Logo
१५ चैत्र २०८०, बिहीबार
(May 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यूज अप्रेशन डेप्थ : पढनुस् मधेशी-जनजाती आन्दोलनको आइतबारको डायरी

न्यूज अप्रेशन, काठमाण्डौ । मधेशी–जनजाती केन्द्रित बिभिन्न राजनीतिक दलहरु आवद्ध संघीय गठवन्धनले आइतबार दिनभरी प्रमुख सरकारी मुख्यालय सिंहदरबार घेराउ गरेको छ । स्थानिय प्रशासनले लगाएको केहि निषेधित क्षेत्रलाई तोडेर गठवन्धनका नेता तथा÷कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका थिए । 
सिंहदरवारको दक्षिणी गेट घेराउ गर्ने जिम्मेवारी लिएका राजेन्द्र महतोले हनुमानथान स्थित भाटभटेनी अगाडिबाट सुरक्षा घेरा तोडदै धर्ना बसेका थिए भने महतो नेतृत्वको समुहले पुलमा लगाइएको निशेधित क्षेत्रलाई तोडदै हनुमानस्थानमा गई धर्ना दिन सफल भएका थिए । सो धर्नामा शरदसिंह भण्डारी, राजकिसोर यादव, लक्ष्मणलाल कर्ण, महेन्द्रराय यादव लगायतका नेताहरु सहभागी रहेका थिए भने उनीहरुले सरकार विरुद्ध चार्का नारावाजी गरेका थिए । धर्नामा बसेकाहरु पर्दशनकारहिरुले मान्छे मार्न पाइदैन, ओली सरकार चाहिँदैन, मधेस विरोधि नेताहरु होसियार, प्रतिगामी संविधान खारेज गर जस्ता नारा लगाइएका थिए । धर्नाकारीलाई अगाडि जानबाट रोक्न दर्जनौं प्रहरीहरु तारबारसहित घेरेर बसेका थिए । 
उता, माइतीघरमा अर्को ठूलो समुहको नेतृत्व सघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए । उक्त समुहले पनि प्रहरीको सुरक्षा घेरा तोडी सिंहदरवार तिर आउने बाटो मुखमै धर्ना बसेका थिए भने त्यहाँ पनि सयौको संख्यामा तारबार सहित प्रहरी तैनाथ भएका थिए ।  संविधान जारि भएदेखिनै आन्दोलन गरिरहेका मधेश केन्द्रीत दलले अहिले आएर जनजाति राजनितिक दलहरुसंग मिलेर आज २ जेष्ठमा सिंह दरबार घेराउ कार्यक्रम गरेको हो । आइतबार केही ठाउँमा झडप र एउटा सरकारी गाडी तोडफोड बाहेक कुनै अप्रिय घटना घटेको छैन । माओवादी नेता मातृका यादवको पनि आन्दोलनमा उपस्थिीति देखिउको थियो । 
१७ दल माइतीघरमा, १२ दल हनुमानथानमा 
गठबन्धनमा आबद्ध दलहरुले सिंहदरबारका विभिन्न नाकाहरुमा जम्मा भएका थिए । त्यसमध्ये १७ दल माइतीघरमा, १२ दल हनुमानथानमा प्रर्दशन गरेका थिए । सम्भावित दुर्घटनालाई रोक्न प्रहरीको ठूलो उपस्थिति रहेको थियो भने करिब ३ हजारको संख्यामा प्रहरी परिचालन गरिएको बताइएको छ । 
गठबन्धनका नेताकार्यकर्ता नागढुंगामा रोकियो
संघीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रममा सहभागि हुन काठमाडौं आएका मधेस गठबन्धनमा आबद्व विभिन्न पार्टीका कार्यकर्तालाई नागढुंगामा प्रहरीले रोकेको थिए । काठमाडौं छिर्ने मुख्य नाकामा कडाईका साथ प्रहरीले चेकिङ गरेका थिए । गठबन्धनले सिंहदरबार घेराउ गर्ने भनेपछि नागढुंगामा प्रहरीले कडाईका साथ चेकिङ थालेपछि विभिन्न जिल्लाबाट आएका नेतारकार्यकर्ताहरु नागढुंगामा अलपत्र परेका थिए भने ढिलो गरी आइतबार दिउसो मात्र उनीहरु कार्यक्रमस्थल आइपुगेका थिए । तराई मधेस लोकतान्त्रिक पार्टीका महासचिव जितेन्द्र सोनलले नेताकार्यकर्तालाई रोकिएको बताए । ‘हामी यहाँ अलपत्र परेका छौं, उनले भने प्रहरीले छिर्न दिएको छैन् ।’ 
