Logo
१२ बैशाख २०८१, बुधबार
(May 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘पहिला मलाई र देउवालाई कारवाही होस,अन्य नेता-कार्यकर्तालाई नतर्साइयोस: प्रचण्ड


काठमाडौं । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई जेल हाल्न अदालतलाई चुनौती दिएका छन् । तत्कालीन १० वर्षे युद्धको सर्वोच्च कमाण्डर भएकोले युद्धको सम्पूर्ण जिम्मेवारी आफूले लिने भन्दै उनले जेल हाल्न चुनौती दिएका हुन् ।
जनयुद्धकालिन मुद्दा व्युत्ताइउने हो भने पहिले शेरबहादुर देउवा र आफूलाई कारवाही हुनुपर्ने बताए । “जनयुद्धकालीन मुद्दा व्युत्याइन्छ भने पहिला मलाई र शेरबहादुर देउवालाई जेल हालियोस् ,” दाहालले भने, “नेपालमा युद्ध मात्रै होइन, राजनीतिक क्रान्ति नै भएको हो ।” 
त्यसबेला पार्टीको नेतृत्व आफूले गरेको बताउँदै उनले सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताए । आफूलाई पक्राउ गरेर देखाउन चुनौतिसमेत दिए । युद्धकालीन मुद्दामा धमाधम नेता तथा कार्यकर्तामाथि मुद्दा चल्न थालेपछि पाँच माओवादीहरूले गरेको बृहत शान्ति सम्झौता विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले भने, “म माथि ३७ वटा, बाबुराममाथि १७ वटा र बादलमाथि ४ वटा मुद्दा अदालतमा अहिले पनि छन् ।”
उनले गृहमन्त्रीलाई भनेर सबै फाइलहरु पनि आफैले हेरेको बताए । तत्कालीन युद्धको हिस्सेदारी रहनेहरूले शान्ति सम्झौतालाई टुङग्याउनु सकारात्मक रहे पनि मानवअधिकारवादीहरू शान्ति सम्झौतालाई जसरी पनि भङ्ग गर्न लागिपरेको दाहालको आरोप छ । 
दाहालले भने, “केही मानव अधिकारवादीहरु प्रचण्डलाई १ दिनलाई भए पनि जेल हाल्नुपर्छ भन्दै हिँडेका छन्, शान्ति प्रक्रिया भाँडेर तिनीहरूलाई के फाइदा हुन्छ रु” विश्वमा सर्वमान्य संक्रमणकालीन न्यायको विकास नभएको उल्लेख गर्दै उनले नेपालमा आफ्नै मौलिक ढंगले शान्ति प्रक्रिया टुङ्ग्याउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले न्याय प्रणालीले राजनीतिक परिवर्तनलाई आत्मसात गर्न नसकेको आरोप लगाए । वैद्यले भने, “माओवादीले ल्याएको गणतन्त्र मान्ने, धर्मनिरपेक्षता मान्ने, संविधान स्वीकार्ने तर शान्ति सम्झौतालाई संविधान सम्मत नभएको भन्ने, यो कस्तो क्रान्ति हो र ?”
वैद्यले राजनीतिक सहमति गरेर सशस्त्र युद्धका सम्पूर्ण मुद्दालाई टुङ्ग्याउनुपर्ने बताए । उनले भने “सम्पूर्ण दलहरु मिलेर नयाँ खालको राजनीतिक सहमति खोजिनु पर्दछ ।” यसैगरी उनले माओवादीलाई कानुनी डण्डा लगाएर ठिक पार्छु भन्ने भ्रम नपाल्न चेतावनी दिए । 
उनले भने, “माआवादीलाई कानुनको डण्डा लगाएर ठिक पार्छु भन्ने छ भने माओवादी जाग्छ र उनीहरुलाई ठीक पार्छ ।”

प्रकाशित मिति: May 13, 2016

प्रतिक्रिया दिनुहोस्