Logo
६ बैशाख २०८१, बिहीबार
(June 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री भन्छन् -‘नेपालले आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिने बताएका छन् । बिबिसी वल्र्डका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको पनि स्पष्ट गरे ।

नेपाल बेल्ट एण्ड रोड इनिसियटिभमा सहभागी भएको बारेको प्रश्नमा उनले भने, ‘‘हामी लगानीका लागि आमन्त्रण गर्छौँ । हामी आवश्यकता तथा प्राथमिकतानुसार ऋण स्वीकार गर्छौँ, जथाभावी स्वीकार गर्दैनौँ । हामी अरुको अनुभवका विषयमा कुरा गर्न चाहँदैनौँ । हाम्रो अनुभवमा हामी यसलाई व्यवस्थापन गर्न सक्छौँ र यसको हिसाबकिताब पनि गरेका छौँ ।’’

विकासका संरचना निर्माण गर्दा वातावरणमा पर्ने प्रभावका विषयको प्रश्नमा प्रधानमन्त्री ओलीले वातावरण सन्तुलनका लागि नेपालले निकै योगदान दिएको बताउँदै यस वर्ष १ करोडभन्दा बढी रुख रोप्ने अभियान चलाइने जानकारी दिए ।

उनले भने, ‘‘हामीले २५ लाख रुख काट्यौँ भने ५० लाख रुख रोप्न सक्छौँ । हामी नदीका लागि पनि काम गरिरहेका छौँ । हामीसँग ४५ प्रतिशत भूभागमा वन छ । नेपालको १७ प्रतिशत भूमि हिउँले ढाकेको छ, १३ प्रतिशत भूमि सबै मौसममा हिउँले ढाकेको हुन्छ । यसले पानी पुनःभण्डार र सञ्चयमा सहयोग गरिरहेको छ । यसले वायु र भूमिलाई चिसो पनि बनाइरहेको छ । हाम्रो वनले निकै योगदान दिइरहेको छ । वातावरणीय प्रश्नका लागि हामीसँग ६२ प्रतिशत भूमि छ ।’’ उनले विकासको कुरा गर्दा वातावरण क्षय र लापरवाहीको प्रश्न सधैँ देखिए पनि नेपाल यसप्रति सचेत भएको उल्लेख गरे ।

कार्यक्रमको आरम्भमा नवीनसिंह खड्काको सगरमाथा चढ्न जाने यात्रुको लामो लाममा आरोहीले घण्टौँ पर्खनुपर्ने अवस्थाको प्रस्तुति थियो । यस वर्ष ११ आरोहीको मृत्यु भएको समाचारमा देखाइएको थियो । प्रस्तुतिमा एक आरोही अलन आर्नेटले सगरमाथामा यस वर्षको घातक अवस्थाका ३ कारण – सीमित उपयुक्त मौसम दिन, बढी अनुमति तथा बजार प्रतिस्पर्धाका कारण कम्पनीले प्रस्ताव गरेको न्यूनमूल्य रहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले यस विषयमा अनावश्यक हल्ला चलेको बताउँदै त्यत्ति धेरै अनुमति नदिइएको स्पष्ट गरे । ‘‘आरोहीले राम्रो मौसमका लागि कुरे । कहिलेकाहीँ उनीहरुले धेरै दिन कुर्नुपर्छ । यसमा पुनःविचार गर्नु आवश्यक छ । हल्ला गरिएझैँ जटिल अवस्था होइन’’, उनले भने ।

आगामी दिनमा आरोहीलाई अनुमति दिँदा र सम्बन्धित अधिकृतका विषयमा पनि ध्यान दिइने बताउँदै उनले यातायात अवरुद्ध भएकैले आरोहीको मृत्यु भएको कुरा साँचो नभएको स्पष्ट गरे । “हामीले केही नियममा संशोधन गरेका छौँ । पथप्रदर्शकको सङ्ख्या, अक्सिजन सिलिण्डरको सङ्ख्या, तयारी आवश्यकता, आरोहणको उचित सङ्ख्या आदिका विषयमा हामीले संशोधन गरेका छौँ’’, प्रधानमन्त्री ओलीले भने ।

प्रकाशित मिति: Jun 12, 2019

प्रतिक्रिया दिनुहोस्