Logo
October 2, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रानीमहल जाने बाटोमा पहिरो : यातायात ठप्प, पर्यटक पैदलयात्रा गर्न बाध्य

पाल्पा : ऐतिहासिक क्षेत्र रानीमहल जाने सडकमा पहिरो खस्दा यातायातका साधन सञ्चालन हुन सकेको छैन । सडकमा पहिरो खसेर अवरुद्ध सडकमा पर्यटक पैदल हिँड्न बाध्य छन् ।

पर्यटक गाईघाटसम्म गाडीमा आएर पैदलयात्रा गर्न बाध्य भएका छन् । वर्षाका कारण रानीमहलसम्म पुग्न आधा दर्जन स्थानमा पहिरो खसेको छ । पाल्पाको तानसेनबाट स्याङ्जाको आलमदेवी क्षेत्रमा जानेहरु समस्यामा परेका छन् ।

तानसेन नारायणडाँडा, गाईघाट हुँदै रानीमहलसम्म यात्रा गर्न छोटो सडक हो । १३ किलोमिटर छोटो दूरीमा रहेकाले पर्यटक यस सडक प्रयोग गर्ने स्थानीय बासिन्दा तथा होटल व्यवसायी वसन्त कुँवरले बताए ।

तानसेन–रानीमहल सडक खण्डको गाईघाट नजिकै पहिरो खसेको थियो । पहिरो हटाउने काम नहुँदा तानसेनदेखि ऐतिहासिक, महत्व बोकेको पर्यटकीय क्षेत्र आवतजावतमा सास्ती खेप्नुपरेको स्थानीय बासिन्दाको गुनासो छ ।

पाल्पाको तानसेन नगरपालिका–१३, स्थित रहेको रानीमहल विक्रम संवत १९९५ मा पश्चिमा शैलीमा निर्माण गरिएको विशाल दरबार हो ।

पश्चिम कमाण्डर खडक शमशेरले आफ्नी पत्नी तेजकुमारीको सम्झनामा कालीगण्डकी तिरमा रहेको चट्टानमाथि दरबार निर्माण गर्नु भएको थियो । बेलायती इन्जिनियरको डिजाइनमा बनेको दरबार हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने गर्दछन् ।

प्रकाशित मिति: १५ आश्विन २०७६, बुधबार १४:२८

प्रतिक्रिया दिनुहोस्