Logo
१३ बैशाख २०८१, बिहीबार
(June 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेथिती : सडक मिचेर पेट्रोल पम्प,निजी स्वार्थ पूरा गर्न सडक क्षेत्र अतिक्रमण

kkkk

भरतपुर । सार्वजनिक सडक क्षेत्र मिच्नु अवैध हो । तर, जानीबुझी पनि केही मानिसहरु निजी स्वार्थ पूरा गर्न सडक क्षेत्र अतिक्रमण गरिरहेका छन् । विवाह भोज, धार्मिक अनुष्ठान, खुद्रा व्यापार व्यवसाय, गाईवस्तु छाड्ने ठाउँ, घरभवन बनाउनका लागि कच्चा पदार्थ राख्ने ठाउँका रुपमा सडकको दुरुपयोग हुँदै आएको छ ।

यसरी सडक मिच्नेमा भरतपुर र नारायणगढ क्षेत्रका पेट्रोल पम्पहरु छन् । बर्षौ देखि सडक मिचेर निजी धन्दा चलाइरहेका छन् । कतिपय पेट्रोल पम्पले सडक क्षेत्र मिचेर पम्प सञ्चालन गरेको पाइएको छ । सडक क्षेत्रको बीचभागबाट २५ मिटर पर सञ्चालन गर्नुपर्छ । तर २५ मिटरभित्रै पम्पहरु सञ्चालनमा छन् ।

द ब्रदर्श र अवतार इन्टरप्राइजेजले सडक क्षेत्र मिचेर पम्प सञ्चालन गरेको चितवन ट्राफिक प्रहरी प्रमुख प्रनि राजन भेटवालले बताए । ७ दिनभित्रमा स्थानान्तरणका लागि निर्देशन दिइएको उनले बताए । आदेश कार्यान्वयन भएनभएको बारे सडक डिभिजन भरतपुर र ट्राफिक प्रहरीले संयुक्त अनुगमन गर्ने भएको छ । अन्य पेट्रोल पम्पको पनि अनुगमन गरिने उनले बताए ।

पेट्रोल पम्प सञ्चालन सम्बन्धमा तोकिएको मापदण्डअनुसार भौतिक संरचना तथा पूर्वाधारहरु निर्माण गर्नका लागि ६ महिनाको समय दिइएको छ । पम्पहरुले २५ मिटर सडक क्षेत्र छाडेर आफ्नो तर्फको पनि थप २ मिटर छाडी पम्प सञ्चालन गर्नुपर्ने ट्राफिक प्रहरी निरीक्षक भेटवालले बताए । तेल भर्नका लागि गाडी पार्किङ क्षेत्रसमेत आफ्नै हुनुपर्ने उनले बताए । केही पेट्रोल पम्पले भने मापदण्ड पूरा गरेको उनको भनाइ छ ।

सडक क्षेत्र अतिक्रमण हटाउने दायित्व सडक विभागको हो । तर यस निकाय मौन छ । सडक क्षेत्र कहाँ र कति अतिक्रमण भएको छ भन्ने लेखाजोखा यस कार्यालयसँग छैन । ट्राफिकले यातायात व्यवस्था सहज बनाउन सडक क्षेत्र व्यवस्थित गर्न काम थालेको छ । अस्पताल रोडमा अहिले नयाँ भवन बन्ने क्रममा छ । तर, उक्त भवनका मालिकले सडक क्षेत्रमै गिटी, बालुवालगायतका कच्चा पदार्थ थुपार्दा गाडी आवागमन प्रभावित बनेको छ ।

थोरै जमिन लिएर घरभवन बनाउनेहरुका लागि सडक कब्जा गर्नु बाध्यता नै बनेको छ । ट्राफिक प्रहरीले केही महिना अघि चौबिसकोठीमा रहेको खुला व्यवसाय हटाएपछि त्यहाँको यातायात व्यवस्थापन निकै सहज भएको छ । ‘सडक क्षेत्र खाली गर्ने हाम्रो अभियान नै छ, निरीक्षक भेटवालले भने,‘चेतावनी दिँदा पनि अटेर गरेमा बल प्रयोग गरिन्छ ।’

त्यस्तै, असार १० गतेबाट जिरो प्वाइन्ट बनाएर भरतपुर केन्द्रीय बसपार्क सञ्चालनमा ल्याउने भनिए पनि उद्योग वाणिज्य संघ चितवनको आग्रहमा १ हप्ताका लागि समय थपिएको छ । दिपेन्द्र अधिकारी / चितवन पोष्ट

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्