Logo
७ बैशाख २०८१, शुक्रबार
(June 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिम प्रदेशमा आँधीबेहरी : जताततै तहस-नहस, बिजुली अझै अवरुद्ध, सयौं घरमा क्षति (तस्बिरहरु)

सुदूरपश्चिम प्रदेश स्थित कैलाली र कञ्चनपुर जिल्लामा बिहीबार राति आएको आँधीबेहरीका कारण अझै पनि बिजुली अवरुद्ध रहेका छन् भने नेट केबुल आदि पनि अवरुद्ध रहेको छ । आँधीबेहरीका कारण प्रहरी चौकीसहित सयौं घरमा क्षति भएको छ । घट्नामा दुईजनाको मृत्यु भएको छ भने दुवै जिल्लामा गरी झन्डै सयजना घाइते भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार ज्यान गुमाउनेमा कैलालीको टीकापुर–२ का लाहनु डगौरा र गोेदावरी नगरपालिका–८ का वीरबहादुर चौधरी रहेका छन् । कञ्चनपुरको तुलनामा कैलालीमा बढी क्षति भएको प्रहरीले जनाएको छ । कैलालीमा ७६ र कञ्चनपुरमा २३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञानबहादुर विष्टका अनुसार कञ्चनपुरमा घाइते भएका २३ जनामध्ये १५ जना उपचारपछि घर फर्किएका छन् भने अन्य आठ जनालाई उपचारका लागि अन्यत्र रिफर गरिएको छ । केही गम्भीर घाइते भएकाहरुलाई भारत र नेपालगन्ज पठाइएको छ ।

कञ्चनपुर र कैलालीमा विद्युत् सेवा अवरुद्ध छ । जानकारहरुका अनुसार गएराति आएको आँधीबेहरी पछिल्लो एक दशकयताकै ठूलो हो । हावाहुरीका कारण विभिन्न स्थानहरुमा घरका छाना उडाएको, बिजुलीको पोल ढली विद्युत् अवरोध भएको डीएसपी विष्टले बताए ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार कैलाली घोडाघोडी–१ स्थित इलाका प्रहरी कार्यालय सुख्खडको जवान ब्यारेकको र भान्सा घरको छाना उडाउनुको साथै भान्साको माथिल्लो पर्खाल भत्किएको छ । पर्खाल भत्किँदा कार्यालय सहयोगी नन्द बहादुर बुढाको खुट्टा र टाउकोमा चोट लागेको छ । यस्तै प्रहरी चौकी पहल्वानपुरको दुई कोठाको भवनको टिनको छाना उडाएको छ ।

गोदावरी नगरपालिकाका वीरबहादुर चौधरी र टीकापुर नगरपालिका–२ का लहानु डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ । हुण्डरीमा परी अहिलेसम्म ७६ जना घाइते छन् । त्यसमध्ये ४ जनाको अवस्था निकै गम्भीर छ । घाइतेहरूको सेती अञ्चल, पद्मा र निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

हावाहुरीले विजुलीको पोल ढाल्दा हावाहुरी प्रभावित क्षेत्र अन्धकारप्रायः छ । क्षतिको विवरण संकलन गर्न कठिनाइ भएको र शुक्रबार बिहानैबाट प्रहरी उद्धारमा जुटेको बताइएको छ ।

@तस्बिरहरूः सामाजिक सञ्जाल

प्रकाशित मिति: Jun 7, 2019

प्रतिक्रिया दिनुहोस्