Logo
१७ फागुन २०७६, शनिबार
(January 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिम प्रदेशमा चिसोबाट जोगाउन १८२ जनालाई न्यानो कपडा वितरण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खेगेन्द्रबहादुर साउदले जिल्लामा चिसो बढेपछि यहाँका वृद्ध, एकल, अपाङ्गता तथा असहाय नागरिकलाई न्यानो लुगा वितरण गरेका छन् ।

दिपायल सिलगढी नगरपालिका-३ को वडा कार्यालयमा सोमबार कार्यक्रम आयोजना गरी उनले वडा नं १, २, ३ र ४ मा रहेका १८२ वृद्ध, एकल, अपाङ्गता तथा असहायलाई न्यानो लुगा वितरण गरेका हुन् ।

नगरपालिकाका सबै वडामा रहेका वृद्ध, एकल, अपाङ्गता तथा असहाय नागरिकलाई न्यानो लुगा वितरण गर्ने योजनाअनुसार आफूले उक्त अभियान सञ्चालन गरेको साउदले बताए ।

उनले भने, “चिसोबाट जोगाउन मैले न्यानो लुगा वितरण अभियान सञ्चालन गर्दै आएको छु, नगरपालिकाका सबै वडामा उक्त अभियान सञ्चालन गरिने छ ।” त्यसैगरी उनले नगरपालिकाभित्रका सामुदायिकतर्फका सबै विद्यालयका लागि रु एक लाखको विद्यार्थी अक्षयकोषसमेत स्थापना गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएर पढ्न समस्या भएका विद्यार्थीका लागि सहुलियत होस् भन्ने उद्देश्यले उक्त कोषको स्थापना गरेको उनले बताए ।

उनले भने, “मैले पढ्न नसक्ने अवस्था भएका तीन बालबालिकाको अभिभावकत्व पनि लिएको छु, आर्थिक अभावमा कसैको पनि पढाइ नछुटोस् भन्ने मेरो सोचाइ हो ।”

उनले यसअघि दिपायलको सेती नदीमा दृश्यावलोकन स्तम्भ तथा जिल्लाका विभिन्न विद्यालयमा ‘ह्वाइट बोर्ड’ तथा विद्यार्थीलाई झोलासमेत वितरण गर्दै आएका छन् ।

आफ्नो व्यक्तिगत लगानीमा नगरपालिकामा रहेका वृद्ध, एकल, अपाङ्गता तथा असहाय नागरिकलाई न्यानो लुगा वितरण गर्ने साउद पहिलो व्यक्ति छन् ।

कार्यक्रममा चेम्बर अफ कमर्सका सदस्य तथा विष्ट कष्मेटिक तथा फेन्सीका व्यापारी रामबहादुर विष्टले न्यानो लुगा लिन आएका १८२ जनालाई कोल्गेट तथा ब्रस वितरण गरेका थिए ।

चिसोबाट बच्नका लागि प्रदान गरिएको न्यानो लुगा पाएपछि निकै खुशी र राहत मिलेको दिपायल सिलगढी नगरपालिका-४ कुमालीकोटकी ६० वर्षीया गौरी कठायतले बताए ।

उनले भने, “चिसोमा ओढ्ने लुगा थिएन, आज पाएँ न्यानो हुने भयो, खुशी छु ।” साउदले कम्बल तथा ब्ल्याङ्केट वितरण गरेका थिए । विगत सात वर्षयतादेखि चिसो समयमा उहाँले यहाँका ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गर्दै आएका छन् ।

प्रकाशित मिति: ७ माघ २०७६, मंगलवार १०:५४

प्रतिक्रिया दिनुहोस्