Logo
१३ बैशाख २०८१, बिहीबार
(May 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बन्दाबन्दीमा कोरोनासँग असम्बन्धित बोलपत्र नगर्न आग्रह

बन्दाबन्दीको अवधिमा कोरोनासँग असम्बन्धित सार्वजनिक खरिद प्रक्रिया रोक्न नेपाल निर्माण व्यवसायी महासङ्घले आग्रह गरेको छ ।

कोरोना भाइरसको महामारीसँगै मुलुकमा जारी बन्दाबन्दीको अवधिमा समेत बोलपत्रका खरिद प्रक्रिया यथावत रहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको महासङ्घले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरोकार भएका निकायसमक्ष पटक-पटक ताकेता गर्दा समेत अति आवश्यक र कोेभिड-१९ सँग असम्बन्धित खरिद प्रक्रिया सङ्घीय, प्रदेश र स्थानीय सरकारअन्तर्गतका सार्वजनिक निकायले अझै स्थगित नगरेको महासङ्घका महासचिव रोशन दाहालले बताए ।

बन्दाबन्दीका कारण निर्माण व्यवसायी एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको महासङ्घले जनाएको छ ।

यसअघि जारी भएका पास रद्द भइ केही स्थानीय तहले आफ्ना क्षेत्रभित्र आवतजावतमा कडाइका साथ रोक लगाएको स्मरण गराएको छ ।

बैंक ग्यारेण्टीलगायत कागजात तयार गर्न समेत व्यवसायीलाई समस्या रहेको छ । महासङ्घले पूर्ण क्षमतासहित बैंक सञ्चालन नभएकाले ती बोलपत्रमा निर्माण व्यवसायी सहभागी हुनबाट बञ्चित हुने र स्वच्छ प्रतिष्पर्धा समेत नहुने ठहर गरेको छ ।

अतिआवश्यक सेवा र कोभिड-१९ सँग असम्बन्धित खरिद प्रक्रियामध्ये आह्वान भइसकेका बोलपत्र बन्दाबन्दी खुलेको सात दिनपछिसम्म अनिवार्य म्याद थप गर्ने व्यवस्था गरिदिन महासङ्घले आग्रह गरेको छ ।

यसपछि आह्वान हुने सम्पूर्ण बोलपत्र, आशय पत्र, सिलबन्दी दरभाउपत्रलगायत खरिद प्रक्रिया हाललाई स्थगन गर्न पनि महासङ्घले तीनै तहका सरकार अन्तर्गतका सम्पूर्ण सार्वजनिक निकायसमक्ष अनुरोध गरेको छ ।

प्रकाशित मिति: May 20, 2020

प्रतिक्रिया दिनुहोस्