Logo
११ बैशाख २०८१, मंगलबार
(May 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ, १५ वर्षमै आमा बन्नेहरुको काहानी

रत्ननगर । चितवनको पहाडी गाविस सिद्धि–७ देउजरकी ममाया चेपाङले एक हप्ता अघिमात्र छोरा जन्माइन् । गाउँकै चिनेजानेको केटासँग आफू खुसी विहे गरेकी ममायाले १५ वर्षको कलिलै उमेरमा सन्तानकी आमा भइन् । ममाया चेपाङ समुदायकी एउटी प्रतिनिधि पात्रमात्र हुन् । चितवनको पहाडी गाविसमा बसोबास गर्ने चेपाङ किशोरीहरुले कलिलै उमेरमा विहे गरी आमा बन्ने गरेका धेरै छन् ।

स्कुल पढ्दापढ्दै गाउँकै केटासँग माया–प्रेम गर्ने र १४,१५ वर्षमै आफू खुसी विहे गरी आमा बन्ने प्रचलन चेपाङ समुदायमा अझै पनि कायमै छ । १५ वर्षमै अधिकांश किशोरीले सन्तान जन्माउने गरेका छन् । ‘चेपाङ किशोरीले गाउँकै केटासँग मनपराएर विहे गर्छन्’, सिद्धि स्वास्थ्य चौकीकी अनमी तारा थापाले भनिन्, ‘अनि उमेर नपुग्दै आमा बन्छन् ।’ उनले चितवनको पहाडी गाविसमा बसोबास गर्ने विपन्न चेपाङ समुदायका अधिकांश किशोरीहरुले सानै उमेरमा सन्तान जन्माउने गरेको बताइन् ।

सरकारले परिवार नियोजन, प्रजनन् स्वास्थ्य र सानै उमेरमा विवाह गर्दा हुने बेफाइदाका बारेमा बुझाउन गाउँगाउँमा महिला स्वास्थ्य स्वमंसेविका परिचालन गरेको छ । तर पनि चेपाङ समुदायमा उमेर नपुग्दै विहे गर्ने प्रचलन कायमै छ । ‘के गर्ने रु जति बुझाए पनि बुझ्दैनन्’ अनमी थापाले भनिन् । अशिक्षा र चेतनाको अभावले चेपाङ किशोरीहरुमा चेतनाको स्तर बढ्न नसकेको उनले बताइन् । ‘चेपाङ समुदायमा सुत्केरी गराउन स्वास्थ्य संस्था जाने र परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्नुपर्छ भन्ने चेतनाको विकास भयो’ अनमी थापाले भनिन, ‘तर सानै उमेरमा विवाह गर्न हुन्न र छोराछोरी जन्माउन हुँदैन भन्ने कुराको चेतना हुन सकेन ।’

सिद्धि गाविसका सचिव पदम भेटवालले चेपाङ बस्तीमा बाल विवाहको प्रथा अन्त्य गर्न अभियान सञ्चालन गरिएको भए पनि अशिक्षा र चेतनाको अभावका कारण सफल हुन नसकेको बताए । ‘गाविसले सिद्धि स्वास्थ्य चौकीमार्फत जनचेतनाको लागि महिला स्वास्थ्य स्वयम्सेविका बस्ती–बस्तीमा परिचालन गरेको छ’ उनले भने, ‘तर केही गर्दा पनि उपलव्धि हासिल गर्न सकिएको छैन ।’ सरकारले ‘बिवाहबारी २० वर्ष पारी’ भन्ने नारा अबलम्वन गरी २० वर्ष पुगेपछि मात्र छोरीको विवाह गर्न भनेको छ । 

उमेर नपुगी भएको विवाहलाई कानुनले मान्यता दिँदैन । तर, त्यो कुरा चेपाङ समुदायका किशोरकिशोरीहरुलाई थाहा छैन । २० वर्ष ननाघेका छोरीको अभिभावकले विवाह गरिदिन पाउँदैनन् । तर विपन्न चेपाङ समुदायका किशोरीहरु २० वर्ष अगाडि नै थुप्रै सन्तानकी आमा भइसक्छन् । # होमनाथ सापकोटा / चितवन पोष्ट

प्रकाशित मिति: May 25, 2016

प्रतिक्रिया दिनुहोस्