Logo
१३ बैशाख २०८१, बिहीबार
(May 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश मुद्दाबारे बहस : बढ्दो समर्थनको दृष्टिले मधेश आन्दोलन उपलब्धिमूलक


काठमाडौं । मधेशका अधिकारकर्मी र सञ्चारकर्मीहरुले मधेश मुद्दा र यसको भावी दिशाबारे आज राजधानीमा बहस गरेका छन् । नेपाल तराई विद्यार्थी नवजागरण संघ, मधेशी पत्रकार समाज र समृद्ध मधेश नागरिक अभियानद्वारा ललितपुरको पुल्चोकस्थित ईन्जिनियरिङ्ग अध्यय्न संस्थानमा आयोजित कार्यक्रममा अधिकारकर्मी दिपेन्द्र झाले मधेश मुद्दाको पक्षमा सकारात्मक अन्तर्राष्ट्रिय तथा राष्ट्रिय जनमत निर्माण र बढ्दो समर्थनको दृष्टिले मधेश आन्दोलन उपलब्धिमूलक भएको बताएका छन् ।
उनले मधेश आन्दोलनको नेतृत्व गैरराजनीतिक फाँटबाट समेत भएको भन्दै अब युवा विद्यार्थीहरुले आन्दोलनलाई सार्थक र परिणाममुखी बनाउन अघि आउनुपर्ने बताए । चर्चित गायक एवं अभियन्ता डा।आभाष लाभले मधेश आन्दोलनलाई अगाडि बढाउन अब सबल राजनीतिक नेतृत्वको खोज्नुपर्ने बताउँदै नेपालीकै रुपमा मधेशीले अधिकारप्राप्त गर्नसक्ने दाबी गरे । उनले आन्दोलनलाई कुनै शक्तिको इशारामा अघि बढाउँदा मधेशको लडाइँ कमजोर हुने बताए ।

सञ्चारक नेपाल डटकमका कन्सल्ट्यान्ट एडिटर अनिलकुमार कर्णले कानूनराज्यको अवधारणाले हत्या र हिँसालाई अस्वीकार गर्ने भन्दै मधेश आन्दोलनमा सरकारले देखाएको क्रुरतापूर्ण व्यवहारले सरकार आफैँ असफल भएको बताए । उनले समस्याको राजनीतिक समाधान नगरी दमन गर्दै जाँदा मधेशी जनता सरकारविरुद्ध थप शक्तिशाली बन्दै गएको बताए ।

मधेशबाणीका सम्पादक डा.राजेश अहिराजले मधेशमा विभेदको समस्या नभएर रङ्गभेदको समस्या रहेको बताए । कार्यक्रममा मधेशी, आदिबासीजनजाति कानून व्यवासायी संघका अध्यक्ष मनोहर साह, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिँह, युवा नेता सञ्जय यादव, नेपाल तराई ईन्जिनीयर समाजका अध्यक्ष दिलीप झा, अधिकारकर्मी रीता साह, नेपाल मधेशी निजामती कर्मचारी मञ्चका उपाध्यक्ष सुजीतकुमार झा, ईन्जिनीयर धुपेन्द्र झा, नेपाल तराई विद्यार्थी नवजागरण संघका अध्यक्ष रामरतन साहलगायतका व्यक्तिहरुले मधेश आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउँदै निरङ्कुश राज्यसत्तालाई झुकाएर माग पुरा गर्न दवाव दिनुपर्ने बताए ।

कार्यक्रममा राजधानीका विभिन्न कलेजबाट आएका ईन्जिनियरिङ्का छात्रहरुले राजनीतिक तथा संवैधानिक प्रश्नहरु गरेका थिए । ती प्रश्नहरुका उत्तर सम्बद्ध व्यक्तिहरुले दिएका थिए ।

प्रकाशित मिति: May 28, 2016

प्रतिक्रिया दिनुहोस्