Logo
७ बैशाख २०८१, शुक्रबार
(September 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८ सय ६९ हावाहुरीपीडितलाई नवनिर्वित घर हस्तान्तरण, जग्गा नभएकाले पनि पाए घर

गत चैत १७ गते साँझ प्रदेश २ स्थित बारा र पर्सामा आएको हावाहुरी (टोर्नाडो) बाट प्रभावित आठ सय ६९ परिवारलाई घर हस्तान्तरण गरिएको छ। नेपाल सरकारबाट पुनर्निर्माणको जिम्मा पाएपछि सेनाले पर्सा र बारामा १२ वटा बेग्लाबेग्लै क्लस्टर बनाएर निर्माण थालेको थियो।

सरकारी योजनाअनुसार सेनाले बनाइदिएका घर बुधबार वीरगन्जमा एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो। प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई र पोखरेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका थिए।

ती नमुना घर मुख्यमन्त्री राउतले स्थानीय सरकारप्रमुखलाई हस्तान्तरण गरेका हुन्। सेनाले वर्षायामअघि नै घर निर्माण सकिएर प्रभावितलाई दिइसक्ने लक्ष्य राखेको थियो तर त्यसो हुन सकेन।

वर्षा छिट्टै सुरु भएको, निर्माणसामग्रीको अभाव र केही विवादित घरका कारण काममा ढिलाइ भएको बताइएको छ। सेनाको जनता आवास निर्माण कार्यदलका कमान्डर विनयविक्रम राणाले सो हावाहुरीबाट प्रभावित नयाँ घरमा बस्न थालिसकेको बताए।

२०७५ चैत २१ गते बसेको मन्त्रिपरिषद् बैठकले बारा र पर्साका हावाहुरीबाट क्षति भएका घर पुनर्निर्माण गर्न सेनालाई जिम्मा दिएको थियो। पहिलो चरणमा जग खन्ने, त्यसपछि छानोसम्म ब्लक लगाएर झ्यालढोका लगाउने, तेस्रो चरणमा ट्रस जडान गरेर छानो हाल्ने र अन्तमा घरको अन्तिम स्वरूप प्रदान गरेर निर्माण सम्पन्न गर्ने गरी चार चरणमा सेनाले काम गरेको थियो।

प्रत्येक एकाइमा दुईवटा कोठा, सानो भान्साकोठा, बरन्डा भएको, एउटा शौचालयसहित ३४८ दशमलव ६ वर्गफिटबराबरका घर निर्माण गरिएका छन्। जग्गा नपुग्नेलाई ठाउँ हेरेर बेग्लाबेग्लै पाँच डिजाइनका घर बनाइएको छ।

त्यस्तै जग्गा नभएकालाई स्थानीय सरकारसँग समन्वय गरी घर निर्माण गरिएको नेपाली सेनाले जनाएको छ। हावाहुरीपीडितको प्रारम्भिक तथ्यांक प्रमाणीकरण गरी वास्तविक तथ्यांक हासिल गर्ने लक्ष्यसहित गरिएको प्रमाणीकरणबाट बनाउनुपर्ने घरको संख्या घटेको छ।

यसले गर्दा विनियोजित रकममा ५३ प्रतिशत जति बचत भएको छ। सुरुमा करिब पाँच सयको हाराहारीमा घर पूर्ण क्षति भएको अनुमान गरिए पनि पछि एक हजार चार सय ५३ घरको विवरण आएको थियो।

सोही संख्याअनुसार घर निर्माण गर्ने योजना तीन चरणमा सम्पन्न गर्ने गरी तयारी गरिएको थियो। पछि दर्ता छूट भएका प्रभावितको निवेदन संकलन गरी स्थानीय जनप्रतिनिधि, प्रहरी र क्लस्टर कमान्डरसहितको टोलीले प्रमाणीकरण गर्दा दुई सय दुईजना वास्तविक पीडित छुटेको भेटिएको थियो।

प्रारम्भिक अनुमानमा यो संख्या जोड्दा आठ सय ६९ वटा मात्रै घर निर्माण गरिएपछि रकम बचत भएको हो। घर निर्माणका लागि विनियोजित रकममा ५३ दशमलव ८३ प्रतिशत बचत भएको सेनाले जनाएको छ।

सेनालाई एक हजार चार सय ५३ घर बनाउन सरकारले ८२ करोड १८ लाख ९० हजार रुपैयाँ निकासा गरेको थियो। घर निर्माणमा ४४ करोड २४ लाख ५५ हजार आठ सय ९६ रुपैयाँ खर्च हुने देखिएको निर्माण कार्यदलले जनाएको छ।

पाँच लाख ४५ हजार ९ सय ८५ रुपैयाँ ८८ पैसा प्रत्येक घरनिर्माणका लागि मन्त्रिपरिषद्ले छुट्ट्याए पनि चार लाख ८४ हजार आठ सय ८८ रुपैयाँ लागेको कार्यदलले जानकारी दिएको छ।

पुरैनियाका इजहार मियाँ नयाँ घर पाएपछि खुसी छन्। सो हुरीका कारण घर पूर्ण क्षति भएको र परिवारका सदस्यको समेत ज्यान गएको उनले बताए।

एकैसाथ घर र परिवारका सदस्य गुमाउँदा बाँकी जीवन बिताउन पहिलाजस्तो नभएको मियाँले सुनाए। सरकारले नयाँ घर निर्माण गरिदिन्छ भन्ने सुरुमा आशा र विश्वास नगरे पनि उनी अहिले नयाँ घर पाउँदा विगतको दुःख भुलेर केही खुसी देखिएका छन्।

‘पहिला अरूको घरमा बस्दै आएको थियौं,’ मियाँले भने, ‘अब नयाँ घर पाएपछि चार महिनाको अन्तरालमा आफ्नै घरमा बस्न मिलेको छ।’ हुरीले भत्काएका घरमा चारवटा कोठा रहेको र अहिले निर्माण गरिएका घरमा दुईवटा कोठा मात्र रहे पनि पहिलाभन्दा बलियो रहेको मियाँले सुनाए।

नयाँ घर पाएर खुसी बनेका इजहार मियाँ उदाहरण मात्रै हुन्। बारा र पर्सामा नयाँ घर पाएर आठ सय ६९ जना हुरीपीडित परिवार खुसी बनेका छन्।

प्रकाशित मिति: Sep 5, 2019

प्रतिक्रिया दिनुहोस्