Logo
८ बैशाख २०८१, शनिबार
(March 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फरवार्डले कोरोना बिरुद्धको अभियानमा प्रधानमन्त्री राहत कोषमा साँढे पाँच लाख सहयोग गर्ने घोषणा

प्रेम गिरि/चैत्र ११, सुनसरी । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स लि.ले कोरोना भाइरस संक्रमणसम्बन्धी रोकथाम र नियन्त्रण उपचारमा प्रधानमन्त्री राहत कोषमा सम्पूर्ण कर्मचारीहरुको एक दिनको तलब हस्तान्तरण गर्ने भएको छ ।

फरवार्ड माइक्रोफाइनान्स लि.ग्रामिण महिला उत्सुकता विकास मञ्च, फरवार्ड बचात तथा ऋण सहकारी संस्था लि.का कर्मचारीहरुको एक दिनको तलब कोरोना उपचार तथा राहत कोषमा हस्तान्तरण गरिने भएको हो ।

नेकपाकी नेतृ पूर्व राज्यमन्त्री समेत रहेकी भगवती चौधरीको नेतृत्वमा रहेको फरवार्डले देशभरका सातसय बढि कर्मचारीको एक दिनको तलब बराबर पाँच लाख पचास हजार रुपैंया प्रधानमन्त्री राहत कोषमा प्रदान गर्नेछ ।

‘कोरोना भाइरस जस्तो विश्वब्यापी कहरमा राज्यले मात्र केही गर्न सक्दैन । हामी निजी क्षेत्र र जनताले पनि राज्यलाई सहयोग गर्नुपर्छ भनेर हामीले एक दिनको रकम प्रदान गर्ने निर्णय गरेका हौं ।’ फरवार्डकी अध्यक्ष भगवती चौधरीले भनिन् ।

नेतृ चौधरीले विश्वब्यापी कोरोना भाइरसको संक्रमणबाट आम नागरिकलाई राज्यले चालेको कदममा सहयोग गर्न पनि भनेकी छिन् । हिजोबाट सरकारले चैत्र १८ गतेसम्म मुलुकभर लक डाउन गरेको अवस्थामा आम जनताले सुरक्षित रुपमा घरभित्रै रहेर सहयोग गर्नुपर्ने चौधरीको भनाई छ । ‘विपत्ति ढोल बजाएर आउँदैन, कोरोना भाइरस नेपालका लागि मात्र नभएर विश्वकै लागि विपत्ति हो, हामी सबै मिलेर सामना गर्नुको विकल्प छैन । कृपया यो समय राज्यलाई जनताले पनि सहयोग गर्नुपर्छ । घर भित्रै रहौं, आफ्नो ब्यक्तिगत सरसफाइमा ध्यान दिऔं ।’

उनले कोरोना भाइरसबाट बच्नका लागि अत्यावश्यक काममा वाहेक घर बाहिर ननिस्कन र बेलाबेला साबुनपानीले हात धुने तथा सेनिटाइजर प्रयोग गर्न अनुरोध पनि गरिन् । ‘यो बेला हामीले आफ्नो तथा परिवारको विशेष ख्याल गर्नुपर्छ, समयसमयमा हात धुनुपर्छ, सेनिटाइजर प्रयोग गर्नुपर्छ । माक्स लगाएर बस्नुपर्छ । चिकित्सकहरुको सल्लाह लिनुपर्छ ।’ उनले भनिन् ।

चौधरीले सुरक्षित रुपमा घरमा बस्दा पनि बेलाबेलामा आफ्नो शरीरको तापक्रम नाप्ने तथा पौष्टिकजन्य आहार लिन सल्लाह दिइन् ।

ग्रामिण भेगमा लघुवित्त कार्यक्रम मार्फत महिलाहरुलाई आर्थिक क्षेत्रमा अगाडी बढाउने अभियान सहित सञ्चालित फरवार्डले मुलुकमा आइपरेको विभिन्न संकट र विपत्तिमा सरकारी अभियानसँगै आफैंले सहयोग र सहकार्य गर्दै आइरहेको छ । सुनसरीको दुहवीबाट सञ्चालनमा आएको फरवार्ड माइक्रोफाइनान्स अहिले देशका ४१ जिल्लाका दुई लाख पचास हजार महिला माझ पुगिसकेको छ ।

प्रकाशित मिति: Mar 24, 2020

प्रतिक्रिया दिनुहोस्