Logo
१५ चैत्र २०८०, बिहीबार
(July 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा भित्रियो इजरेली प्रविधिको मेसिन : घरमा थुप्रिएका फोहोरबाट अब ग्याँस उत्पादन

काठमाडौ : घरभित्र थुप्रिएका कुहिने फोहोरबाट घरभित्रै ग्याँस र अर्गानिक मल उत्पादन गर्ने इजरेली प्रविधि नेपाल भित्रिएको छ । सहरी क्षेत्रमा फोहोर व्यवस्थापन ठूलो चुनौतीको रूपमा देखा परिरहेको बेला नेपालमा पहिलोपटक वातावरणमैत्री मानिने इजरेली होम बायोग्याँस प्रविधि नेपालमा भित्रिएको हो ।

तीन महिनाअघि क्लिन इनर्जी नेपालले ल्याएको सो प्रविधिबाट घरमा जम्मा भएको फोहोरबाट सहज तरिकाले ग्याँस र अर्गानिक मल उत्पादन गर्न सकिने निर्देशक विपीन खेतानले जानकारी दिए । ‘तीन वर्षअघि प्रविधि ल्याएपछि हामीले काठमाडौको वालुवाटार, वानेश्वरका साथै ललितपुर महानगरपालिका दुई विद्यालयमा समेत नमूना रूपमा परीक्षणपछि सफल भइसकेका छौं,’ उनले भने, ‘नेपालमा पहिलोपटक भित्रिएको यो इजरायली प्रविधिबाट सजिलै घरभित्रै नकुहिने फोहारबाट ग्याँस र मल उत्पादन गर्न सकिन्छ ।’

खेतानका अनुसार हालसम्म आठ घरमा प्रविधि जडान गरिसकेकोमा एक वर्ष्भित्र एक हजार घरधुरीमा पु¥याउने लक्ष्य राखिएको छ । “अहिले सहरमा देखिएको फोहोरको समस्या समाधानका लागि सबैभन्दा उपयुक्त प्रविधि आएको छ,” खेतान भन्छन्, “यो प्रविधिलाई पहिलो चरणमा नगरपालिकाभित्र पु¥याउनका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम र प्रर्दशनीहरू आयोजना गर्न लागेका छौं ।”

‘स्लिपिङ ब्याग’जस्तै देखिने सो प्रविधि सुरुमा जडान गर्नका लागि ११ सय लिटर पानी र १ सय लिटर गोबर आवश्यक पर्छ भने प्रत्येक दिन जम्मा भएको फोहोर हालेपछि ग्याँस र अर्गा्निक मल उत्पादन हुन्छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट आउने १० अनुदान पाइने सो प्रविधिमा उपभोक्ताले ५९ हजार मात्र तिरे पुग्छ ।

वायोग्याँस विज्ञ बासु गौतमका अनुसार ६ केजी र दुई घनमिटर क्षमता र ७ सय लिटर ग्याँस भण्डार गर्न सकिने सो प्रविधिअन्तर्गत घरबाट उत्पादन भएको फोहोर ३ देखि ६ केजी फोहोर हालेमा त्यसबाट दैनिक दुई घण्टा चल्ने ग्याँस उत्पादन हुन्छ भने ६ लिटर झोल अर्गा्निक मल उत्पादन हुन्छ । १५ वर्षसम्म टिकाउ हुने सो प्रविधिबाट दुई बर्ष्भित्रै लगानीको प्रतिफल आउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, ३ देखि ६ केजी फोहोरबाट एक महिना पुग्ने अर्थात एक सिलिण्डर ग्याँसका साथै १ सय ५० लिटरभन्दा बढी मल उत्पादन भइ मासिक रूपमा ६ हजार बराबरको आम्दानी हुन्छ ।

फोहोर हालेपछि कुनै गन्ध नआउने तथा सहज तरिकाले आफँै ग्याँस उत्पादन हुन सक्ने सो प्रविधि काठमाडौभित्र मात्र उपयोग गर्न सकेमा ६० प्रतिशतसम्म ग्याँस आयात विष्थापन हुने, फोहोर व्यवस्थापनमा सहज हुने तथा कौसीमा तरकारी खेती गर्नेका लागि अर्गानिक मल समेत सहज पाउन सकिन्छ ।

इजरायलमा विकसित सो प्रविधि विश्वका ९२ राष्ट्रमा पुगेपनि नेपालमा भने हालै भित्रिएको हो । कुहिने फोहोर घरभित्रै ग्याँस उत्पादन गरेर बाँकी नकुहिने फोहोर लगेमा यसलाई रिसाइक्लिङ गर्नसक्ने हुनाले यो प्रविधिलाई सहरी क्षेत्रका लागि उपयुक्र्त प्रविधिको रूपमा हेरिएको छ । जम्मा ७ मिटर स्क्वाएरमा स्थापना गर्न सकिने सो प्रविधिप्रति चासो भने बढेको छ ।

पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि प्रतिघरधुरी ४० हजारसम्म दिने घोषणा गरेको तथा अन्य सहरी क्षेत्रहरूमा समेत फोहोर व्यवस्थापन जटिल समस्याको रूपमा रहेको बेला यो प्रविधिलाई अधिकत्तम उपयोग गर्न सकेमा फोहोरबाट सजिलै मोहोर बनाउन सकिने विज्ञहरू बताउँछन् ।

पहिलो चरणमा घरघरका लागि ल्याएको सो प्रविधि रेष्टुरेण्ट तथा विद्यालयहरूको लागि लक्षित गरी दोस्रो चरणमा ल्याउन लागेको कम्पनीले जनाएको छ । एसियाली विकास बैंकले गरेको अध्ययनले प्रतिव्यक्तिबाट प्रतिदिन ०/७७ केजी फोहोर उत्पादन हुने गरेको छ । त्योमध्ये कुहिने फोहोर करिब ७० प्रतिशत हुने भएकोले सो नयाँ प्रविधिले हाल सबै फोहोर एकै ठाउँमा राखेर व्यवस्थापनमा जटिल भइरहेको बेला ठूलो सहजता ल्याउने विज्ञ गौतम बताउँछन् भन्दै कारोबार दैनिकमा समाचार छ ।

प्रकाशित मिति: Jul 23, 2019

प्रतिक्रिया दिनुहोस्