Logo
७ बैशाख २०८१, शुक्रबार
(May 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं ५ मा बढदो लागुऔषध कारोबार, संलग्न ५४ जना पक्राउ

बाँके :  प्रदेश नं ५ मा दुई सातामै लागुऔषध ओसारपसारमा संलग्न ५४ पक्राउ परेका छन् । पक्राउ परेकामध्ये ४ महिला रहेको बिहीबार बाँकेको कोहलपुरमा सार्वजनिक गरेको प्रदेश नं ५ प्रहरी कार्यालय दाङले प्रकाशित गरेको लागुऔषध बुलेटिनमा जनाइएको छ ।

तथ्याङ्कअनुसार जेठ १ देखि १५ गतेसम्म ठूलो परिमाणमा लागुऔषधसमेत बरामद भएको छ । ४ हजार ९२७ ग्राम गाँजा, ९ हजार ८५६ दशमलव ७ ग्राम चरेश र ३७ दशमलव ६५० ग्राम हेरोइन बरामद भएको उल्लेख छ ।

त्यस्तै डाइजेपाम २८५ एम्पुल, फेनार्गन ६८५ एम्पुल, नुफिन ६६० एम्पुल, मेथिन ३०० एम्पुल, नाइट्राभेट ५०० ट्याब्लेट, सेरिज्याक ४०० ट्याब्लेट, नाइट्रोसन ४४८ ट्याब्लेट, ट्राइकेर २० ट्याब्लेट, स्पास्मो १० ट्याब्लेट बरामद गरेको छ ।

लागुऔषध बुलेटिनको विमोचनका क्रममा प्रदेश नं ५ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) पिताम्बर अधिकारीले खुला सीमाका कारण बाँकेमा लागुऔषधको सेवन र कारोबार बढ्दो अवस्थामा रहेको बताए । उनले भने, “खुला सिमानाका कारण लागुऔषधको प्रयोग तथा ओसारपसारको अवस्था भयावह छ । सबैको सहकार्य र सहयोगले मात्र यसलाई नियन्त्रण गर्न सम्भव हन्छ”, उनले बुलेटिनमा आएको तथ्याङ्कले यस प्रदेशको अवस्था निकै डरलाग्दो भएको बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले लागुऔषधको दलदलमा चिकित्सकदेखि समाजका सबै वर्ग फसेकाले सचेतनाको खाँचो औँल्याए । बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले लागुऔषधविरुद्ध प्रहरीको सक्रियता बढाएको बताउँदै सबैको सहकार्यले मात्र लागुऔषधविरुद्धको अभियान सफल हुने कुरामा जोड दिए ।

प्रकाशित मिति: May 31, 2019

प्रतिक्रिया दिनुहोस्