Logo
१३ बैशाख २०८१, बिहीबार
(June 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवा आयोगमा आवेदन दिन अब मात्र ५ दिन बाँकी

काठमाडौं : लोकसेवा आयोगमा आवेदन दिने समय सकिन थालेसँगै आवेदन दिनेको सङ्ख्यामा वृद्धि भएर सर्भरको चापसमेत बढेको छ । समितिले निर्देशन दिएको दिनसम्म करिब ५१ हजार ४६३ जनाले आवेदन फाराम भरेकामा अहिले फाराम भर्न ५ दिनमात्र बाँकी छँदा १ लाख १८ हजार ३४१ जनाले मात्र आवेदन फाराम भरेका छन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको संख्यामा उतार-चढाव देखिएको थियो । तर समितिले निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आएकोमा अहिले भने फेरि वृद्धि भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले समितिले विज्ञापन रोक्न निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आए पनि पुनःअहिले भने बढेको बताए ।

उनका अनुसार गत सोमबार समितिले निर्देशन दिएको दिन करीब दुई हजार ५०० ले मात्र आवेदन दिएकोमा अहिले भने त्यो सङ्ख्या वृद्धि भएको छ । आवेदन खुला गरेको १५ दिन बितिसक्दा पनि सोचेअनुसारको आवेदन नआएको सुचना अधिकारी सुवेदीले बताए । उनका अनुसार आवेदन दिनेमा महिला २९ हजार २६७, जनजाति १३ हजार ७५१, मधेशी छ हजार ७३२, दलित ८४४, अपांगता ५६ र पिछडिएका ३७ जना रहेका छन् । गत जेठ १५ गतेदेखि असार ३ गतेसम्मका लागि ५१५ स्थानीय तहका लागि आयोगले विभिन्न नौ हजार १६१ पदका लागि आवेदन माग गरेको छ ।

आवेदन फाराम भरेकामध्ये करीब ४० हजार ५०० ले दस्तुर बुझाएका छन् । एकैपटक धेरेको संख्यामा कर्मचारीको माग गरेकाले आयोगले करिब ५ देखि ६ लाख परीक्षार्थीले आवेदन दिनसक्ने आँकलन गरेको थियो । उनले अझै केही दिन आवेदन दिने समय भएकाले संख्या वृद्धि हुनसक्ने बताए । समितिले मंगलबार नै विज्ञापन रोक्न निर्देशन दिएको पत्र आयोगमा पठाए पनि आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली मुलुक बाहिर रहेकाले समय लाग्ने आयोगका सूचना अधिकारी सुवेदीले जानकारी दिए । अध्यक्ष बाहिर रहेको आयोगका पदाधिकारीको पूर्ण बैठक बस्न नसक्ने भएपछि समितिले पठाएको पत्रबारे निर्णय गर्न ढिलाइ हुने उनले बताए ।

प्रकाशित मिति: Jun 14, 2019

प्रतिक्रिया दिनुहोस्