३७८ मध्ये २ भारतीय सगरमाथामै वेपत्ता !
काठमाडौँ । सगरमाथा आरोहण प्रारम्भ भएको १२ औँ दिन २५ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आज २५ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेको र कुन देशका कति आरोही चुचुरोमा पुगे भन्नेबारे यकिन विवरण आइनसकेको पर्यटन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले जानकारी दिए।
राससका अनुसार यसअघि शनिबार ५० भन्दा बढी स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए। यससहित वसन्तऋतुको यो मौसममा आजसम्म ३७८ स्वदेशी तथा विदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् ।
उनका अनुसार सगरमाथा आरोहण गर्ने क्रममा शनिबार दिउँसो भारतका चार जना आरोही सम्पर्कविहीन भएको र तीमध्ये दुईजना सम्पर्कमा आएका छन्। बुझिएअनुसार भारतको कोलकाता प्रहरीका प्रहरी निरीक्षक गौतम घोष र अर्का परेशचन्द्र नाथ अझै सम्पर्कविहीन रहेका छन्। वसन्तऋतुको यस मौसममा गत वैशाख २९ गतेदेखि आरोहण सुरु भएको थियो।