Logo
|| July 11, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललितपुरमा साइकल लेन बनाईने, यस्तो छ तयारी

ललितपुर : ललितपुर महानगरपालिकाले अहिले भएकै सडकमा साइकलका लेन बनाउन लागेको छ । ललितपुरको कुपण्डोलदेखि लगनखेलसम्म साइकल लेन बनाउन लागिएको हो ।

साइकल लेन निर्माणका लागि महानगरपालिकाले बोलपत्र आह्वान गरिसकेको छ । कुपण्डोलदेखि लगनखेल र पुलचोकदेखि मङ्गलबजारसम्म साइकल लेन बनाउने योजनाअनुरूप बोलपत्र खोलिएको ललितपुर महानगरपालिकाका सूचना अधिकृत रुद्र गौतमले जानकारी दिए ।

ललितपुरलाई साइकल सिटीको रूपमा विकास गर्ने दीर्घकालीन योजनाअनुसार साइकल लेनको विकास गर्न लागिएको उनले जानकारी दिए । उनका अनुसार ललितपुर महानगरपालिकाको सवारी व्यवस्थापन गुरुयोजना (एमटीएमपी)को एक अङ्गका रूपमा साइकललाई राखिएको छ । त्यसकारण साइकल प्रवद्र्धन गर्ने योजना महानगरपालिकाको रहेको छ ।

साउनको अन्तिम हप्तादेखि काम सुरु गर्ने योजनासहित महानगरपालिका अगाडि बढेको छ ।

सूचना अधिकृत गौतमले भने, ‘‘सडक साइकलमैत्री नभए पनि मानिसले साइकल त प्रयोग गरिरहेका छन् । उनीहरूको सुरक्षाका लागि पनि लेन बनाउन जरुरी छ । ’’ साथै नगरमा साइकल प्रयोगकर्ता बढुन् भन्ने उद्देश्य पनि यस योजनाभित्र रहेको उनको तर्क छ ।

साइकल लेन भएपछि थप साइकल प्रयोगकर्ता पनि प्रोत्साहित हुने महानगरपालिकाले जनाएको छ । भएका साइकल प्रयोगकर्ता र भविष्यका प्रयोगकर्ताको सडक सुरक्षाको दायित्वबोध गरी साइकल लेनको अवधारणा अगाडि आएको गौतमले जानकारी दिए ।

उनले भने, ‘‘वातावरणमैत्री सवारीसाधन प्रवद्र्धन गर्न साइकल लेन बनाउने कदमको यो सुरुवात हो । यो निरन्तर आगामी वर्षहरूमा पनि अगाडि चल्नेछ । ’’ महानगरपालिकाले साइकल प्रयोगसम्बन्धी कानुन नै बनाएर साइकल प्रयोगको प्रवद्र्धन र साइकलयात्री सुरक्षाका विषयलाई व्यवस्थित गर्न लागिएको सूचना अधिकारी गौतमले जानकारी दिए ।

ललितपुरको यो साइकल लेनको डिजाइन नेपाल साइकल समाजको प्राविधिक सहयोगमा तयार भएको हो ।

ललितपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर रामरतन शाह अहिलेको स्थितिमा साइकल लेन सञ्चालन गर्ने चुनौतीपूर्ण काम गर्न महानगरपालिका तयार भएको जनाए । सडकको दुवैतिर १.२ मिटर चौडाइको साइकल लेन बनाइनेछ । चार इन्चको मार्किङ गरी ठाउँठाउँमा साइकलको लोगो र ट्राफिक चिह्न राखिनेछन् । यही लेनलाई जोड्दै ठाउँठाउँमा साइकल स्ट्यान्डहरू हुनेछन् ।

अहिले १० ठाउँमा साइकल स्ट्यान्ड बनाउने काम सुरु भइसकेको इन्जिनियर शाहले जानकारी दिए ।

इन्जिनियर शाहका अनुसार सरासर काम भए निर्माण थालेको छ महिनामा साइकल लेन तयार हुनेछ ।

प्रकाशित मिति: २६ असार २०७६, बिहीबार १८:०९

प्रतिक्रिया दिनुहोस्