Logo
१३ बैशाख २०८१, बिहीबार
(May 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालगञ्जमा‘वाटरपार्क’ निर्माणको काम शुरु

प्रदेश नं ५ स्थित बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले लकडाउनका आधारभूत मापदण्ड पालना गर्दै स्थानीय श्रमिकको प्रयोग गरी यहाँ वाटरपार्क सौन्दर्य अभिवृद्धिको काम शुरु गरिएको छ ।

केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाले लकडाउनका कारण समस्यामा परेका विपन्न समुदायका नागरिकलाई राहतका सट्टा उपभोक्ता समितिमार्फत रोजगार दिने निर्णय गरेअनुसार वाटरपार्कमा पहिलो दिनमा ५१ जनाले काम पाएका छन् ।

उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले उपभोक्ता समितिामार्फत स्थानीय श्रमिकलाई काम दिएर वाटरपार्कभित्रको झारपात निकाल्ने काम शुरु गरिएको जानकारी दिए ।

नगर प्रमुख डा धवलशम्शेर राणाले नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीमा रहेको वाटरपार्कलाई नगरकै महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा विकास गर्न लागिएको बताए ।

प्रवक्ता रिजालका अनुसार वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउले ओगटेको छ । तलाउलाई नौका बिहार र पौडी पोखरीका रुपमा विस्तार गरिने छ ।

पार्कमा आकर्षक र मनमोहक फुलबारी, बालोद्यान, व्यापारिक प्रयोजनका पसल कोठा लगायत संरचना निर्माण हुनेछन् । यसैगरी वाटरपार्क क्षेत्रभित्र ६ देखि १८ मिटरसम्मको पक्की सडक निर्माण गरिने छ ।

यसका साथै नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलेरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँंग जोडिने छ ।
७० करोडको लागतमा वाटरपार्क निर्माणको योजना १२ वर्षअघि तयार गरिएको थियो ।

विसं २०६५ मा शुरु भएको सो योजना शुरुआती चरणमा जग्गा अधिग्रहणका क्रममा स्थानीयवासीसँग कुरा नमिल्दा यसको निर्माण झण्डै पाँच वर्ष पर धकेलियो ।

अहिले जग्गा अधिग्रहणमा कुरा मिलेपछि निर्माणको कामले गति लिएकोे छ । पश्चिम नेपालकै नमूनाका रुपमा रहेको वाटरपार्क निर्माणमा बजेटको निकासा रोकिएन र अन्य व्यवधान आएन भने चार वर्षभित्रै निर्माण सक्ने समितिको लक्ष्य छ ।

वाटरपार्क संरचनाअन्तर्गत शुरुआती चरणमा पिलर, पर्खाल, फुटपाथ र ग्रिनबेल्ट निर्माण हुनेछन् । निर्माणको काम छिटो सक्न पाँच ब्लक खडा गरिएको छ ।

प्रत्येक ब्लकलाई छुट्टाछुट्टै कामको जिम्मेवारी पनि तोकिएको छ । आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने, आर्थिक विकासको आधार बलियो बनाउने र नेपालगञ्जको पहिचानलाई थप उचाइमा पुर्‍याउन वाटरपार्क योजना जति सक्यो छिटो सम्पन्न हुनुपर्नेमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दल र सर्वसाधारण एकमत छन् ।

प्रकाशित मिति: May 15, 2020

प्रतिक्रिया दिनुहोस्