Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीको फेरी नेपाल भ्रमणबारे प्रम ओली र राजदुत रायबिच गोप्य मिटिङ्ग

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतीय राजदूत रणजित राय र केही उच्च अधिकारीलाई आमन्त्रित गरी राजधानीस्थित द्वारिकाज होटलमा आइतबार साँझ रात्रिभोज सहितको गोप्य भलाकुसारी भएको छ ।

समाचार श्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जेठ पहिलो साता नेपाल भ्रमण गर्न सक्ने संकेत पाएपछि सरकारले पहल थालेको हो । होटल द्धारिकाजको बैठकमा पनि मोदी भ्रमण र मधेश आन्दोलनबारे खास कुराकानी भएको बताइएको छ । यद्यपि मोदीको भ्रमण हुने या नहुने भन्ने विषयमा अझै अन्तिम टुंगो लागिसकेको छैन ।

स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदीले बुद्ध जयन्तीका अवसरमा जेठ ८ गते लुम्बिनीमा हुने विश्व बौद्ध सम्मेलनमा सहभागी हुन आउने चाहना राखेका छन् । उनको त्यही चाहनाअनुरूप भ्रमणको सम्भावनाबारे छलफलका लागि प्रधानमन्त्री ओलीले राजदूत रायसँग छलफल गरेका हुन् ।

मोदीले निकट भविष्यमा नेपाल भ्रमण गर्नेबारे भारतीय दैनिक पत्रिका टेलिग्राफले दुई दिनअघि समाचार लेखेको थियो । उनीसँगै बिहारका मुख्यमन्त्री नितीश कुमार पनि बौद्ध सम्मेलनमा भाग लिन नेपाल आउने सम्भावना रहेको टेलिग्राफमा उल्लेख थियो ।

यसअघि २०७१ मंसिरमा आयोजना भएको १८औं सार्क शिखर सम्मेलनका बेला नै मोदीले लुम्बिनी र जनकपुर भ्रमण गर्न खोजेका थिए । तर, त्यो समयमा सुरक्षा र अन्य कारण देखाएर दुवै स्थानका भ्रमण कार्यक्रम अन्तिम अवस्थामा रद्द गरिएका थिए ।

त्यही अधुरो चाहना पूरा गर्ने र नेपालसँग बिग्रिएको सम्बन्ध सुधार्ने उद्देश्यबाट मोदीले लुम्बिनीमा हुन लागेको बौद्ध सम्मेलनलाई रोजेको भारतस्थित नेपाली दूतावासका अधिकारीहरूले सुनाए ।

प्रधानमन्त्री ओलीले भारतीय राजदूतसँग यही विषयमा छलफल गरेको स्रोतको दाबी छ । भारतीय दूतावासले प्रधानमन्त्री ओलीद्वारा आयोजित रात्रिभोजमा राजदूतलगायतका अधिकारी गएको पुष्टि गरे पनि विस्तृत जानकारी दिएको छैन । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल भेटघाटमा रहे पनि आइतबार राति उनले कुनै जानकारी दिन चाहेनन् ।

यसैबीच प्रधानमन्त्री ओलीले नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका नायब महासचिव जान इलिनेएसन र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिससँग आइतबार छुट्टाछुट्टै छलफल गरेका छन् । उनीहरूसँगको भेटमा भूकम्पपछिको पुनर्निर्माण र नेपालको राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो ।

प्रकाशित मिति: May 2, 2016

प्रतिक्रिया दिनुहोस्