Logo
६ बैशाख २०८१, बिहीबार
(October 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालगञ्ज उपमहानगरपालिकाले नगर बसमा राखे ‘महिला’ कन्डक्टर

नेपालगञ्ज उपमहानगरपालिकाले बाँकेका विभिन्न ‘रुट’ मा नगर बस सञ्चालनमा ल्याएको छ । सञ्चालनमा ल्याइएका बसमा परिचालक ‘कन्डक्टर’ महिला राखिएको छ । काठमाडौँमा चल्ने सवारीसाधनमा महिला चालक र परिचालक देखिन्छन् ।

मोफसलमा नेपालगञ्ज उपमहानगरपालिकाले ‘कन्डक्टर’ महिला राखेको पहिलो भएको दाबी गरेको छ । प्रमुख डा धवलशमसेर राणाले भने, “हाम्रा दिदीबहिनीलाई अवसर दिने हो भने जिम्मेवारी पूरा गर्न सक्छन् । महिलाले दिएको जिम्मेवारी पूरा गर्न सक्नुहुन्छ भन्ने देखाउनकै लागि यो काम शुरु गरेका हौँ ।”

उपमहानगरले सातवटा नगर बस खरीद गरेर सञ्चालनमा ल्याएको छ । यी बसमा परिचालक मात्र होइन चालक नै महिला राख्ने योजना उपमहानगरको छ । त्यसका लागि २५ जना महिलालाई निःशुल्क तालीमसमेत दिइएको छ । तर, अझै तयार बनाउन समय लाग्ने भएकाले तत्काललाई ‘कन्डक्टर’ मात्र राखिएको हो । प्रमुख राणाले भने, “अहिले ‘कन्डक्टर’ गरेर पछि चालक बनाउने हो ।

महिलाहरु दक्ष भएपछि विस्तारै चालक, परिचालक नै महिला राख्ने हो ।” नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बुधबारदेखि परीक्षणका लागि बस सञ्चालनमा ल्याएको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले जानकारी दिए ।

सूचना अधिकारी पौडेलले गत असारमै बस खरीद गरेर ल्याइए पनि रुट परमिटलगायतको तयारीका कारण सञ्चालनमा केही ढिलाइ भएको बताए । सात वटा बस खरीदका लागि उपमहानगरपालिकाले रु तीन करोड ४५ लाख खर्च गरेको छ ।

प्रकाशित मिति: Oct 3, 2019

प्रतिक्रिया दिनुहोस्