Logo
८ बैशाख २०८१, शनिबार
(February 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ का अर्का मिटर व्याजी रामबाबु राय यादव पनि जेल चलान

सर्लाहीका अर्का मिटर व्याजी रामबाबु राय यादव जेल चलान भएका छन् । जिल्ला अदालत सर्लाहीको आदेश अनुसार १५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि उनी जेल चलान भएका हुन् ।

थुनछेक बहस पश्चात सोमबार जिल्ला अदालत सर्लाहीका न्यायधीश हरिप्रसाद कोइरालाको एकल इजलाले मिटर व्याजी यादवलाई १५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।

तर उनले रकम बुझाउन नसकेपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रतित सिंह राठोरले जानकारी दिए । राठोरका अनुसार बरहथवा नगरपालिकाका मिटर व्याजी यादवलाई प्रदेश १ स्थित सुनसरीको झुम्का कारागार चलान गरिएको छ ।

यता राजपाका केन्द्रिय सदस्य समेत रहेका मिटरव्याजी यादवलाई १५ लाख धरौटीमा छाड्ने अदालतको निर्णयप्रति पीडितहरुले आपत्ति जनाएका छन् ।

यादवविरुद्ध २८ जना पीडितले प्रहरीमा उजुरी दिएका छन् । पीडितले दिएका २८ उजुरीको आधारमा प्रहरीले २० करोड ४४ लाख रुपैयाँ बिगो दाबीसहित यादवविरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अभियोगपत्र दर्ता गरेको छ ।

‘यति ठूलो बिगोसहितको मुद्दाका अभियुक्तलाई १५ लाख रुपैयाँ धरौटीमै छाड्ने न्यायाधीशको निर्णयविरुद्ध पीडितले न्यायपरिषद गुहार्ने तयारी गरेका छन् ’ पीडितको पक्षमा पैरबी गर्दै आएका नेकपा सर्लाहीका नेता कमल बुढाथोकीले भने, ‘यो निर्णयमा न्यायाधीशको बदनियत देखिएको पीडितको आशंका छ ।’

यादवलाई प्रहरीले २३ पुसमा पक्राउ गरेको थियो । अर्का सुदखोर सञ्जय साह रौनियार भने अझै फरार छन् । उनर्लाइ जोगाउन राजपा नेपालका नेता कार्यकर्ताले स्थानीय स्तरमा आन्दोलन समेत गरेका थिए ।

यसअघि सर्लाहीको मलंगवा नगरपालिकाका नामुद मिटर व्याजी श्याम परदेशी गएको असोज १० गते पूर्वपक्षका लागि जेलन भएका थिए ।

प्रकाशित मिति: Feb 12, 2020

प्रतिक्रिया दिनुहोस्