Logo
१३ बैशाख २०८१, बिहीबार
(May 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषि व्यवसायलाई प्रविधिसँग जोड्ने उद्देश्यसहित ‘गण्डकी कृषि’ एप्स सञ्चालन

गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले  ‘गण्डकी कृषि’ नामको मोबाइल एप्स प्रयोगमा ल्याएको छ ।

प्रदेशअन्तर्गतका ११ वटै जिल्लाको कृषि व्यवसाय तथा मन्त्रालयको कार्यक्रमका बारेमा मोबाइल एप्सका माध्यमबाट सूचना तथा जानकारी कृषक, कृषि उद्यमी तथा व्यवसायीसम्म पुर्‍याउने उद्देश्यसहित एप्स प्रयोगमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

प्रदेशअन्तर्गत रहेका कोल्ड स्टोर (चिस्यान केन्द्र), होमस्टे, नमूना कृषि फार्म, कृषि उद्योग, कृषि व्यवसाय, कृषिमा आबद्ध कार्यालय, नमूना गाउँका लागि प्राविधिक, बीउ उत्पादक र बजारको विवरण तथा सम्पर्क एप्समा छ ।

भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरले कृषकको हातहातमा सूचना र जानकारी पुर्‍याउने लक्ष्यसहित एप्स प्रयोगमा ल्याइएको बताए ।

“अहिलेको सूचना प्रविधिको युगमा कृषक र कृषि व्यवसायलाई प्रविधिसँग जोड्न एप्स तयार गरेका हौँ । आवश्यक सूचना तथा जानकारी संलग्न गरी कृषकलाई सहजरुपमा सूचना पुर्‍याउन लागिपरेका छौँ”, उनले भने त्यसैगरी कृषि प्रविधि, कृषिउपज आपूर्तिकर्ता, उपज खरिदकर्ताकाबारेमा जानकारी राखिएको छ ।

कृषि प्रविधिअन्तर्गत तरकारी बाली, फलफूल बाली, कौसी खेती, प्राङ्गारिक खेती, च्याउ खेती र कफी खेतीको विधि, व्यवस्थापन र रोगबाट बचाउने विधिका बारेमा जानकारी समावेश छ ।

कृषि बीमासम्बन्धी जानकारीसमेत एप्सबाट प्राप्त गर्न सकिन्छ । कृषकका समस्या, आयात/निर्यातको अवस्था, प्राकृतिक प्रकोपबाट हुने क्षतिको विवरण तथा मन्त्रालयका सूचना, कार्यक्रम, तालीमलगायतका बारेमा जानकारी लिन तथा सहभागिताका लागि सघाउने विश्वास मन्त्रालयको छ ।

सो एप्स मोबाइलको ‘प्लेस्टोर’बाट डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति: May 11, 2020

प्रतिक्रिया दिनुहोस्