Logo
१२ बैशाख २०८१, बुधबार
(June 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा रहेका मधेशीहरुद्धारा सहिद परिवारलाई सहयोग गर्न खुत्रुके अभियान

Khutruke

काठमान्डौ । नयाँ दिल्लीमा रहेका मधेशीहरुको छाता संगठन युनाईटड मधेशीले मधेश आन्दोलनका सहिद तथा घाइते परिवारलाई सहयोग गर्न खुत्रुके(गुल्लक) अभियान चलाएका छन् । उक्त अभियान अन्तरगत त्यहाँ रहेका मधेशीहरुले सहिदको नाममा आफ्नो घरमा खुत्रुके राखेर पैसा जम्मा गर्नेछ र पीडित परिवारलाई पठाउने छन् ।

खुद्राखाद्री अथवा सानो रकम बचत गर्न माटोको बैंक बनाइएको हुन्छ त्यसलाई खुत्रुके अथवा गुल्लक भनिन्छ । उक्त खुत्रुके दिल्लीमा रहेका प्रत्येक मधेशीको परिवारलाई राख्न अनुरोध गरिएको छ । खुत्रुके भरेपछि मधेश आन्दोलनका सहिद अथवा घाइते परिवारलाई युनाईटेड मधेशी मार्फत पठाइने छ । र, नयाँ खुत्रुके पुनः सुरु गरिनेछ ।

मधेशका सहिद तथा घाइते परिवारप्रति सम्मान व्यक्त गर्न तथा आर्थिक समस्यालाई न्यून गर्न यो अभियान चलाइएको युनाईटेड मधेशीका प्रविन कर्णले बताए । यसबाट सहिद अथवा घाइतेहरुको योगदानको कदर गरिएको मानिनेछ भने आर्थिक समस्याबाट जुधिरहेका परिवारलाई थोरै भएपनि सहयोग हुने कर्णले जनाए ।

यस अभियानमा जोकोही पनि जोडिन सकिने उनले बताए । निरन्तर घर घरबाट आउने खुत्रुके समग्र रुपमा ठूलो हुनेछ र यस अभियानमार्फत सम्पूर्ण मधेशीलाई मधेश अभियानसंग जोड्न सकिने कर्णको भनाइ रहेको छ । मधेश अथवा अन्य ठाउँमा रहेका व्यक्तिहरुलाई पनि यस अभियानमा सरिक हुन आग्रह गरिएको छ ।

प्रकाशित मिति: Jun 30, 2016

प्रतिक्रिया दिनुहोस्