Logo
१३ बैशाख २०८१, बिहीबार
(March 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोकर्णेश्वर नगरपालिकामा २७ आइसोलेसन श्ययाको व्यवस्था

बाग्मती प्रदेश स्थित गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणबाट नगरवासीलाई बचाउन २७ आइसोलेसन श्ययाको व्यवस्था गरेको छ ।

गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी चोकमा तयारी अवस्थामा रहेको १५ श्ययाको निजी अस्पताल तीन महीनाका लागि सम्भावित कोरोना प्रभावितको उपचारका लागि भाडामा लिइएको नगर प्रमुख सन्तोष चालिसेले जानकारी दिएका छन् ।

“नगरपालिकाले भाडामा लिएको अस्पतालमा सुविधा सम्पन्न पाँच सघन उपचार कक्ष, पाँच भ्यान्टिलेटरसहितको कक्ष र पाँच वटा आइसोलेशन श्यया हुन्छ, नेपाल मेडिकल कलेज अत्तरखेलसँगको सहकार्यमा सात र शङ्खरापुर अस्पताल नारायणटारसँगको सहकार्यमा पाँच गरी २७ आइसोलेसन श्ययाको व्यवस्था भएको छ, आवश्यकता भएमा नगर क्षेत्रमा रहेका दुई ठूला अस्पतालको सहकार्यमा बेड थप गरिनेछ”, उनले भने ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका डा. सुवास प्याकुरेलको नेतृत्वमा कोरोना प्रभावितको उपचारका लागि नौ सदस्यीय चिकित्सकको समूह समेत नगरपालिकाले तयारी अवस्थामा राखेको जनाइएको छ ।

नगरपालिकाले गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्रसहित नौ वटा स्वास्थ्य चौकीमा आउने मौसमी बिरामी लगायतको उपचारका लागि बिदाका दिन पनि स्वास्थ्यकर्मी परिचालन गरेको छ ।

स्वास्थ्य केन्द्रलाई आवश्यकता अनुसारका सामग्री पनि उपलब्ध गराइएको नगर प्रमुख चालिसेले बताए । नगरपालिकाका ९ वटै वडामा साबुन पानीसहित हात धुने व्यवस्था गरिएको छ ।

यसैगरी थप नौ वटा चोकमा पनि साबुन पानीसहित हात धुने व्यवस्था गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन, घर, टोल छिमेकमा पनि भीडभाड नगरी सुरक्षित भई सङ्क्रमणबाट जोगिन जनचेतना फैलाउने अभियानमा जनप्रतिनिधि, कर्मचारी लागिपरेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: Mar 24, 2020

प्रतिक्रिया दिनुहोस्