Logo
६ बैशाख २०८१, बिहीबार
(June 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनभीएम खोज: सरकारलाई समेत टेर्देनन जगदम्बा ग्रुप

1457002875काठमाडौं । प्रहरी मुख्यालयकै नाकै अगाडी निर्माण गर्न लागिएको गगनचुम्बी भवनको वेसमेन्ट बनाउने क्रममा वरपरका छिमेकी निकै पिडीत बन्न पुगेका छन् । जगदम्बा ग्रुपले निर्माण गर्न लागेको गगनचुम्बी होटल तीन तला वेशमेन्ट सहित चौध तल्ले हुने बताइएको छ । आफ्नै मुख्यालय परिसरका सबै कार्यकलाप देखिने तथा सुरक्षा र सञ्चार प्रविधिका गोप्यता समेत खुलासा हुने अवस्थामा पनि उक्त भवनको निर्माणका सन्दर्भमा प्रहरीका उच्च अधिकारीले खासै चासो दिएका छैनन् ।

ठूला–ठूला मेसीनेरी प्रयोग गरेर माटो खन्ने, फलाम ठोक्ने, गाड्नेजस्ता काम निरन्तर भइरहँदा निर्माण क्षेत्र वरपरका घर थर्केर चर्कन थालेको, आवाजले घरपरिसरमा बस्नै सक्ने अवस्था नरहेको भन्दै पिडीत छिमेकीले प्रहरीलाई गुहारे । त्यहाँबाट रात्री समयमा काम नगर्न चेतावनी दिइएपनि उक्त आदेशको पूर्णरुपमा पालना भएको छैन । ठूलाठूला मेसीनेरी र जेनेरेटर आफ्नै घरकम्पाउण्डसँग जोडेर राख्दा मोवाइल-टेलीफोनमा कुरा गर्ने वातावरण नरहेको, टेलीभिजन, रेडीयो सुन्न नसकिएको, झ्याल खोलेर बाहिरको ताजा हावा लिने वातावरण पूरै बिग्रेको गुनासो छिमेकीको छ ।

‘एकातिर धुलोधुँवा अर्काेतिर चर्काे आवाज !’ पिडीत छिमेकीले भने, ‘एक्कैछिन बस्न सक्ने अवस्था छैन, घर नै छाडेर हिँड्ने कुरा पनि आएन !’ हेभी मेसेनेरी तथा जेनेरेटर राख्ने ठाउँ प्रशस्त हुँदाहुँदै पनि आफ्नै कम्पाउण्डसँग जोडेर राख्नुलाई गलत नियतका रुपमा बुझेका छन् पिडीत छिमेकीले । पटक–पटक गुनासो गर्दा ‘हुन्छ, सारीदिन्छौं’ भन्ने तर, व्यवहारमा कार्यान्वयन नहुँदा उनीहरु पिडीत भएका हुन् ।
पिडीत छिमेकी आजित भएपछि महानगरपालीकामा उजुरी गर्न पुगे । त्यहाँ पनि त्यस्ता मेसेनरी सार्न सहमती जनाएको जगदम्बा ग्रुपका प्रतिनिधिले अर्काे तारेखमा जाँदा पनि त्यहीँ सहमती दोहो¥याए । तर, त्यस्ता मेसेनरी जहाँको तहीँ छन्, छिमेकीले डिस्टर्व सहनै परिरहेको छ । महानगरपालीकाले जगदम्बा गु्रपले आउँदो आइतबारसम्म ठूला मेसेनरी हालको स्थानबाट नहटाए निर्माण कार्य नै रोकिदिने मनसाय पिडीत पक्षसमक्ष व्यक्त गरेको छ ।

‘गत आइतबार नै त्यस्ता मेसेनेरी सार्ने सहमती गरेको जगदम्बा ग्रुपको प्रतिनिधि बुधबारको तारेखमा महानगरपालीका नै गएनन्,’ पिडीत पक्षले भन्यो, ‘सायद पावर देखाउन खोजेको होला । जोरी खोज्ने गोरुले सिंग भाँचिएपछि मात्रै चाल पाउँछ, त्यस्तै खोजेको होला ।’
जनताको जिउधनको रक्षा गर्ने दायित्व प्राप्त प्रहरीले दिनरात ठूलो आवाज आउने र भुँईनै थर्कने गरी ठूलाठूला मेशीनेरी प्रयोग गर्दा समेत आवश्यक चासो नदिँदा स्थानीय पिडीत प्रहरीप्रति दुःखी मात्रै छैनन्, आश्चर्यमा समेत परेका छन् ।

‘धुलो–धुँवा र चर्काे आवाजले स्वास्थ्यमा असर पारीसक्यो, आफ्नो घरपर्खाल कुन दिन लड्ने हो ? थाहा छैन,’ निर्माणाधिन भवनका छिमेकी होटल क्राउन प्लाजाका सञ्चालकको गुनासो छ, ‘वर्षाैंदेखि गर्दै आएको व्यवसाय नै धरापमा पर्ने भो !’ ‘तिनतलाको अण्डरग्राउण्ड बेसमेन्टले पानीको स्रोत (इनार, बोरिङ) सुकाउने चिन्ता एकातिर छ, भवन नै थर्केर गेष्टहरु बस्नै डराउन थाले,’ क्राउन प्लाजाका सञ्चालकले गुनासो गरे, ‘पछाडीपट्टी त पाहुना राख्नै छाड्यौं, अगाडी पनि बस्न मान्दैनन् ।’

