Logo
८ बैशाख २०८१, शनिबार
(May 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अराजकता र प्रेस स्वतन्त्रता फरक-फरक कुरा भएको भन्दै मिडिया विधेयकको समर्थनमा प्रचण्ड

काठमाडौँ : सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चौतर्फी आलोचना खेपिरहेको मिडिया काउन्सिल विधेयकको समर्थनमा उभिएका छन् । १७ औँ कृष्ण सेन स्मृति दिवस समारोहमा प्रचण्डले प्रेस जगतमा अराजकता रहेको र त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको आशय व्यक्त गरे ।

प्रत्यक्ष समर्थन नगरे पनि अराजकता र प्रेस स्वतन्त्रता फरक फरक कुरा भएको भन्दै उनले सरकारले ल्याएको विधेयकको बचाउ गरेका छन् । उक्त कार्यक्रममा उपस्थित सञ्चार मन्त्री तथा विधेयकका कठोर पक्षधर गोकुल बाँस्कोटाले जसरी खुलेर विधेयकको पक्ष नलिए पनि प्रचण्डले यस विषयमा पहिलोपल्ट पक्षमा मुख खोलेका हुन् ।

अर्काे प्रसंगमा प्रचण्डले पार्टीभित्र सबै नेताहरुलाई व्यवस्थापन गर्न मुस्किल भइरहेको बताए । पार्टीभित्र गुटगत व्यवहार मौलाएकोले व्यवस्थापनमा कठिनाई उत्पन्न भइरहेको प्रचण्डले खुलाए । प्रचण्डले भने, ‘राम्रो गर्ने कुरा देखाउँदै गर्दा गुट्गत स्वार्थमा काम गर्नेहरु छन् । साथीहरुलाई म्यानेज गर्न बढी गाह्रो छ ।’

उनले आफूहरु अहिले इतिहासकै महत्त्वपूर्ण मोडमा रहेको बताए । ‘अहिले सघीय लोकतान्त्रिक पद्धतिलाई गुणत्मक रुपमा संस्थागत गर्न जरुरी छ, समाजवाद निमार्णको आधार तयारीको क्रममा छौँ, प्रचण्डले भने, ‘जनवादलाई ख्याल गर्नु पर्छ, विज्ञान चाहिन्छ, प्रक्रियागतरुपमा अघि बढिहरनुपर्छ ।’

प्रचण्डले पार्टी एकताले दूरगामी र असाधारण महत्त्व राखेको उल्लेख गरे । ‘बिना विचार पार्टी एकता भएको छैन। विचारहिन पार्टी एकता भएको हो कि भन्ने कसैलाई लागेको छ भने त्यो गलत हो। हामी पछाडि फर्कन मिल्दैन। कसैलाई सहज लागेको छैन भने उ पछाडि जान चाहन्छ’, प्रचण्डले भने ।

सो कार्यक्रममा प्रधानमन्त्री समेट रहेका नेकपा अर्का अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित हुने भनिए पनि अन्तिम समयमा ओलीको प्रतिनिधित्व सञ्चार मन्त्री बाँस्कोटाले गरेका हुन् ।

प्रकाशित मिति: May 27, 2019

प्रतिक्रिया दिनुहोस्