Logo
१३ बैशाख २०८१, बिहीबार
(August 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुरुप बन्दै जनकपुर रेल्वे स्टेशन : पान खाएर थुक्दा स्टेशन दुर्गन्धित, सर–समान पनि चोरियो

जनकपुरधाम : प्रदेश २ स्थित जनकपुर-जयनगर रेल सेवा सञ्चालन नहुँदै निर्माण गरिएको स्टेशन भवन चर्किन थालेको छ । स्टेशन भवनको भित्तामा चिरा पर्न थालेको हो ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीनइर्कोन इन्टरनेसनल कम्पनीले निर्माण गरेको भवन प्रयोगमा आउनुपुर्व नै चर्किन थालेको हो ।

भवनको दक्षिणी भागको पर्खालमा कतै चिरा परेको छ भने कतै फुटेको छ। रेल सञ्चालन नै अन्यौलमा परेका बेला भवनमा चिरा पर्न थालेपछि स्थानीय चिन्तित बनेका छन्। ‘भारतीय कम्पनीले गुणस्तरहीन भवन निर्माण गरेर गइहाल्छ, प्रयोग त हामीले गर्ने हो,’ स्थानीय सुमनकान्त झाले भने ।

गुणस्तरहीन भवन निर्माण भइरहँदा पनि कुनै निकायले अनुगमन नगरेको भन्दै स्थानीय आक्रोशित छन्। ‘रेल कहिले चल्ने अत्तोपत्तो छैन। तर भवन फुट्न थालेको छ। गुणस्तरहीन काम भएको प्रष्ट छ तर कसले हेर्ने रु,’ स्थानीय अजय साहले भने ।

पान खाएर थुक्दा स्टेशन दुर्गन्धित बनेको छ भने पर्खाल कुरुप देखिन थालेको छ । भवन गुणस्तरहीन रहेको नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इन्जिनियर विनोदकुमार ओझाले पनि स्वीकार गरे ।

तर कम्पनीलाई पटक–पटक यस विषयमा ध्यानाकर्षण गराउँदा पनि कुनै चासो नलिएको उनको गुनासो छ । ‘यसमा हाम्रो कुनै भूमिका छैन तर पनि हामीले पटक–पटक उनीहरूलाई भनिरहेका छौं, हेर्छौं भन्छन् तर सुनुवाइ छैन,’ उनले भने ।

भारत सरकारले ५ सय ४८ करोड भारतीय रुपैयाँको लागतमा ब्रोडगेज रेललगायत भौतिक पुर्वाधार निर्माण गरिरहेको छ । तत्कालका लागि चल्ने भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ ।

चोरी हुन थाले रेल्वेका समान

जनकपुर-जयनगर रेल्वेको जनकपुरस्थित रेल्वे स्टेशनमा चोरीका घटना पनि सार्वजनिक भएका छन् । रेल्वे सञ्चालन नहुँदै रेल्वे ट्रयाक र स्लिपर जोडने क्लिप चोरी भएको हो ।

रेल्वे स्टेशनमा बनाइएको ट्रसको नटबोल्ट र रेल्वे स्टेशनमा बनाइएको खानेपानीको धारासमेत चोरी भएको साइट इन्जिनियर ओझाले बताए ।

रेल्वे निर्माण नसक्दै निगरानीका बाबजुद रेल्वे सामग्री चोरी भएको हो । चोरीका घटना बढेपछि नेपाल प्रहरीसँगै रेल्वेका कर्मचारीलाई निगरानी गर्न लगाइएको छ ।

प्रकाशित मिति: Aug 29, 2019

प्रतिक्रिया दिनुहोस्