नक्सालमा वर्षाैदेखि विदेशी पर्यटकलाई लक्ष्यित गरी स्तरीय सेवा दिँदै आएको क्राउन प्लाजा होटलमा ३३ कोठा पाहुनाका लागि छुट्याइएको छ । जसमा आधा कोठा निर्माण कार्यतिर पर्ने हुँदा ती कोठा पाहुनाका लागि बुक गर्नै छाडेको सञ्चालकले जानकारी दिए । ‘यस्तो अवस्था कहिलेसम्म रहने हो ?’ उनले भने, ‘वर्षाैदेखि गर्दै आएको होटल व्यवसाय नै धरापमा पर्छ कि जस्तो भो !’

‘ठूला माछाले साना माछा खान्छ भन्थे’, उनको गुनासो छ, ‘पाँचतारे होटल बन्दै गर्दा हाम्रो सानो होटलको भविष्य खतरामा पर्ने भो !’ विदेशी पर्यटकलाई लक्ष्यित गरेर सञ्चालनमा ल्याइएको होटल अहिलेको डिष्टर्वेन्सले गर्दा वर्षाैसम्म असर परिराख्ने उनको गुनासो छ । ‘निर्माण कार्य नगर भन्न खोजीएको होइन, अरुको व्यवसायलाई असर नपुगोस् भन्ने तर्फ त ध्यान दिनु पर्छ नि !’ उनले गुनासो गरे, ‘दुई चार दिन मात्र हो भन्छ, यस्ता दुई चार दिन त के महिनौं बितिसक्यो तर डिस्टर्व जारी छ ।’

एउटा कोठाको कम्तीमा पाँच हजार पर्ने सत्र कोठा निर्माणाधिन क्षेत्रतिर छ । पछाडीको भागमा बुक गर्नै छाड्दा र अगाडीका कोठामा पनि कुनै पाहुना बस्न नमान्दा क्राउन प्लाजा होटलको अहिले दैनिक एक लाखको हाराहारीमा नोक्सान परिरहेको छ । ‘खर्च सबै उही हो, आम्दानीको बाटो रोकिएपछि कसरी धान्ने ?’ उनको प्रश्न छ, ‘यस्तो अवस्था कहिलेसम्म बेहोर्नु पर्ने हो ?’

‘अब पिडीत सबै एकजुट हुनुको विकल्प छैन,’ उनले भने, ‘यदी त्यो अवस्था आयो भने निर्माण कार्य माथि नै अवरोध पुग्न सक्छ । तसर्थ, सम्वन्धित पक्षले बेलैमा सोचोस्,’ क्राउन प्लाजाका सञ्चालकको आक्रोसपूर्ण चुनौति छ । दिउँसोमा समय मिलाएर काम गर्दा आफ्नो व्यवसायमा खासै असर नपर्ने बताउँदै उनले भने, ‘व्यवसायमै असर पर्ने भएपछि त बेलैमा कस्तो कदम चाल्ने भन्ने सोच्नै प¥यो नि !’

आफ्नै छिमेकीलाई पिडीत तुल्याएर दादागिरी देखाउने विवादास्पद उद्यमी शंकर गोल्यान परिवार तथा उसकै सहयोगी सुशील श्रेष्ठ लगायतले कसको आडमा यसरी जंगली व्यवहार प्रदर्शन गरिरहेका हुन्, यो खोजीकै विषय बनेको छ । खासगरी जगदम्बा ग्रुपका तर्फबाट उपाध्यक्ष सुशील श्रेष्ठ, ठेकेदार कम्पनीका धिरेन्द्र मिश्रलगायतको अमानविय स्वभावकै कारण स्थानीयवासी पिडीत बन्न पुगेका हुन् । छिमेकीहरु एकजुट बनेर अगाढी बढ्न थालेपछि ढिलोचाडो यीनीहरु साइजमा आउने निश्चित छ ।

समाचार स्रोतका अनुसार विवादास्पद उद्यमी शंकर गोल्यानको लगानीमा निर्माण गर्न लागिएको जगदम्बा हस्पीटालीटीको उक्त होटल अन्तर्राष्ट्रिय चेन होटल हिल्टनको ‘डबल ट्री’सँग आवद्ध रहने बताइएको छ । पाँच तारे होटलको मापदण्ड पूरा नभए पनि पैसाकै आडबलमा उक्त होटलको भवन निर्माणकार्य धमाधम अगाडी बढाइँदैछ । पाँचतारे होटलका लागि आवश्यक जग्गा नपुगेपछि केही व्यक्तिको जग्गा लिजमा लिइएको छ ।

प्रकाशित मिति: Jun 30, 2016

प्रतिक्रिया दिनुहोस्