Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुत्ता, चप्पल र ब्याग कोठामै छाडेर कोशी ब्यारेजको क्‍वारेन्टाइनबाट १९ भारतीय बेपत्ता

प्रदेश २ स्थित सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाको एक क्वारेन्टाइनबाट १९ जना भारतीय बेपत्ता भएका छन् ।

कोशी ब्यारेजको कोशी निम्न माध्यमिक विद्यालयस्थित रहेको क्वारेन्टाइनबाट भारतीयहरु बेपत्ता भएका हुन् ।

बेपत्ता भएकाहरुको जुत्ता, चप्पल र ब्याग कोठामै रहेको छ भने उनीहरुको सामान्य ज्वरो जाँच्ने काममात्रै भएको थियो ।

नेपालको विभिन्न भागबाट भारतको पश्चिम बंगाल र बिहार राज्यस्थित घर फर्किंदै गरेका ७२ जना भारतीयलाई १ नम्बर प्रदेशमा प्रवेश नदिइएपछि दुई सातादेखि क्वारेन्टाइनमा राखिएको छ ।

सबैको भोजनको खर्च तथा सुत्नेबस्ने व्यवस्था हनुमाननगर कंकालिनी नगरपालिकाले खर्च बेर्होदै आएको छ ।

चौबीसै घण्टा प्रहरीको कडा निगरानी रहने क्वारेन्टाइनबाट उनीहरु बेपत्ता भएका हुन् । सशस्त्र र नेपाल प्रहरीले उक्त क्वारेन्टाइनमा सुरक्षा दिँदै आएको छ ।

बुधबार राति एउटा कोठामा रहेका १९ जना गायब भएको सूचना क्वारेन्टाइनमा रहेका अन्यले बिहीबार बिहानमात्र थाहा पाएका थिए ।

कोशी ब्यारेज प्रदेश नम्बर १ र २ को बोर्डर हो । गायब भएकाहरु सुनसरी प्रवेश गरेका छैनन् । कोसीमा रहेका सबै डुंगा स्थानीय तह र प्रहरीले नियन्त्रणमा राखेकाले उक्त विकल्प प्रयोग जान सक्ने अवस्था पनि नरहेकाले घटना शंकास्पद रहेको स्थानीय बासिन्दाले बताए ।

उनीहरु नेपालकै कुनै बस्तीमा गएर लुकेको हुन सक्ने पनि उनीहरुको भनाइ छ । हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख शैलेशकुमार साहले आफूले क्वारेन्टाइनमा खानाको प्रबन्ध र स्वास्थ्यसम्बन्धी विषय मात्र हेर्ने गरेकाले यसबारे सुरक्षाकर्मीहरुले नै भन्न सक्ने बताए ।

सप्तरीका प्रहरी प्रवक्ता डीएसपी तिलक भारतीले बिहीबार बिहान गन्दा ७२ जनमध्ये ५३ जना मात्र पुगेपछि मात्र १९ जना नरहेको थाहा भएको बताए । भने सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले यसबारे प्रतिक्रिया दिन मानेनन् ।

यसैबीच उक्त क्वारेन्टाइनस्थलको सुरक्षा गरिरहेका इलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायव निरीक्षक सागिर राइनसित पाँच प्रहरीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय तानिएको छ ।

राइनको स्थानमा नयाँ प्रहरी नायव निरीक्षक पठाइएको छ । डीएसपी भारतीले भने राइनसहित ५ प्रहरीलाई जिल्ला बोलाउनु आन्तरिक कुरा रहेको बताए ।

प्रकाशित मिति: May 8, 2020

प्रतिक्रिया दिनुहोस्