Logo
४ बैशाख २०८१, मंगलबार
(March 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डोल्पामा मुसलधारे वर्षा, वर्षभरिकै बाग्लो हिउँ जम्ने सङ्केत

आज बिहानदेखि शुरु भएको मुसलधारे वर्षात्पछि यहाँ भारी हिमपात शुरु भएको छ । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पा हिउँले सेताम्य भएको छ ।

त्यसैगरी तल्लो र मध्य डोल्पामा पर्ने दुनै, सुँ, जुफाल, माझफाल, रह, लिकु, त्रिपुराकोट, पहाडा, काइगाउँलगाइयतका बस्तीमा पनि बाग्लो हिउँ जमेको छ ।

बिहानैदेखि शुरु भएको हिमपात पनि जारी रहेको र वर्षभरिकै बाग्लो हिउँ जम्ने सङ्केत देखिएको त्रिपुराकोटका स्थानीयवासीले बताएका छन् ।

बेमौसममा परेको हिमपातका कारण डोल्पाको तापक्रम शून्यमा झरेको छ भने जनजीवन कष्टकर बनेको छ । प्रत्येक वर्ष हिउँदको समयमा धेरै पटक हिउँ पर्ने भए पनि यो वर्ष अघिल्लो वर्षभन्दा धेरै कम हिउँ परेको त्रिपुरासुन्दरी नगरपालिका-१ का स्थानीय देवीकृण उपाध्यायले बताउनुभयो ।

फागुन अन्तिममा वर्षातसँगै हिउँले हिमाली भेगमा लगाइएको बालीनालीलाई फाइदा पुग्नुका साथै पशुवस्तुका लागि खर उम्रनलाई सहयोग पुग्ने उहाँले बताउनुभयो ।

विमानस्थल बन्द

बिहानैदेखि वर्षातसँगै शुरु भएको हिमपातपछि जुफाल विमानस्थल बन्द भएको छ । धावनमार्गमै हिउँ जमेपछि आज बिहान कुनै पनि उडान नभएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ ।

डोल्पाली जनताका लागि यातायातको एकमात्र साधनका रुपमा रहेको जुफाल विमानस्थल बन्द भएपछि आवतजावत ठप्प भएको छ भने दैनिक उपभोग्य सामग्री ढुवानी ठप्प भएको छ ।

आज दिनभर हिमपात जारी रहे शनिबारसमेत उडान नहुने सम्भावना देखिएको विमानस्थलले जनाएको छ । हिमपातका कारण जिल्लाका विभिन्न ठाउँमा राखिएका मोबाइल टावर आउने जाने भइरहेका सर्वसाधारणले बताएका छन् ।

प्रकाशित मिति: Mar 13, 2020

प्रतिक्रिया दिनुहोस्