Logo
७ बैशाख २०८१, शुक्रबार
(March 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अघोषित लकडाउन : सबै कार्यालय समेत हवाई सेवा, यातायात सेवा बन्द गर्ने घोषणा

नेपाल सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् ।

त्यस्तै, सरकारले अन्तर्राष्ट्रिय हवाई सेवा र लामो दुरीका यातायात बन्द गर्ने घोषणा गरेको छ । प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चैत ९ गतेदेखि १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गर्ने घोषणा गरेका हुन् ।

त्यस्तै, आगामी चैत १० गतेदेखि केही समयका लागि लामो दुरीका यातायात बन्द गर्ने पनि निर्णय गरिएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान स्थगित

त्यसैगरी सरकारले नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने घोषणा गरेको छ । आगामी चैत ९ गतेदेखि चैत १८ गतेसम्मका लागि अन्तराष्ट्रिय उडान स्थगित गरिएको हो ।

कोरोनाका त्रास फैलिरहेको बेला सतर्कता अपनाउनका लागि यो निर्णय गरिएको प्रधानमन्त्रीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै जानकारी गराए ।

उनले सीमा नाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखि संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरिएको पनि जानकारी दिए ।

यस सम्बन्धमा न्धिमा छिमेकी देश भारत र चीनसँग आवश्यक समन्वय गरिने पनि प्रधानमन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्रीको सम्बोधन जस्ताको त्यस्तै : 

प्रधानमन्त्री केपी ओलीको राष्ट्रका नाममा सम्बोधन :
1. नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरू आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ।

2. सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ। यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरूसंग आवश्यक समन्वय गरिने छ।

3. देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरू आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ।

4.आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ।

5. मानिसहरूको भडिभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ।

6. विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरू हाललाई स्थगित गरिएको छ।

7.महामारीको अवस्थालाई हेरी, यहाँहरूकै सहयोगमा थप कदमहरू पनि चाल्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्