दिनभर यातायात अस्तव्यस्त 
नयाँ संविधान जारी भएपछि असन्तुष्ट रहेका सङ्घीय गठबन्धनमा आवद्ध दलहरुले आइतबार सिंहदरबार घेराउ गरेपछि राजधानीको यातायात दिनभर अस्तव्यस्त बनेको थियो । बिहान नौ बजेदेखि सिंहदरबारको हनुमानथान र माइतीघर मण्डलामा २९ दलीय सङ्घीय गठबन्धनमा आबद्ध दलका नेता कार्यकर्ताले धर्ना दिएका थिए । सिंहदरबार वरपर निषेधित क्षेत्र घोषणा गरी बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी आन्दोलनकारीलाई अघि बढ्न नदिने गरी तयारी अवस्थामा तैनाथ थिए । आन्दोलनकारीले झण्डासहित नारा लगाई माग पूरा हुनुपर्ने माग गरेका थिए । घेराउले सो क्षेत्रमा भएको यातायात अवरुद्धका कारण यात्रु पैदलै गन्तव्यमा जानेगरेका थिए । 
दुई एसपीको कमाण्डमा २६ सय प्रहरी 
गठबन्धनले माईतिघर र हनुनमानस्थान नजिकै रहेको भाटभटेनी सुपरमार्केट अगाडी बसेर धर्ना दिईरहँदा सिंहदरबार आसपास २६ सय भन्दा बढी प्रहरी फिल्डमा उत्रिएका थिए । गठनबन्धनका कार्यकर्ता र प्रहरीको संख्या करिब बराबरी रहेको देखिन्थ्यो । 
गठबन्धनले आयोजना गरेको सिंहदरबार घेराउका क्रममा अप्रिय घटना हुन नदिन जनपथ प्रहरीका एसपी प्रधुम्न कार्कि र शसस्त्र प्रहरीका एसपी कालिदास धौभजुको कमाण्डमा २६ सय भन्दा बढी प्रहरी परिचालन गरिएको थियो । शसस्त्र प्रहरीका डिआईजी दिवाकर केसीले फिल्डमा रहेका कमाण्डरसँग समन्वय गर्नेगरी पाँच सय ५६ जना शशस्त्र प्रहरी फिल्डमा पठाईएको शसस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र खनालले जानकारी दिए । खनालका अनुसार शसस्त्रले पाँच सय भन्दा बढी प्रहरी रिजर्व राखेको थियो । जनपथ प्रहरीले महानगरीय प्रहरी परिसरका एसएसपी विक्रम सिंह थापाले समन्वय गर्नेगरी एसपी प्रधुम्न कार्किको कमाण्डमा दुई हजार भन्दा धेरै प्रहरी फिल्डमा खटाएको थियो । 
सिंहदरबार सुनसान 
सिंहदरबार घेर्ने कार्यक्रमका कारण काठमाण्डौमा कामका लागि आवतजावत गर्ने सर्बसाधारणले ठूलो सास्ती भोग्नु परेको छ । टाढा टाढाबाट सिंहदरबारमा कामका लागि आएका सर्वसाधारण सहजै भित्र पस्न पाएनन् भने माईतिघर, पुतलीसडक तथा हनुमानथानको बाटो भएर आवतजावत गर्ने सवारीसाधन ति सडमा प्रवेश गर्न नपाउँदा सयौँ सर्वसाधारण हिँडेर आवत जावत गर्न बाध्य भए ।
