सिंगापुर एयरलाइन्सको विमानमा अवतरण गर्ने क्रममा आगलागी
चियाङ्गी । प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गर्नुपरेको सिंगापुर एयरलाइन्सको विमानमा आगलागी भएको छ । एसक्यु३६८ कल साइन भएको विमान सिंगारपुरको छांगी विमानस्थलबाट इटालीको मिलानतर्फ उडान भर्ने क्रममा इन्जिन आयलमा समस्या देखिएपछि फर्किएर छांगी विमानस्थलमा नै फर्कनुपरेको थियो ।
त्यतिबेला विमान उडेको २ घण्टा भइसकेको थियो । अवतरण गर्ने क्रममा विमानमा आगलागी भएको थियो । ‘अवतरणपछि विमानको दाहिने पट्टीको इन्जिनमा विहान ६ बजेर ५० मिनेट जाँदा आगलागी भएको छ,’ सिंगापुर एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अवतरणपछि बोइङ ७७७०–३०० इआर विमानको आगो निभाइएको थियो । विमानमा सवार २२२ यात्रु र १९ विमान कर्मचारी सुरक्षित रहेका छन् ।
विमानका यात्रु मध्ये एक ४३ वर्षीय लि बि यीले विमानमा पेट्रोलियम पदार्थ गनाएको बताइन् । ‘त्यसपछि पाइलटले विमानबाट इन्धन चुहिएको र मिलान जान नसकिने भन्दै छांगी विमानस्थल फर्कन लागेको जानकारी दिए,’ उनले भनिन् ।