Logo
७ बैशाख २०८१, शुक्रबार
(May 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डन दिनेश अधिकारी (चरी) सँग नाम जोडिएकी मोडेल खुश्बु ओलीलाई ३ महिना कैद

काठमाडौँ : मोडेल खुश्बु ओलीलाई काठमाडौँ जिल्ला अदालतले बैंकिङ कसुरमा तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवाना गरेको छ । डन दिनेश अधिकारी (चरी)को प्रहरी इन्काउन्टरमा मृत्यु हुँदा ओली प्रेमिकाको रुपमा देखा परेकी थिइन्।

उनी समाज सेवामा समेत सक्रिय हुँदै आएकी छिन् । ३६ लाखको चेक बाउन्स मुद्दामा दोषी ठहर गर्दै न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले ओलीलाई बिगो बराबरको रकम तिर्न आदेश दिँदै तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवाना गरेको हो ।

सप्तरीका राजविराज–८ का गोपाल कटुवालसँग लिएको ३६ लाख रुपैयाँ फिर्ता गर्ने क्रममा ओलीले काटेको कुमारी बैंकको चेकमा पैसा नभएपछि कटुवालले गएको साउनमा चेक बाउन्स भएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

मुद्दामा अन्तिम सुनुवाइ गर्दै मंगलबार अदालतले विनिमय अधिकारपत्र ऐन २०३४ को अनुसार ओलीलाई दोषी ठहर गर्दै रकम तिर्न र तीन महिना कैद गरेको हो । पछिल्लो समय चेक बाउन्सका मुद्दा बढिरहेका छ ।

२०६३ मा मिस टिनको ताज जितेकीले ओलीले म्युजिक भिडियोमा अभिनय गर्दै आएकी छिन् ।

के भन्छिन् ओली ?

तर ओलीले अदालतले यसबारे आफूलाई सूचना नदिएको दाबी गरेकी छन्। ‘मैले यसबारे कोर्टबाट एउटा लेटर पनि पाएको छैन। म्यादका लागि पनि बोलाएको जानकारी छैन,’ उनले भनिन्, ‘कुमारी बैंकसँग पहिले नै कटआउट भएर मैले पत्र पनि पाइसकेको छु।’ भोलि आफै अदालत गएर बाँकी प्रक्रिया चाल्ने उनको भनाइ छ।

यसबारे आफूले काठमाडौं प्रहरीकहाँ समेत उजुरी गरेको ओली बताउँछिन्। आफ्नै नामको भन्दा पनि आफ्नो परिवारसँग जोडिएको र आफूलाई फसाउन कटुवालले यस्तो गरेको उनको भनाइ छ। फैसला अनुसार ओलीलाई ३ महिना कैद र ३ हजार जरिवाना सुनाइएको छ भने ३६ लाख चेक काटेदेखिको साँवा र ब्याजसमेत तिर्नुपर्ने जिल्ला अदालतको ठहर छ।

को हुन् खुश्बु ?
सन् २००० मा काठमाडौं जेसिसले गरेको प्रतियोगितामा ‘लिटिल लेडी’को च्याम्पियन भएकी थिइन् खुस्बु। त्यसपछि सन् २००६ मा उनले मिस टिनको ताज पहिरिन्। त्यसपछि भने उनले आफ्नो करिअरमा पछाडि फर्केर हेर्नुपरेन। उनी कहिले विभिन्न व्यक्तिसँगको प्रेम सम्बन्धका कारण चर्चा रहिन् भने पछिल्लो समय समाजसेवाका रुपमा चर्चामा रहँदै आएकी छन्।

उनले म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन्। केही वर्षअघि काठमाडौंको फर्पिङमा सपना आमाघर खोलेर उनी समाजसेवामा प्रवेश गरेकी थिइन्। उनले विशालनगरमा पनि ‘स्ट्रिट चिल्ड्रेन रिह्याबिलिटेसन होम’ स्थापना गरेकी छन्। जहाँ ३५ भन्दा बढी सडक बालबालिकाले लालनपोषण पाउँदै आएका छन्।

नेपालका सडक बालबालिकाले रूसको मस्कोमा भएको स्ट्रिट चाइल्ड विश्वकपमा समेत उनकै पहलमा भाग लिने अवसर पाएका थिए। खुस्बुले ‘रिह्याबिलिटेसन अफ स्ट्रिट चिल्ड्रेन बिफोर एन्ड आफ्टर’ नामक डकुमेन्ट्री पनि बनाएकी छन्।

त्यस्तै, झापाको सुरुंगाका गरिब परिवारका लागि २० वटा रिक्सा किनिदिएकी ओलीले निःशुल्क सेवा दिने सर्तमा सुरुंगाकै रेडक्रस उपशाखालाई एम्बुलेन्स समेत दिएकी थिइन्। आफू पढेको झापको कन्काई माविमा हजुरबुबाको नाममा गरिब विद्यार्थीका लागि खुस्बुले एक लाखको कोष स्थापना गरेकी छन्।

प्रकाशित मिति: May 21, 2019

प्रतिक्रिया दिनुहोस्