Logo
४ बैशाख २०८१, मंगलबार
(May 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुधनीदेवीलाई मरणासन्न हुने गरी कुटपिट गर्ने तीन पक्राउ



महोत्तरी ।  एनेकपा माओवादीकी पूर्वसभासद् बुधनीदेवी महतोलाई मरणासन्न हुने गरी मारपिट गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 
इलाका प्रहरी कार्यालय गौशालाले सो घटनामा संलग्न भएको भन्दै लक्ष्मिनियाँ–८ का ३४ वर्षीया नथुनी यादव, २९ वर्षीय नरेश यादव र ४६ वर्षीय रामईश्वर यादवलाई मङ्गलबार दिउँसो घरबाट पक्राउ गरेको हो । फरार रहेका उनीहरुलाई प्रहरीले घरबाटै पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए । पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीका लागि जलेश्वर पठाइएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिए ।
उनीहरुले सोमबार राति महतोको घरमा प्रवेश गरी घरेलु हतियार प्रयोग गरी मरणासन्न हुने गरी कुटपिट गरेका थिए । गम्भीर घाइते भएकी पूर्वसभासद् महतोको अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गाँउका दुई समूहबीच लामो समयदेखि चल्दै आएको एक विवाद समाधान गर्ने क्रममा महतोको भूमिकाप्रति असन्तुष्ट रहेको उक्त समूहले मारपिट गरेको स्थानीयवासीले बताएका छन् ।
समयमै इलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी कान्तिबजारबाट गएको गस्ती घटनास्थलमा पुगेकाले उनीहरु फरार भएका थिए । पहिलो संविधानसभाको निर्वाचनमा महतो एमाओवादी महोत्तरी क्षेत्र नं ६ का तर्फबाट समानुपातिकतर्फबाट सभासद्मा चुनिएका थिए । हाल महतो वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओेवादीको केन्द्रीय सदस्य छन् ।
पत्रकार धैर्यकान्त दतका अनुसार महोत्तरी लक्ष्मिनिया – ८ स्थित आफ्नो घरमा बसिरहेका बेला मगलवार राति करिब साढे १० बजे ८ – १० जनाको समूहमा आएका स्थानीय व्यक्तिहरुले कुटपिट गरेका छन् । कुटपिटबाट गंभीर घाइते भएकी महतोको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । 
कुटपिटबाट घाइते भएकी पूर्व सभासदलाई राती २ बजे उपचारको लागि जनकपुर ल्याइएको हो । उनी हिँडडुल गर्ने अवस्थामा नरहेको तथा चोटपटकले मुहार लगायत शरीरका विभिन्न भाग सुन्निएको उचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । 

प्रकाशित मिति: May 18, 2016

प्रतिक्रिया दिनुहोस्