Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कक्षा १ देखि १२ सम्म पुग्दा १० लाख ४४ हजार विद्यार्थी कहाँ हराए ?’

काठमाडौ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले नेपालको शिक्षा प्रणालीमा सुधार आउन निकै कठिन रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद थापाले शिक्षामा भएको समस्याको जिम्मेवारी राजनितिक दलहरु सबैले लिनुपर्ने बताए ।

२०६४ सालमा एक कक्षामा १३ लाख ३४ हजार विद्यार्थी भर्ना भएकोमा २०७६ सालमा आइपुग्दा कक्षा १२ को परीक्षा दिने जम्मा २ लाख ९० हजार भएको भन्दै थापाले प्रश्न गरे, १० लाख ४४ हजार विद्यार्थी कहाँ हराए ?

विद्यालमा भएका विद्यार्थीले कुनै पनि विषयमा ५० प्रतिशतभन्दा बढी सिक्न नसकेको उनले दाबी गरे । देशमा ३६ हजारभन्दा बढी प्रारम्भिक बालविकास केन्द्रहरू भए पनि त्यहाँ पढाउने शिक्षक योग्य नभएको उनले औंल्याए ।

उनले भने, ‘योग्य शिक्षकले पढाउनुपर्ने ठाउँमा ८ कक्षा पास गरेकाले पढाइ रहेको छ ।’ संविधानले यसो गर्न पाइँदैन भन्दा पनि आफूहरूले लेखेको कुरा जे छ त्यसको उल्टो गरिरहको बताए । यो राष्ट्रिय लज्जाको विषय हो भन्दै यसमा सबैले जिम्मा लिनुपर्ने उनले जोड दिए ।

सांसद थापाले भने, ‘भर्खर शिक्षा मन्त्रीले ठूलो अध्ययन गर्नुभयो तर अध्ययन गरेको प्रतिवेदन प्रधानमन्त्रीबाट शिक्षा मन्त्रालयले फिर्ता माग्ने आँट गर्न सकेको छैन ।’

‘भक्तपुरमा १७ जनालाई एउटा शिक्षक हुँदा सिराहामा ८३ जनालाई एउटा शिक्षक छ,’ उनले भने, ‘गुणस्तर भनेको केबल अंग्रेजी भाषा हो भन्ने हाम्रो बुझाइ छ ।’ २९ हजार विद्यालयमध्ये २० हजार विद्यालयको पूर्वाधार विजोग भएको सांसद थापाको जिकिर छ ।

सरकारले अहिले गरिरहेको कामबाट भएको अवस्था नबदलिने उनले दाबी गरे। उनले भने, ‘हामी सार्वजनिक मञ्चमा सबभन्दा सजिलो बनेको सफ्ट तार्गेट निजी विद्यालयलाई दुई चार वटा गाली गर्छौं। दाग अनुहारमा छ, ऐना पुछिरहेका छौं ।’

आफैंले सञ्चालन गरेको विद्यालयप्रति विश्वास नगरेको उनले बताए । उनले भने, ‘यस्तो विद्यालयमा न हामी सांसद, शिक्षक कोही पनि आफ्नो बच्चाबच्ची पढाउन तयार छैनौं ।’ यो परिस्थितिबारे अध्ययन गर्नुपर्ने सांसद थापाले बताए ।

 

प्रकाशित मिति: Jun 13, 2019

प्रतिक्रिया दिनुहोस्