Logo
१३ बैशाख २०८१, बिहीबार
(May 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गणतन्त्रको नाममा लुट मच्चाउँदै छोटे राजाहरुले देश बिगारेको टिप्पणी

काठमाडौं । सङ्घीय गठबन्धनका संयोजक समेत रहेका सङ्घीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गणतन्त्रको नाममा लुट मच्चाउँदै छोटे राजाहरुले देश बिगारेको टिप्पणी गरेका छन् । 
उनले सत्ता र शक्तिको दुरुपयोग गर्दै गणतन्त्र, सङ्घीयता र समावेशीविरुद्ध हुने कुनै पनि हर्कत आफूहरुलाई सह्य नहुने बताए । ‘हिजो राजतन्त्र छँदा देशमा एउटा राजा थियो, अहिले उसैको सिको गर्दै सरकारमा भएजति सबै छोटे राजा बनेका छन्,’– सङ्घीय गठबन्धनले शनिबार काठमाडौंको बसन्तुपरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै यादवले भने । उनले सङ्घीयता, समावेशी र गणतन्त्रविरोधी गतिविधि आफूहरुलाई स्वीकार्य नहुने प्रष्ट पारे । 
यादवले मुलुकमा राजनीतिक क्रान्ति अझै बाँकी नै रहेको जिकिर गर्दै राजनीतिक क्रान्ति पुरा नहुदाँसम्म सरकारले भनेजस्तो आर्थिक क्रान्ति सफल नहुने दाबी गरे । उनले अधूरो राजनीतिक क्रान्ति आफूहरुले पुरा गर्ने भन्दै एकात्मक राज्यसत्ता ध्वस्त पार्न आफूहरुको लडाई जारी रहेको र विभेदको अन्त्य नहुँदासम्म संघर्ष चलिरहने बताए । 
संविधान पुनर्लेखनका लागि सरकारबाट ठोस प्रतिबद्धता आए आफूहरु वार्तामा बस्न तयार रहेको यादवले बताएका छन् । ‘हामीले पनि वार्ताबाटै निकास चाहेका हौं, तर विश्वासको उचित वातावरण बन्नुपर्यो’–अध्यक्ष यादवको भनाइ थियो । नश्लवादी संविधान स्वीकार नभएको भन्दै उनले संविधानबाट विभेदकारी प्रावधानहरु हटाउन हामीले संविधानको पुनर्लेखन भनेको उनले बताए । 
संविधान पुनर्लेखन नै नबुझ्ने लालबुझक्कडहरु यहाँ धेरै रहेको उनले टिप्पणी गर्दै अध्यक्ष यादवले संविधानका विभेदकारी प्रावधान हटाउन राजी नहुने हो भने तेस्रो जनआन्दोलनको सामना गर्न तयार भएर बस्न सरकारलाई चेतावनी दिए ।
‘काठमाडौंलाई दुःख दिने आन्दोलन होइन’
यसैगरी, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले आफूहरुले काठमाडौंका जनतालाई दुःख दिन नचाहेको बताएका छन् । उनले भने,–‘हामीले त राज्यसत्ताका सञ्चालकहरुलाई संवेदनशील भएर जनताको आवाज सुन्न भनेका हौं,।’
अध्यक्ष भण्डारीले संविधानमा विभेदकारी व्यवस्था भएकोले संविधान पुनर्लेखन नभएसम्म आन्दोलन जारी रहने पनि बताए । उनले गठबन्धनले विगत १५ दिनदेखि शान्तिपूर्ण तरिकाले आन्दोलन गरिरहेको भन्दै यसलाई जनताले बुझ्नुपर्ने बताए । 
आन्दोलनरत २९ दलीय संघीय गठबन्धनका अर्का नेता कुमार लिङदेनले आन्दोलनकै बलमा सरकारलाई झुक्न बाध्य पार्ने चेतावनी दिए । विरोधसभामा उनले आन्दोलनको शक्तिलाई बेवास्ता नगर्न सरकारलाई सचेत गराए ।

प्रकाशित मिति: May 28, 2016

प्रतिक्रिया दिनुहोस्