प्रहरीले थापाथली, विजुलीबजार, पुतलीसडकबाट सवारीसाधन भित्र पस्न दिनभर दिएन । जसले गर्दा ति सडकहुँदै विभीन्न ठाउँमा पुग्ने सर्वसाधरणले सास्ती भएको गुनासो गरेका छन् । सिंहदरबारभित्र पर्ने नाकाहरु घेराउ गरको कारण आइतबार सिंहदरबार भित्र छिर्ने सर्वसाधारणहरुको संख्यामा पनि उल्लेख्य कमि आएको सुरक्षाका लागि खटीएका एक प्रहरी अधिकारीले बताए । ‘गाडीबाट आउनेहरु त आएकै छैनन् भन्दा हुन्छ, पास लिएर पैदल जानेहरु पनि सामान्य मात्र छन,’ ति अधिकारीले भने ।
आफ्नै सवारीसाधन लिएर आएकाहरु विचबाटोबाटै फर्किन बाध्य भए भने सार्वजनिक सवारीमा आउनेहरु टाढा टाढा ओर्लिएर पैदलै हिँड्दा दिउँसो १२÷१ बजेसम्म कार्यालय जाँदै गरको देखिन्थे ।‘कार्यालयमा विद्युतिय हाजिरी छ, पाँचमिनेट ढिला भयो भने हाजिर नै हुँदैन’ ललितपुर ईमाडोल विनायकबस्ती घर बताउने विष्णु प्रसाद घिमिरेले आक्रोशित हुँदै भने ‘समयमा पुग्नका लागि यो हालत छ, न हाजिर हुने, न विदामा बस्ने अवस्था आयो ।’ 
आन्दोलनप्रति बाबुरामको ऐक्यबद्धता 
मधेसी र जनजाती दलहरु मिलेर बनेको संघीय गठबन्धनले सिंहदरबार घेराउ गरिरहँदा बाबुराम भट्टराईले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । भट्टराईले आइतबार बिहानै एक विज्ञप्ती जारी गर्दै आन्दोलनरत समुदायका माग सम्बोधन गरी संविधानलाई सर्वस्वीकार्य बनाउनुको विकल्प नभएको बताएका छन् । विज्ञप्तीमा मधेसी जनजाती समुदायले उठाएका मागहरु जायज भएको भन्दै तत्काल सुनुवाई गर्न सरकारसँग भट्टराईले आग्रह गरेका छन् । 
विज्ञप्तीमा संविधान जारी भएको लामो समय बितिसक्दा पनि उत्पीडित जनताले संविधानलाई आत्मसाथ गर्न नसक्नु तथा सहज ढंगले संविधान कार्यान्वयन हुन नसक्नु दुखद भएको पनि उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘संविधान जारी भएर यतिका समय हुँदा पनि उत्पीडित जनताले संविधानलाई आत्मसात गर्न नसक्नु साथै सहज ढंगले संविधान कार्यान्वयन हुन नसक्नु धेरै दुःखपूर्ण छ । मुलुकलाई लामो समय यस्तो अवस्थामा राख्नु गम्भीर कुरा हो । त्यसैले संविधानलाई बनाउनुको विकल्प छैन ।’ 
सोमबार पनि निरन्तरता 
यसैबीच, आदिवासी जनजाति तथा मधेसी दलहरुको संयुक्त मोर्चा संघीय गठबन्धनले सिंहदरवार घेराउको कार्यक्रमलाई सोमबार पनि निरन्तरता दिने निर्णय गरेका छन् । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी तीनकुनेमा आइतबार साँझ बसेको बैठकले सिंहदरबार घेराऊ कार्यक्रमलाई जारी राख्ने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले जानकारी दिए । आइतबारदेखि सुरु भएको सिंहदरबार घेराउ कार्यक्रम सोमबार र मंगलबार यथावत रहने भएको छ । 
त्यसपछि सिंहदरबार घेराउ कार्यक्रमलाई निरन्तर राख्ने वा स्वरुप परिवर्तन गर्नेबारे सोमबार बस्ने गठबन्धनको बैठकले निर्णय गर्ने यादवले बताए । सिंहदरबार घेराउको पहिलो दिन शान्तिपूर्ण र जनताको व्यापक सहभागितामा सफल भएको गठबन्धनले समीक्षा गरेको छ ।

प्रकाशित मिति: May 15, 2016

प्रतिक्रिया दिनुहोस्