजनी ठोकरको निर्णायक गोल मद्दतमा मध्यमाञ्चलले पूर्वाञ्चलाई १–० गोलले पाखा लगायो ।
उसु : 
उसुको छात्रा नान् छ्वानमा ७.७० अंकसाथ मध्यमाञ्चलकी रसु तामाङले स्वर्ण जितिन् । पूर्वाञ्चलकी एलिजा मारिक दोश्रो र मध्यमाञ्चलकी सरु लामा तेश्रो भए । छात्र ताइची छ्वानमा मध्यमाञ्चलका मनीष बुढाथोकी ६.९५ अंक जोड्दै पहिलो भए । मध्यमाञ्चलकै विवेक शाक्य दोश्रो र सुदूरपश्चिमाञ्चलका खगेन्द्र बुढा तेश्रो भए । सोही स्पर्धाको छात्रामा सम्झना चौधरीले पहिलो स्थान हात पारिन् । सुदूरपश्चिमाञ्चलकी सम्झनाले ७.३० अंक बटुलिन् । सुदूरपश्चिमाञ्चलकै श्वस्ती दहित दोश्रो र मध्यमाञ्चलकी दिपिका राई तेश्रो भए ।
कबड्डी:
कबड्डीतर्फ सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चलको छात्र÷छात्रा दुवै टोली फाइनलमा प्रवेश गरेका छन् । छात्रमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ३४–३३ तथा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ६३–५६ ले पराजित गरे ।
छात्रामा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ७२–५१ तथा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ३४–१३ ले पाखा लगाए ।

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्