Logo
८ बैशाख २०८१, शनिबार
(July 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले खसीबोका पठाउन छोडेपछि नेपालमा मासुको मूल्य आकासियो

काठमाडौँ : भारतले खसीबोका पठाउन छोडेपछि नेपालका अधिकांश स्थानमा खसीबोकाको मासुको मूल्य आकाशिएको छ । स्वास्थ्य जाँच गरेर मात्र खसीबोका पठाउन नेपाल सरकारले पत्रचार गरेर दुखः दिएको भन्दै भारतले खसीबोका पठाउन नै छोडेको हो ।

खसीबोकामा नेपाल आत्मनिर्भर भइनसकेको अवस्थामा अचानक भारतले खसीबोका पठाउन बन्द गर्दा नेपालमा खसीबोकाको मासु अपुग भएपछि व्यापारीले मासुको मूल्य व्यापक रुपमा बढाएका छन् ।

भारतबाट खसीबोका आयात बन्द भएपछि ५ महिना अगाडि किलोको १ हजार रुपैयाँ हाराहारी पर्ने खसीको मासुलाई अहिले १३ सय ५० रुपैयाँ तिर्न उपभोक्ता बाध्य भएका छन् ।

राजधानीको अनामनगर ताजा मासु पसलका व्यापारी अर्जुन सापकोटाले भारतबाट हप्ताको दुई दिन खसीबोका आयात हुने गरेकामा पाँच महिनादेखि त्यो बन्द भएकाले आफूहरु महंगीको मारमा परेको सुनाए।

खसीबोकाको मासुको मूल्य उपत्यकाबाहिर अहिले पनि ७ सय ५० रुपैयाँ किलो वा हाराहारी छ । तर, उपत्यकामा धेरैजसो भारतबाट आउने गरेको र त्यो बन्द भएपछि व्यापारीले चलाखी गरेर मूल्य वृद्धि गरेको एक खुद्रा मासु व्यापारीले बताए ।

पशु सेवा विभागकी उपमहानिर्देशक डा. सम्झनाकुमारी काफ्ले पाण्डेले कानुनी प्रक्रिया अनुसार स्वास्थ्य जाँच गरेको प्रमाणपत्रसहित खसीबोका ल्याउन गरेको आग्रहबारे औपचारिकरुपमा कुनै प्रतिक्रिया नजनाएको तर खसीबोका नै पठाउन छाडेको पुष्टि गरिन् ।

उपत्यका र पोखरामा भारतबाट आयात हुने खसीबोकाको धेरैजसो मासु खपत हुने गरेकाले पनि यहाँ त्यो अपुग हुँदा केही मुल्यवृद्धि भएको हुनसक्ने उनको भनाइ छ ।

उनले त्यसबारे आफ्नो विभाग र भारतस्थित क्वारेन्टाइनसँग समन्वयको प्रयासमा रहेको र सम्बन्धित व्यापारीहरुसँग पनि छलफल भइरहेकाले चाँडै यो समस्या हल हुने दाबी पनि गरिन् ।

उनका अनुसार भारतबाहेक अन्य मुलुकहरुबाट भने स्वास्थ्य जाँच गरेर खसीबोका आयात भइरहेको छ । नेपाल चौपाया संघका उपाध्यक्ष सन्तोषबहादुर खत्रीले नेपालमा भारतबाट मात्रै ६० प्रतिशत खसीबोका आयात हुने गरेको र अहिले उक्त आयात ठप्प हुँदा खसीबोकाको मासुको मूल्य वृद्धि भएको बताएका छन् ।

उनले उपाभोक्ता मारमा परेको लामो समय बितिसक्दा पनि नेपाल सरकारले भारत सरकारसँग यसबारे कुनै छलफल नगरेको आरोप लगाएका छन् ।

 

प्रकाशित मिति: Jul 23, 2019

प्रतिक्रिया दिनुहोस्