Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ५ मा यस्तो बन्दैछ प्रादेशिक अस्पताल, १० तले भवनको डिजाइन सार्वजनिक

प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको प्रारम्भिक गुरुयोजना निर्माण गरेको छ । सहज र छिटो सेवा दिन मिल्ने संरचना निर्माण गरिने गुरुयोजना पूरा गर्न ६ अर्ब रुपैयाँ खर्च हुने उल्लेख छ ।

योजना आयोगको रायमा काठमाडौंको केज आर्किटेकले भवनको नक्सा डिजाइन गरेको हो । इन्जिनियर विष्णु पन्थीले यसअघि वीर अस्पताल, धरहरालगायतको डिजाइन गरेका थिए । गुरुयोजनामा सरोकारवालाले सुझाव दिएका छन् ।

यससँगै अस्पतालको अत्याधुनिक १० तले भवनको डिजाइन सार्वजनिक गरिएको हो । यहाँबाट सबै प्रकारका विशेषज्ञ सेवा उपलब्ध गराइने प्रदेश योजना आयोगका उपाध्यक्ष ईश्वर गौतमले बताए । ‘भवनको छतमा हेलिप्याडको सुविधा हुनेछ,’ उनले भने, ‘हेलिप्याडबाट सीधै इमर्जेन्सी वार्डसम्म पुग्ने लिफ्ट राखिनेछ ।’

सुझाव समेटेर अर्को सातासम्म गुरुयोजनालाई पूर्णता दिइने गौतमले बताए । लगत्तै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम थाल्ने उनले बताए । ‘गौरवको योजना भएकाले योजना आयोगले सबै काम अगाडि बढाउनेछ,’ उनले भने । वि.सं. १९६७ सालमा ६ बेडबाट अस्पताल सुरु भएको थियो ।

०१६ सालमा निर्माण भएको भवनमा अहिलेसम्म उपचार भइरहेको छ । उच्च भूकम्पीय जोखिममा राखेको भवनलाई अस्पतालले रंगरोगन गरेर प्रयोग गरिरहेको छ । अहिलेको भवन भत्काएर नयाँ बनाइनेछ । ‘यसो गर्दा बिरामीको पायक र सुविधा दुवै हुनेछ,’ गौतमले भने, ‘अस्पताल कोलाहलपूर्ण र साँघुरो पनि हुनेछैन ।’

यसअघि अस्पतालले निर्माण गरेको व्यापारिक सटर भत्काइएको छ । न्युरो र हार्डजोर्नी सेवालाई प्राथमिकता दिनेगरी विशेषज्ञ सेवा सञ्चालन गरिने सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । अस्पतालमा ९७ जना चिकित्सकको दरबन्दी छ । अहिले ३७ जना सरकारी दरबन्दीका चिकित्सक छन् ।

१५ विशेषज्ञ र ४२ जना मेडिकल अधिकृतको दरबन्दी रिक्त छ । अस्पताल विकास समितिले १७ जना मेडिकल अधिकृत राखेको छ । त्यसमध्ये पाँच जना छैनन् ।

जनशक्ति अभाव पूर्ति गर्न सरकारले स्वयंसेवक कर्मचारी राख्ने तयारी थालेको छ । ‘रेफरल अस्पतालमा रूपान्तरण हुन नदिन प्रदेशका अस्पतालमा स्वयंसेवक कर्मचारीको अवधारणा ल्याएका छौं,’ बरालले भने, ‘दीर्घकालीन रूपमा प्रदेश लोकसेवा आयोग गठनपछि स्थायी पदपूर्ति गरिनेछ ।’

त्यसका लागि संघलाई समेत छात्रवृत्तिमा पढेका विद्यार्थी चिकित्सक सीधै अस्पतालमा पठाउनुको साटो अब प्रदेश मन्त्रालयमा पठाउन आग्रह गरेको उनले बताए । यहाँबाट दैनिक एक हजारले उपचार पाइरहेका छन् ।

प्रकाशित मिति: Feb 23, 2020

प्रतिक्रिया दिनुहोस्